मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २१ बुधबार
  • Wednesday, 06 August, 2025
२o८२ श्रावण २१ बुधबार o७:४३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

खेलाडी र कर्मचारीको तलब रोक्यो बेंग्लोर एफसीले

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २१ बुधबार o७:४३:oo
  •  भारतीय फुटबल महासंघ र फुटबल स्पोर्टस् डेभलपमेन्ट लिमिटेडबिचको सम्झौता नवीकरण नहुँदा आइएसएल स्थगित छ । आर्थिक भार कम गर्न बेंग्लोरले तत्काल पारिश्रमिक नदिने निर्णय लियो 

इन्डियन सुपर लिग (आइएसएल) क्लब बेंग्लोर एफसीले एक्कासी आबद्ध सबै खेलाडी र कर्मचारीको तलब रोक्ने निर्णय गरेको छ । बेंग्लोरले इन्डियन सुपर लिगको भविष्य स्पष्ट नहुँदा सबैका तलब रोक्न बाध्य भएको मंगलबार विज्ञप्तिमा जनाएको छ । बेंग्लोरको यो निर्णयसँगै दक्षिण एसियाकै चर्चित फ्रेन्चाइज फुटबल लिगमा कमजोर व्यवस्थापन भएको खुलासा भएकोे भारतीय एजेन्सीले जनाएको छ ।

बेंग्लोरले सन् २०१८–१९ को सत्रमा उपाधि जितेको थियो । भारतका सर्वाधिक गोलकर्ता सुनील क्षेत्री बेंग्लोरमै आबद्ध छन् । भारतीय आइकोनिक फुटबलर क्षेत्रीले लिग सुचारु नहुँदा यसको प्रभाव खेलाडी र कर्मचारीका परिवारमा परेको बताए । ‘खेलाडी र क्लबसँग जोडिएको अन्य कर्मचारीले क्लबबाटै पारिश्रमिक पाउँछन् । यो नै रोकियो भने उनीहरूको परिवारमा आर्थिक संकट आउने सम्भवना छ,’ क्षेत्रीले भनेका छन्, ‘यसकारण विवाद सक्दो छिटो समाधान हुन जरुरी छ ।’ अर्कोतिर बेंग्लोरले भने सम्बन्धित निकाय गम्भीर नहुँदा सहभागी सबै क्लब आर्थिक रूपमा कमजोर बन्दै गएको दाबी गरेको छ । ‘अहिले लिग हुने कुनै छाँटकाँट छैन । यस अवधिमा हामी सबै क्लबले खेलाडीलाई पारिश्रमिक दिनुपर्ने अवस्था छ । क्लबको आर्थिक पक्ष पनि कमजोर भइरहेको छ,’ बेंग्लोरले भनेको छ ।

आइएसएलको गभर्निङ संस्थाले आगामी दिनमा लिग सञ्चालनबारे प्रस्ट नगर्दा नै बेंग्लोरले कठोर निर्णय गर्न बाध्य भएको जनाएको छ । बेंग्लोरले अहिले लिगको भविष्यबारे अस्पष्टता र तलब रोक्नेबाहेक अन्य विकल्प नभएको बताएको छ ।

आइएसएल लिग स्थगित 
अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ) र रिलायन्सको नेतृत्वमा रहेको फुटबल स्पोर्टस् डेभलपमेन्ट लिमिटेड (एफएसडिएल) बिचको व्यावसायिक सम्झौता नवीकरण भएको छैन । दुई पक्षबिचको सम्झौता नहुँदासम्म महासंघले नै आइएसएल रोकेको हो । लिगमा आबद्ध आठवटा फ्रेन्चाइज क्लबले यसै साता एआइएफएफसँग भविष्यबारे छलफल गर्ने दबाब दिएका छन् । बेंग्लोरले खेलाडी, कर्मचारी तथा अन्य स्टाफलाई नझुक्याउन नै तलब तत्कालका लागि रोकेको जानकारी दिएको छ । ‘हाम्रो पहिलो प्राथमिकता भनेको सबैलाई वर्तमान अवस्था जानकारी दिने हो । सबैका परिवारको भविष्य हाम्रो प्राथमिकता हो । उनीहरूसँग निरन्तर सम्पर्कमा छौंँ,’ बेंग्लोरको विज्ञप्तिमा उल्लेख छ, ‘यो संकट चाँडै समाधान गर्न हामी एआइएफएफ र एफएसडिएललाई आग्रह गर्छौँ ।’