मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २१ बुधबार
  • Wednesday, 06 August, 2025
प्राडा एमएल शर्मा
२o८२ श्रावण २१ बुधबार १o:४o:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

खाटा बस्न नसकेको हिरोसिमा र नागासाकीको घाउ

Read Time : > 5 मिनेट
प्राडा एमएल शर्मा
नयाँ पत्रिका
२o८२ श्रावण २१ बुधबार १o:४o:oo
  • एउटा ठुलो मानव हिस्साले भोक र गरिबीबाट मुक्त हुन संघर्ष गरिरहेको समयमा हतियारको होडबाजीमा ठुलो धनराशि खर्च हुनु चिन्ताको विषय हो

मानव सभ्यताको इतिहासमा यदकदा अति नै दु:खदायी घटना घट्ने गर्छन् । दिन, महिना र वर्ष हुँदै समय दौडिरहेको हुन्छ । समयसँगै दूरीहरू पार हुँदै गर्छन् । तर, तितामिठा सम्झना आई नै रहन्छन् । प्रत्येक वर्ष अगस्टको पहिलो सप्ताह सुरु हुनै लाग्दा अति नै दर्दनाक घटनाको सम्झना आउँछ र यो सम्झनाले मानव मस्तिष्कमा आजपर्यन्त ठुलो चोट दिइरहेको छ । जापानको हिरोसिमा र नागासाकी सहरमा परमाणु बमले ध्वंस मच्चाएको पनि ८० वर्ष पुग्दै छ । जापानले भोग्नुपरेको त्यो कहरको प्रभाव आजसम्म राम्ररी स्थिर बन्न सकेको छैन । त्यो कहालीलाग्दो घटनाको घाउ सदा बल्झिरहेको महसुस हुन्छ । ज्ञान–विज्ञानका रचनात्मक उत्पादनलाई विध्वंसको औजार बनाइएका घटना इतिहासमा अनेकौँ छन् । तिनमा सबैभन्दा खतरनाक र दीर्घकालीन प्रभाव पार्ने घटना जापानका दुई सहरमाथि भएको परमाणु बमको प्रहार नै हो । मानव सभ्यतालाई नै चुनौती दिने गरी मानवले मावनतामाथि क्रूरतम् हमला गरेको घटनाका रूपमा यसलाई बुझ्न सकिन्छ ।

विश्वव्यापी रूपमा विज्ञान र प्रविधिको पहुँच बढी नै रहेको छ । भूमण्डलका सबै जातजाति, राष्ट्र र समुदाय एक–अर्कामा निर्भर एवं एक–अर्काबाट प्रभावित छन् । तैपनि, अन्याय र शोषण यथावत् छ । बलिया र कमजोरबिच सम्पन्न र विपन्नबिच राष्ट्र–राष्ट्रबिच प्रभुत्वको द्वन्द्व जारी छ । यसैगरी, राष्ट्रिय अहंकार तथा अन्तर्राष्ट्रिय प्रभुत्व कायम गर्ने र प्राकृतिक स्रोत–साधन उपभोगका लागि द्वन्द्वको प्रवृत्ति बढ्दो छ । यी द्वन्द्वबाट निर्दोष जनता नै मारमा पर्छन् । सत्तामा बस्नेका लागि आमजिन्दगीको वास्ता कुन तहसम्मको हुन सक्ने रहेछ र कसरी शासकहरू आफ्नो राग–द्वेष साट्न अगाडि बढ्न सक्दा रहेछन् भन्ने ज्वलन्त उदाहरणमध्येको एउटा प्रतिनिधि अकल्पनीय घटना हिरोसिमा र नागासाकीमा मच्चाइएको ताण्डव हो भन्न सकिन्छ । विज्ञान र प्रविधिको क्षेत्रमा बीसौँ शताब्दीमा चमत्कारपूर्ण आविष्कार र नवप्रवर्तन भएका हुन् । तर, भयावह हुने गरी विज्ञान र प्रविधिको चरम दुरुपयोग गरिएको उदाहरण हो, जापानमा गराइएको परमाणु बमकोे विस्फोटन ।

दोस्रो विश्वयुद्धको सुरुवाती वर्षमा संयुक्त राज्य अमेरिका आन्तरिक सशक्तीकरणमा लागेको हुनाले युद्धमा प्रत्यक्ष सामेल थिएन । दोस्रो विश्वयुद्ध अगाडि बढ्दै जाँदा युरोपमा हिटलर नेतृत्वको नाजी जर्मनी केन्द्रबिन्दुमा रहन पुग्यो । जर्मनीद्वारा अस्ट्रिया, तत्कालीन चेकोस्लोभाकिया, बेल्जियम, डेनमार्क, नर्वेलगायत देशमा आक्रमण तथा कब्जाका प्रयास भए । त्यसैगरी, एसिया महादेशमा ‘एसिया एसियालीहरूको’ भन्ने भावना जागृत भइरहेको अवस्था थियो । त्यस समयमा जापान एसियाको महाशक्ति थियो । आफ्नो साम्राज्य र सैन्यशक्ति बढाउँदै लगेको प्रतीत भइरहेको अवस्थामा दोस्रो विश्वयुद्धमा प्रत्यक्ष संलग्न नदेखिएको अमेरिकाको हवाई राज्यको पर्लहार्बरमा एक्कासि र कल्पनै नगरिएको जापानी आक्रमणपछि दोस्रो विश्वयुद्धमा नयाँ र खतरनाक मोड आयो । अमेरिकाको शक्तिशाली जल तथा वायुसेनालाई ध्वस्त पारेर एसिया प्रशान्त क्षेत्रमा आफ्नो प्रभुत्व विस्तार गर्ने हेतुले जापानले अमेरिकाको हवाई राज्यको पर्लहार्बरमा सेनाको सैन्य अखडामा अप्रत्याशित र निर्मम आक्रमण गर्‍यो । पर्लहार्बर हवाई राज्यको होनुलुलु सहरको नजिकैको ठाउँ हो । यहाँ अमेरिकी सेनाका ठुल्ठुला जंगी युद्धपोत राखिएका थिए । लाखौँ ग्यालन तेल भरिएका जंगी जहाज पनि यहीँ थिए । सो आक्रमणमा ती तेलबाहक जंगी जहाज डुबाइएका थिए, जसबाट आजसम्म पनि तेल रसाइरहेको पनि देख्न सकिन्छ । 

पर्लहार्बर आक्रमणको समयमा उल्लेख्य संख्यामा सैनिक होनुलुलु सहरका रात्रिकालीन मनोरञ्जन केन्द्रमा गएको मौका पारी अपेक्षाकृत कम सैनिक रहेको र कल्पनै नगरिएको अवस्था परेको हुँदा पर्लहार्बरमा ठुलो संख्यामा पानीजहाज, हवाईजहाज र युद्धपोतको क्षति गराइयो । आक्रमणबाट लगभग दुई हजार चार सयको मृत्यु र एक हजारजना घाइते भएका थिए । लगत्तै एकदिनपछि तत्कालीन अमेरिकी राष्ट्रपति फ्रेंकलिन रुजबेल्टले जापानविरुद्ध युद्धको घोषणा गरे । विश्लेषक र इतिहासकारले पर्लहार्बर घटना नै परमाणु बमको ध्वंसात्मक प्रयोगको कारक र सुरुवात रहेको बताएका छन् । पर्लहार्बर आक्रमणपछि नै राष्ट्रपति रुजबेल्टको निर्देशनमा अमेरिकाले बम बनाउने कामका लागि अति गोप्य म्यानहटन परियोजना सुरु गर्‍यो । वास्तवमा म्यानहटन परियोजना दोस्रो विश्वयुद्धमा प्रयोग गर्न चाहिने परमाणु बमको विकास र निर्माणको सांकेतिक नाम थियो । त्यस महत्वाकांक्षी परियोजनाका लागि तमाम वैज्ञानिक र सैन्य अधिकृतलाई परमाणु बम बनाउने काममा खटाइएको थियो । यो यति गोप्य परियोजना थियो कि राष्ट्रपति रुजबेल्टले आफ्ना उपराष्ट्रपति ह्यारी ट्रुम्यानसम्मलाई पनि थाहा दिएका थिएनन् । यस परियोजनामा युरेनियम– २३५ र प्लुटोनियम–२३९ प्रयोग गरिएको थियो । बम बनाउन सफलता प्राप्त गरिसकेपछि तिनको सफल परीक्षण पनि न्युमेक्सिको राज्यको दूरदराजको मरुभूमिजस्तो सुनसान ठाउँमा गरिएको थियो । युरोपतिर १९४५ को अप्रिलतिरै युद्घ मत्थर भइसकेको थियो भने एसिया प्रशान्त क्षेत्रमा जापान र अमेरिकाबिच युद्ध चर्किरहेको थियो । १२ अप्रिल १९४५ मा अमेरिकी राष्ट्रपति रुजबेल्टको निधनपछि राष्ट्रपति बनेका ट्रुम्यानले जापानलाई आत्मसमर्पण वा कुनै ठुलो क्षति व्यहोर्न तयार रहन धम्कीपूर्ण चेतावनी दिए, जसलाई पोस्टड्याम घोषणाका नामले जानिन्छ । २६ जुलाई १९४५ को यस घोषणामा जापानलाई विनासर्त आत्मसमर्पण गर्न चेतावनी दिइएको थियो । घोषणामा बेलायत र चीनले समेत समर्थन जनाए । जापानले आत्मसमर्पण गरेन भने ध्वंसात्मक हतियार जापानमाथि प्रयोग गरिने चेतावनी दिइएको कुरा विश्वयुद्धको इतिहासमा उल्लेख पाइन्छ ।

यसको अर्थ अमेरिकाले बनाएको ध्वंसात्मक हतियार परमाणु बम रहेछ भन्ने बुझ्न सकिन्छ । युद्धविराम नभएपछि विश्व इतिहासमा भयानक कालो दिन र समय आयो । त्यो हो ६ अगस्ट १९४५ बिहानको समय जापानको भयानक दिनको रूपमा आयो । त्यति वेला अमेरिकी बमवर्षक विमानबाट बम खसालियो र पूरै सहर आगाको लपेटामा आएसरी ताप र विकिरणमा जकडियो । जसले लगभग ९० प्रतिशत हिरोसिमा सहरलाई ढाक्यो र तत्काल असी हजारभन्दा बढी मानिसले ज्यान गुमाए । जापानलगायत विश्वभर कोलाहल मच्चियो । स्वयं जापानीहरू अप्रत्याशित र कल्पनाबाहिरको घटना मानिरहेका थिए । यसैबिच, तीन दिनपछि ९ अगस्टका दिन नागासाकीमा अर्को बम खसालियो । बम दुई पहाडबिच खसेकाले यस सहरमा तुलनात्मक रूपमा कम क्षति भयो । नागासाकीको त्यो विपत्मा चालीस हजार मानिसको तत्काल मृत्यु भएको थियो । मानव इतिहासकै सबैभन्दा भयंकर त्रासदीपूर्ण नयाँ तथा क्रूर घटनाले जापानी सम्राट् हिरोहितोले १५ अगस्तका दिन रेडियो सन्देशबाट आत्मसमर्पण गरेको घोषणा गर्नुपर्‍यो । पछिल्ला प्रभाव तापको राप र रेडियो विकिरणका कारणले हिरोसिमामा एक लाख ५० हजार र नागासाकीमा ७५ हजार मानिसको मृत्यु भएको थियो ।

रुस र युक्रेन, प्यालेस्टाइन इजरायल, इरान, लेबनान, सिरियालगायत देशमा अहिले पनि ध्वंसात्मक हतियारको बिगबिगी छँदै छ । कतै परमाणु हतियारको प्रयोग हुने पो हो कि भन्ने त्रास सर्वत्र छ । केही समयपहिले भारत र पाकिस्तानबिच पनि द्वन्द्व भएको थियो । भोक र गरिबीबाट मुक्त हुन एउटा ठुलो हिस्साले संघर्ष गरिरहेको छ भने अर्कातिर हतियारको होडबाजीमा ठुलो धनराशी खर्च भइराखेको छ । परमाणु हतियार शक्ति–सम्पन्न राष्ट्रले नै भण्डारण गरेको हुनाले र यस्तै हतियारको विकास र तिनका परीक्षणले पनि मानव सभ्यतामाथि विभिन्न कोणबाट चुनौती थपिँदै गएका छन् । संयुक्त राष्ट्र संघ शक्ति राष्ट्रका सन्दर्भमा कठोर बन्न नसकेको हो कि जस्तो पनि लाग्छ । आणविक शक्ति सञ्चयका कारण नागरिकको ख्याल नगरी सनकका भरमा निर्णय गर्दा कसरी ठुलो क्षति पुग्दो रहेछ भन्ने उदाहरण पर्लहार्बर, हिरोसिमा र नागासाकीजस्ता प्रतिनिधि घटनाले स्पष्ट पार्छन् । हिरोसिमा र नागासाकीको त्यो प्रलयकारी र मानवताविरोधी घटना र त्यसबाट मानव जातिले चुकाउनुपरेको पीडा कति गहिरो बनेर मानव मनमस्तिष्कमा रहेको छ भन्ने अनुमान मात्र लगाउन पनि कठिन छ ।

जापानी सम्राट् हिरोहितो त्यस कहालीलाग्दो घटनापछिका दिनमा जीवनभर दु:खी रहनुपर्‍यो र विश्वयुद्धताकाका जापानी प्रधानमन्त्री तोजो हिडेकीलाई आत्महत्याको प्रयास गर्नुपर्ने तहसम्म पुर्‍यायो र जापानको हारको कारक ठान्दै पछि उनलाई मृत्युदण्डको सजाय दिइयो । जापानमा घटेको त्यस विनाशकारी घटनाले जापानसँगै युरोपको पनि हार भयो । बीसौँ शताब्दीको मध्यतिर अब्बल रहेको युरोपको विज्ञान तथा प्रविधि अमेरिकातिर सर्न पुग्यो र आर्थिक रूपमा पनि अमेरिका एक महाशक्ति राष्ट्र बन्न पुग्यो । साथसाथै विश्वमा रहेका विभिन्न क्षेत्रका बौद्घिक केन्द्र (थिंक ट्यांक) पनि अमेरिका सरेको मान्न सकिन्छ । दोस्रो विश्वयुद्धपछि मध्यम विश्वशक्ति ठानिएको अमेरिका विश्वको नेतृत्व गर्ने शक्तिशाली देशका रूपमा उभियो । तीव्र रूपमा शक्ति र प्रभावमा भएको बढोत्तरीका कारण अमेरिकाका थप जिम्मेवारी विश्वमाझ बढेर गए, जसलाई अमेरीकी युग भनेर पनि बुझ्न थालियो । यससँगै बेलायतको विश्वमा रहेको हैकम बिस्तारै कम हुँदै गयो । अक्टोबर १९४५ मा संयुक्त राष्ट्र संघको गठनमा पनि संयुक्त राज्य अमेरिकाको नेतृत्वदायी भूमिका रह्यो । द्वितीय विश्वयुद्धपछि विश्व खासगरी दुई धु्रवीय बन्दै गर्दा लामो समयसम्म शीतयुद्धको चपेटामा विश्व परे पनि हिरोसिमा र नागासाकीजस्ता अप्रिय घटना दोहोरिन पाएनन् ।

परमाणु बम विस्फोटको घटना व्यहोरिसकेको विश्वले अर्को त्यस्तो घटना व्यहोर्न नपरोस् भन्नेमा संयुक्त राष्ट्र संघलगायत सम्बन्धित सबै पक्ष थप जिम्मेवार बन्न आवश्यक देखिन्छ । वर्तमान विश्वमा ऊर्जाको बढ्दो माग पूरा गर्न परमाणु शक्तिको शान्तिपूर्ण उपयोग अपरिहार्य बन्दै गएको छ । नेपालका छिमेकी भारत, चीन र पाकिस्तान पनि परमाणु शक्ति सम्पन्न राष्ट्र भएका हुनाले त्रिकोणात्मक द्वन्द्वमा जानी–नजानी हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्न नेपालले अँगाल्नुपर्ने नीति तथा कार्यक्रमबारे पनि सचेतना अपनाउनु आवश्यक छ । विश्वका विभिन्न भागमा भइरहेको द्वन्द्वले गर्दा विश्वले भयावह खालको आर्थिक मन्दी खेपिरहेको छ । यसैबिच कहीँकतै परमाणु हतियार प्रयोग हुने पो हो कि भनेर सन्त्रास उत्पन्न भएको अवस्था छ । हिरोसिमा र नागासाकीमा गरिएका परमाणु बम हमला दोस्रो विश्वयुद्ध अन्त्यको कारण बने पनि तिनले अत्यधिक मानवीय पीडा र दीर्घकलीन असर उत्पन्न गरे । केवल एकीकृत विश्वनीतिले नै संसारलाई विनाशबाट बचाउन सक्छ । अनि मात्र संसारले आफूले चाहेको शान्ति प्राप्त गर्न सक्छ । यस विषयमा संयुक्त राष्ट्र संघ, सम्पूर्ण देश र आमजनता पनि सचेत हुन आवश्यक छ । 

(प्राडा शर्मा त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत छन्)