
झन्डै दुई वर्षअघि इजरायलमा हमास समूहको आक्रमण हुँदा बेपत्ता बनेका कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ का विपिन जोशीको पछिल्लो अवस्थाबारे इजरायली अधिकारीले अनभिज्ञता प्रकट गरेका छन् । हमासको कब्जामा रहेका जोशीसहित २० जना जीवित रहेको अनुमान रहे पनि यकिन नभएको उनीहरूको भनाइ छ । यसअघि इजरायली अधिकारीहरूले विपिन जीवितै रहेको बताउँदै आएका थिए ।
इजरायलको विदेश मन्त्रालयका दक्षिण र पूर्वी एसिया ब्युरो प्रमुख सगी करनीले सोमबार जेरुसेलमस्थित मन्त्रालयमा नयाँ पत्रिकाको प्रश्नमा भने, ‘विपिन जोशीसहित २० जना व्यक्तिहरू हमासको कब्जामा जीवित छन् भन्ने हाम्रो अनुमान छ । तर, उनीहरूको पछिल्लो अवस्थाबारे यकिन जानकारी छैन ।’
जोशीलाई किबुज क्षेत्रबाट २० असोज ०८० मा प्यालेस्टाइनको हमास समूहले अपहरण गरेको थियो । इजरायली अधिकारीले विपिनसहित हमासको कब्जामा रहेकाको रिहाइका लागि हरसम्भव प्रयास गरिरहेको बताए । ‘हाम्रा लागि जोशी इजरायलका नागरिकजत्तिकै प्रिय छन्,’ इजरायली अधिकारी सगीले भने । उनले जोशीको रिहाइका लागि थप दबाब सिर्जना गर्नुपर्नेमा पनि जोड दिए ।
इजरायलको राजधानी तेलअभिभस्थित विमानस्थलको अध्यागमन भवनमा जोशीसहित हमासको कब्जामा रहेकाहरूको तस्बिर राखिएको छ । यसअघि जोशी प्यालेस्टाइनको गाजा क्षेत्रमा थाइल्यान्डका नागरिकहरूसँगै सुरक्षित अवस्थामा रहेको भनिए पनि उनको अवस्थाबारे इजरायलमा स्पष्ट सूचना छैन ।
जोशी गाजा क्षेत्रमा रहेको नेपाल सरकारको पनि अनुमान छ । विपिनसँगै रहेका नेपाली विद्यार्थीले उपलब्ध गराएको सूचनाका आधारमा नेपाल सरकारले विपिन हमास नियन्त्रित गाजा क्षेत्रमा रहेको अनुमान गरेको छ ।
प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहसँग सम्बन्ध रहेका अरब मुलुकका समकक्षीसँग संवाद गर्दै आएका छन् । हमासले आफ्नोे नियन्त्रणमा रहेका विदेशी र इजरायली नागरिकलाई यसअघि चरणबद्ध रूपमा रिहा गरे पनि विपिन मुक्त भएका छैनन् । मध्यपूर्वका इरान, इजिप्ट, साउदी अरेबिया, कतारसँग हमास समूहको राम्रो सम्बन्ध छ । सरकारले मध्यपूर्वका मुलुकसँग खोजीका लागि प्रयास गर्दै आएको छ । सरकारले रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी)लगायतका संघसंस्थासँग पनि जोशीको खोजबिन गरिदिन अनुरोध गर्दै आएको छ ।
हमास समूहकोे ग्रिनेड आक्रमणमा बंकरभित्रै चारजना नेपाली विद्यार्थी घाइते भएका थिए भने १० जना नेपाली विद्यार्थीको निधन भएको थियो । आक्रमणमा परेर घाइते भएका सल्यानका विधान सेजवाल, दाङका रविन डाँगी, कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेलले जोशीलाई हमास समूहले नियन्त्रणमा लिएको बताउँदै आएका थिए ।
जेरुसेलममा नेपाली पत्रकारसँगको कुराकानीमा इजरायली अधिकारीहरूले हमास समूहले दुईवटा ग्रिनेड फालेकामा एउटा जोशीले समातेर बाहिर फालेको र उनलाई हमास समूहले लिएर गएको बताए । जोशीले ग्रिनेड बंकरबाहिर फालेका कारण चारजना नेपालीको ज्यान बचेको त्यहाँबाट फर्केका विद्यार्थीको भनाइ थियो ।