मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २१ बुधबार
  • Wednesday, 06 August, 2025
ज्यासन हिकेल/डाइलिन सुलिभान
२o८२ श्रावण २१ बुधबार o७:३६:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पश्चिमा शक्ति किन चीनसँग युद्ध चाहन्छ ?

Read Time : > 2 मिनेट
ज्यासन हिकेल/डाइलिन सुलिभान
नयाँ पत्रिका
२o८२ श्रावण २१ बुधबार o७:३६:oo
  • चीनको चमत्कारपूर्ण आर्थिक विकासले श्रमको मूल्यवृद्धि गराएको छ भने पश्चिमातिरका कम्पनीको नाफा घटाएको छ

पछिल्ला दुई दशकमा चीनप्रति अमेरिकाको धारणा आर्थिक सहकार्यबाट प्रत्यक्ष शत्रुतातर्फ उन्मुख भएको छ । अमेरिकी सञ्चारमाध्यम र नेताहरूले चीनविरोधी प्रोपगान्डा तीव्र पारेका छन् । र, अमेरिकी सरकारले व्यापार प्रतिबन्ध र सैनिक उपस्थिति विस्तार गरिरहेको छ । वासिंटन जनताले चीनलाई खतरा ठानुन् भन्ने चाहन्छ । चीनको उदयले साँच्चै अमेरिकी हितलाई चुनौती दिन्छ तर त्यो अमेरिकी राजनीतिक वर्गले देखाएजस्तो भने होइन ।

यो सम्बन्ध पुँजीवादी विश्व प्रणालीको सन्दर्भमा बुझिनुपर्छ, जहाँ ‘ग्लोबल साउथ’ (दक्षिणी गोलार्द्ध) का सस्तो श्रम र स्रोतसाधन ‘ग्लोबल नर्थ’ (उत्तरी गोलार्द्ध) का लागि नाफाका आधार हुन् । बहुराष्ट्रिय कम्पनीले असमान व्यापार विनिमयमार्फत दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धको केन्द्रतर्फ मूल्यको दोहन गर्छन् । सन् १९८० यता चीन सस्तो, दक्ष र उत्पादनशील श्रम आपूर्तिकर्ताका रूपमा पश्चिमा आपूर्ति सञ्जालको एक महत्वपूर्ण हिस्सा बनेको छ । उदाहरणका लागि एप्पलको उत्पादन चिनियाँ श्रममा निर्भर छ । अर्थशास्त्री डोनाल्ड ए क्लेल्यान्डका अनुसार सन् २०११ मा एप्पलले चिनियाँ श्रमिकलाई अमेरिकी श्रमिकसरह तलब दिएको भए एउटा आइप्याड बनाउन पाँच सय ७२ डलरभन्दा बढी लाग्थ्यो । पछिल्ला दुई दशकमा चीनमा ज्याला बढेको छ । सन् २००५ तिर प्रतिघण्टा एक डलरभन्दा कम रहेको उत्पादन श्रम लागत अहिले आठ डलरभन्दा माथि पुगेको छ । आज चीनको ज्याला एसियाका अन्य विकासोन्मुख देशभन्दा उच्च छ, जुन एक ऐतिहासिक परिवर्तन हो । यो परिवर्तनका कारण चीनमा अतिरिक्त श्रमिक तलबप्राप्त श्रमबजारमा समाहित हुनु र राष्ट्रपति सी जिनपिङको नेतृत्वमा राज्यको भूमिकाको विस्तार हुनु हो । 

यी परिवर्तन चिनियाँ श्रमिकका लागि सकारात्मक भए पनि पश्चिमा पुँजीका लागि चुनौती बनेका छन् । बढ्दो ज्यालाले पश्चिमा कम्पनीको नाफा घटाएको छ । त्यसैगरी चीनको व्यापार सर्तमा सुधार आएपछि अन्तर्राष्ट्रिय व्यापारमा हुने असमान विनिमयबाट चीनले कम शोषण भोग्न थालेको छ, नतिजा केन्द्र राष्ट्रहरूको दोहन क्षमतामा कटौती भएको छ । 

यी परिस्थितिमा उत्तरी गोलार्द्धका केन्द्र राष्ट्रका पुँजीपति अब फेरि सस्तो श्रम र स्रोतसाधनमा पहुँच पुनस्र्थापित गर्न आतुर छन् । यसको एक विकल्पका रूपमा उद्योग उत्पादनलाई एसियाका अन्य सस्तो श्रम भएका क्षेत्रमा सार्नु हो । तर, यसले उत्पादनमा क्षति, नयाँ श्रमिक खोज्नुपर्ने समस्या र आपूर्ति सञ्जालमा उत्पन्न अवरोधजस्ता थप लागत निम्तिन्छ । अर्को विकल्प भनेको चिनियाँ श्रमिकको ज्याला फेरि घटाउनु हो । त्यसैले, अमेरिका अहिले चिनियाँ सरकारलाई कमजोर पार्न र चिनियाँ अर्थतन्त्र अस्थिर बनाउन प्रयासरत छ र यसमा आर्थिक युद्ध, प्रतिबन्ध र सैन्य तनाव सिर्जनाको स्थायी खतरा समावेश छन् ।

पश्चिमा सरकार कहिलेकाहीँ चीनको निर्यात अत्यधिक सस्तो भएको भन्दै विरोध गर्छन् । चीनले अन्तर्राष्ट्रिय व्यापारमा ‘छल’ गरेको, विशेषत: रेन्मिन्बी मुद्राको विनिमय दर कृत्रिम रूपमा कम राखेर प्रतिस्पर्धात्मक लाभ लिएको दाबी गरिन्छ । तर, चीनले यस्तो नीति एक दशकअघि नै छाडिसकेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का अर्थशास्त्री जोसे एन्टोनियो ओक्याम्पोले सन् २०१७ मा ‘हालका वर्षमा चीनले रेन्मिन्बीको अवमूल्यन हुन नदिन ठुलो मात्रामा विदेशी मुद्रा सञ्चिति खर्च गरेको छ । वास्तवमा अहिले यो मुद्रा अधिमूल्यन नभई अधिक मूल्यांकन भएको पनि हुन सक्छ,’ भनेका थिए ।

नि:सन्देह चीनले सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लगाएका शुल्कको दबाबका कारण केही अवमूल्यन गर्न दिएको थियो । तर, त्यो तत्कालीन बजार परिस्थितिको स्वाभाविक प्रतिक्रिया थियो न कि रेन्मिन्बीलाई कृत्रिम रूपमा सस्तो बनाउने नियोजित प्रयास । वास्तवमा जतिवेला चीनको मुद्रा अवमूल्यन हुन्थ्यो, त्यसवेला अमेरिकाले चिनियाँ सरकारलाई व्यापक रूपमा समर्थन गरेको थियो । यसक्रममा आइएमएफ र विश्व बैंकबाट ऋणमार्फत समेत सहयोग गरेको थियो । तर, सन् २०१० को दशकको मध्यबाट जब चीनले आफ्नो मूल्य बढाउन थाल्यो र पश्चिमा प्रभुत्वमा रहेका आपूर्ति सञ्जालका लागि सस्तो आपूर्तिकर्ता रहने स्थितिलाई चुनौती दिन थाल्यो, अनि पश्चिमले चीनको विपक्षमा स्पष्ट मोड लियो ।

चीनसँग सम्भवत: अमेरिकाको आफ्नो इच्छाशक्ति थोपर्न नदिन सक्ने शक्ति छ । तर, ऊसँग बाँकी विश्वमाथि आफ्नो इच्छाशक्ति जबर्जस्ती थोपर्ने शक्ति छैन । चीनले सैन्य खतरा प्रस्तुत गरिरहेको छ भन्ने भाष्य अत्यन्त अतिरञ्जित छ । वास्तवमा परिस्थिति ठिक उल्टो छ । अमेरिकाले विश्वभर सयौँ सैन्य अड्डा सञ्चालन गरिरहेको छ, जसको ठुलो संख्यामा अड्डा चीननजिकै जापान र दक्षिण कोरियामा छन् । यसविपरीत चीनसँग विदेशमा (जिबुटीमा) जम्मा एक मात्र सैन्य अड्डा छ र अमेरिकी सीमानजिक कुनै सैन्य अड्डा छैन ।

यसबाहेक चीनले विगत ४० वर्षभन्दा बढी समयदेखि कुनै पनि अन्तर्राष्ट्रिय युद्धमा एक गोली पनि चलाएको छैन, जब कि सोही अवधिमा अमेरिकाले दर्जनौँ दक्षिणी गोलार्द्धका मुलुकमा आक्रमण, बमवर्षा वा सत्ता परिवर्तनका अभियान सञ्चालन गरेको छ । विश्वशान्ति र सुरक्षाको वास्तविक खतराको कुरा उठाउने हो । पहिलो नाम भनेको अमेरिका नै हो । पश्चिमाको युद्ध आसक्तिको वास्तविक कारण चीनले सार्वभौम विकास हासिल गर्दै जानु र यसले पश्चिमा पुँजी सञ्चयको आधार भएका साम्राज्यवादी व्यवस्थालाई कमजोर बनाउनु हो । पश्चिम विश्व आर्थिक शक्तिलाई यत्तिकै आफ्नो हातबाट चिप्लिन दिने पक्षमा देखिन्न ।

(हिकेल बार्सिलोनाको इन्स्टिट्युट फर इन्भायोरमेन्टल साइन्स एन्ड टेक्नोलोजीका प्राध्यापक हुन् भने सुलिभान म्याकक्वारी विश्वविद्यालयमा समाज विज्ञानका एड्जन्क्ट फेलो हुन्) 

अलजजिराबाट