मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २१ बुधबार
  • Wednesday, 06 August, 2025
२o८२ श्रावण २१ बुधबार o६:o२:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आफ्नै दलको सरकार ढालेर बानियाँ बने बागमतीका छैटौँ मुख्यमन्त्री

एमालेबाट ६ मन्त्री नियुक्त, मुख्यमन्त्रीले पार्टीमा समीकरण मिलाउन नसक्दा मन्त्रिपरिषद् अधुरै   

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २१ बुधबार o६:o२:oo

कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँ आफ्नै दल कांग्रेस नेतृत्वको सरकार ढालेर बागमतीका छैटौँ मुख्यमन्त्री बनेका छन् । कांग्रेस–एमाले गठबन्धनबाट मंगलबार मुख्यमन्त्री नियुक्त भएका बानियाँले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।  मंगलबार शपथपछि मुख्यमन्त्री बानियाँले कांग्रेसबाट दुई र एमालेबाट ६ गरी आठ मन्त्री नियुक्त गरे । ती मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री बनेका बानियाँ कांग्रेस र एमालेको गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन् । बानियाँले कांग्रेसका ३७ र एमालेका २७ सांसद गरी ६४ को समर्थनसहित सोमबार मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्छ । तर, उनलाई ६४ सांसदको समर्थन रह्यो ।

बानियाँ आफ्नै दल कांग्रेसबाट मुख्मयन्त्री रहेका बहादुरसिंह लामा तामाङविरुद्ध अविश्वासको प्रस्ताव लगी संसदीय दलमा हराएर मुख्यमन्त्री बनेका हुन् । ९ साउनमा नेता लामामाथि अविश्वास प्रस्ताव दर्ता गराएरका बानियाँ १३ साउनमा अविश्वासको प्रस्ताव पारित गराउन सफल भएका थिए । उनलाई प्रदेश सभामा रहेका कांग्रेसका ३७ मध्ये २२ जनाले सघाएका थिए ।

आन्तरिक समीकरण मिलाउन नसक्दा मन्त्रिपरिषद् अधुरै
नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पार्टीमा आन्तरिक समीकरण मिलाउन नसक्दा मन्त्रिपरिषद् अधुरै राखेका छन् । सत्ता साझेदार एमालेले आफ्नो भागमा परेका ६ वटै मन्त्रालयका लागि मन्त्री पठाए पनि कांग्रेसले भने दुई जना मात्र पठाएको छ । बानियाँले कांग्रेसका कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ र शिवराज अधिकारी विनाविभागीय मन्त्री बनाएका हुन् ।  कांग्रेसबाट थप पाँचमन्त्री नियुक्त हुन बाँकी छन् ।

एमाले मधुसुदन पौडेलको नेतृत्वमा सरकारमा सहभागी भएको हो । पौडेल कृषि तथा पशुपंक्षी विकास, डा. दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार, जयराम थापा श्रम रोजगार तथा यातायात, भरतबहादुर केसी वन तथा वातावरण, किरण थापा स्वास्थ्य र विन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बनेका छन् । थापा यसअघि तामाङ नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री थिए ।

मुख्यमन्त्री बानियाँले केहि दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिइने बताए । ‘हाम्रो अलि तयारी पुगेन, त्यसैले हाम्रो भागमा परेको सबै मन्त्रालयलमा मन्त्री नियुक्त हुन नसकेको हो,’ उनले भने, ‘हामीमा कुनै समस्या छैन, दुई–चार दिनभित्रै रिक्त रहेका मन्त्रालयमा मन्त्री नियुक्त गर्छौं ।’ यसअघि तत्कालीन मुख्यमन्त्री बहादुरसिंह लामाले मुख्यमन्त्रीबाट राजीनामा दिन सर्त राखेका थिए ।‘सहमती र सहकार्यलाई पनि व्यवस्थित गर्न साथीहरूसँग गम्भिर छलफल गरेर अगाडी बढ्नुपर्ने छ,’ उनले भने ।

संकल्प प्रस्ताव कार्यान्वयन गर्ने मुख्यमन्त्री बानियाँको पहिलो निर्णय
नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संसदले पारित गरेको संकल्प प्रस्तावलाई कार्यान्वयनमा लैजाने पहिलो निर्णय गरेका छन् । प्रदेशसभाको २३ असारको बैठकले पारित गरेको प्रस्तावलाई ग्रहण गर्दै उनले आर्थिक मितव्ययिता, सुशासन र जनमुखी बजेट प्रणालीलाई सरकारको प्राथमिकता बनाउने घोषणा गरेका हुन् ।

मुख्यमन्त्री बानियाँले सरकारले अनावश्यक र फजुल खर्च कटौती गर्ने दावी गरे ।  त्यस्तै, सरकारी कोषको दुरुपयोग हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । ‘सरकारको काम पारदर्शी, जवाफदेही र भ्रष्टाचारमुक्त हुनेछ,’ उनले भने, ‘नियम–कानुनको पालना गर्दै जनताप्रति उत्तरदायी शासन सञ्चालन गर्ने सरकारको लक्ष्य हुनेछ ।’

सेवा प्रवाहलाई छिटो, छरितो र सहज बनाउनेतर्फ पनि सरकार प्रतिबद्ध रहेको उनले बताए । बजेट प्रणाली जनमुखी बनाइने र वार्षिक बजेट आम जनताको आवश्यकता र चाहनालाई केन्द्रमा राखेर कार्यान्वयन गरिने बानियाँले बताए ।