
पञ्चकन्या समूहले ‘पञ्चकन्या डिमेक्स’सहित चार ब्रान्डमा युपिभिसी झ्याल–ढोका प्रोफाइल बजारमा ल्याएको छ । अनौपचारिक रूपमा झन्डै एक वर्षदेखि युपिभिसी झ्याल–ढोकाको उत्पादन तथा बिक्रीसमेत गर्दे आएको पञ्चकन्याले ५ साउनदेखि औपचारिक रूपमा आफ्नो उत्पादन बजारमा ल्याएको हो । पञ्चकन्याले जर्मन प्रविधि तथा मापदण्डमा यसको उत्पादन गरेको छ । ८० करोड रुपैयाँको लगानीमा एक वर्षअघि नै रुपन्देहीको सियारी गाउँपालिका–२ भगदरीमा पञ्चकन्या डिमेक्स उद्योग स्थापना गरिएको थियो । यसमा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठसहित रितेश सिलवाल, नारायण केसी र आशिष श्रेष्ठले लगानी गरेका छन् । अब २० करोड रुपैयाँ लगानी थप गरेर उद्योगलाई अटोमेसनसमेत गरिँदै छ ।
यसको मुख्य कार्यालय ललितपुरको झम्सिखेल र सोरुम जडीबुटीमा रहेको छ, जहाँ ग्राहकले ‘ट्रायल’समेत गर्न पाउँछन् । काठ, आल्मुनियम र युपिभिसीबाट झ्याल–ढोकाको फ्रेम अर्थात् प्रोफाइल बनाउन सकिन्छ । पछिल्लो समय नेपालमा युपिभिसी झ्याल–ढोकाको प्रयोग बढ्दै गएको छ । वर्षमा नेपालमा १३ हजार मेट्रिकटन युपिभिसी खपत हुन्छ । त्यसमा झन्डै ८५ प्रतिशत चीन र भारतबाट आयात हुने गरेको छ । त्यसपछि पञ्चकन्याले नेपालमै उत्पादन सुरु गरेको हो । पञ्चकन्या डिमेक्सले सुरुवाती वर्षमै २० प्रतिशत बजार हिस्सा ओगटिसकेको छ । अब पाँच वर्षमा ५० प्रतिशत बजार हिस्सा ओगट्ने र निर्यातसमेत गर्ने लक्ष्य लिइएको छ।
हाल नेपालमा युपिभिसी झ्याल–ढोका उत्पादन गर्ने सात कम्पनी छन् । स्थापना मितिका आधारमा ‘पञ्चकन्या डिमेक्स’ सातौँ उद्योग हो । क्षमताका आधारमा भने यो नेपालकै ठुलो उद्योग भएको अध्यक्ष उज्ज्वलकुमार श्रेष्ठले बताए । वार्षिक ६ हजार मेट्रिकटन उत्पादन क्षमता भएको यो उद्योगमा ६ वटा मेसिन रहेका छन् । यो क्षमताका उद्योगका अन्य छैनन्।
नेपालकै पहिलो कलर प्रोफाइल युपिभिसी, चार रङमा उपलब्ध
कम्पनीले चार रङमा युपिभिसी झ्याल–ढोका बजारमा ल्याएको छ । नेपालमा विभिन्न रङमा युपिभिसी झ्याल–ढोका उत्पादन गर्ने यो नै पहिलो उद्योग हो । कम्पनीले उडन (गोल्डेनवक), ग्रे, वाल्नट, कालो रङमा युपिभिसी झ्याल–ढोका बजारमा ल्याएको छ । ‘लेमिनेटेड’ प्रविधिबाट युपिभिसीलाई विभिन्न रङ दिइएको छ । योबाहेक सेतो रङमा पनि युपिभिसी उत्पादन गरिन्छ । अहिले नेपालमा रहेको अन्य कम्पनीले सेतो रङको युपिभिसी उत्पादन गर्दै आएका छन्।
कुन गुणस्तरलाई कति मूल्य ?
उद्योगले पञ्चकन्या डिमेक्स, नियोप्लास्ट, टोनिस र साल ब्रान्डका युपिभिसी ल्याएको छ । त्यसमा पञ्चकन्या डिमेक्स प्रिमियम क्वालिटीको हो । पञ्चकन्या डिमेक्सको मूल्य प्रतिवर्गफिट एक हजार रुपैयाँ तोकिएको छ । जर्मन प्रविधिमा बनेको पञ्चकन्या डिमेक्स युपिभिसी अन्तर्राष्ट्रिय गुणस्तरमा बनाइएको छ।
यस्तै, इकोनोमिक गुणस्तरमा नियोप्लास्ट र टोनिस ब्रान्डको मूल्य भने प्रतिवर्गफिट ७५० रुपैयाँ तोकिएको छ । यो आयातीत युभिपिसीको मूल्यसरह हो । तर, आयातीत युपिभिसीभन्दा उच्च गुणस्तरको भएको बताइएको छ । यस्तै, रंगीन युपिभिसीको मूल्य भने प्रतिवर्गफिट १३ सयदेखि १५ सय रुपैयाँसम्मका रहेका छन् ।
२० वर्षसम्मको वारेन्टी
उद्योगले प्रिमियम र रंगीन युपिभिसीमा २० वर्षको वारेन्टी दिने बताएको छ । इकोनोमिक युपिभिसीमा १५ वर्षको वारेन्टी दिने बताएको छ । यसका ग्यास्टेकमा समेत २० वर्षको वारेन्टी उपलब्ध गराइएको छ । जडान गरेपछि हावापानी पस्न नदिने टिपीई ग्यास्केट प्रविधि यसमा प्रयोग गरिएको छ।
उद्योगका निर्देशक रितेश सिलवालले यो टिकाउ हुने बताए । ‘यद्यपि, प्राविधिक रूपमा केही समस्या आएमा ग्राहकको सुविधाका लागि वारेन्टीको व्यवस्था गरेका हौँ,’ उनले भने, ‘हाम्रो प्रोडक्ट २० वर्षभन्दा पनि लामो समयसम्म टिकाउ हुन्छ।’
जर्मनको ‘एसकेजेड प्रमाणित’
पञ्चकन्या डिमेक्सको उत्पादन ‘एसकेजेड प्रमाणित’समेत रहेको छ । जर्मनको ‘स्युड–डोइचेसकुन्स्ट–स्टोफ सेन्र्टुम’(एसकेजेड)नाम अनुसन्धान केन्द्रले पञ्चकन्या डिमेक्सलाई गुणस्तरीय भन्दै प्रमााणीकरण गरेको अध्यक्ष श्रेष्ठले बताए।
कम्पनीकाअनुसार यी युपिभिसी ‘साउन्ड प्रुफ’ रहेका छन् । यसैगरी यसले तामक्रमसमेत सन्तुलनमा राख्ने दाबी गरिएको छ । बाहिरको तामक्रम भित्र नआउने र भित्रको तामक्रम बाहिर नजाने गरी यसको डिजाइन गरिएको छ । यो युपिभिसी प्रयोग गरेको कोठामा कम पावरमा एसी तथा हिटरसमेत प्रयोग गर्न मिल्ने बताइएको छ । पानी र आगोबाट जोगिने गरी यसको डिजाइन गरिएको छ । यो पर्यावरणमैत्रीसँगै ‘लिड फ्री’ (हरित निर्माण)समेत रहेको छ।
मिस्त्री र विक्रेतालाई तालिम
यसमा उद्योगले युपिभिसीको प्रोफाइल बनाएर फेब्रिकेटर (मिस्त्री) तथा विक्रेतालाई उपब्ध गराउनेछ । त्यसपछि फेब्रिकेटर तथा विक्रेताले नै त्यसलाई ग्राहकको मागअनुसार झ्याल–ढोका बनाएर बिक्री–वितरण गर्नेछन् । त्यसक्रममा फेब्रिकेटर तथा विक्रेताले युपिभिसीमा स्टिल समावेश गर्नुपर्नेलगायतका मापदण्ड पूरा गर्नुपर्नेछ । हाल उद्योगकै काठमाडौंमा दुई र बुटवलमा एक गरेर तीनवटा ‘फेब्रिकेटर’ छन्, जहाँ अन्य फेब्रिकेटरलाई समेत युपिभिसीको झ्याल ढोका बनाउन तालिम दिइनेछ । हालसम्म २५९ जनालाई यसको तालिम दिइएको छ । ४७ जना भने तालिम दिने व्यक्ति रहेका छन् । उनीहरूमार्फत यी युपिभिसिबाट झ्याल–ढोका बनाइनेछ । व्यक्ति, मेसिन र उपकरणलाई प्रमाणित गरेपछि मात्रै सम्बन्धित ‘फेब्रिकेटर’लाई पञ्चकन्या डिमेक्स युपिभिसी प्रयोग गर्न दिइनेछ।