मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १७ शनिबार
  • Saturday, 02 August, 2025
२o८२ श्रावण १७ शनिबार १५:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ससर्त सहमतिसहित मुख्यमन्त्री लामाले आइतबार राजीनामा दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १७ शनिबार १५:१६:oo

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले राखेको सर्त पूरा हुने भएपछि आइतबार पदबाट राजीनामा दिने भएका छन् । 

सभापति शेरबहादुर देउवासँग शनिबार बुढानीलकण्ठमा भएको छलफलपछि लामा ससर्त राजीनामा दिन तयार भएका हुन् ।

देउवाको उपस्थितिमा भएको छलफलमा लामाले साउन १४ गते मन्त्री नियुक्त गरेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई निरन्तरता दिने सर्तमा पदत्याग गर्न सहमति भएको लामानिकट प्रदेश सभा सदस्य रामकृष्ण चित्रकारले जानकारी दिए।
‘हामीले तीनजना मन्त्रीहरूलाई शपथग्रहण गराउनुपर्ने अडान राख्यौँ। सभापतिज्यू र इन्द्रजीले सहमति जनाउनुभयो,’ चित्रकारले भने, ‘त्यसपछि मुख्यमन्त्रीले आइतबार राजीनामा दिने निर्णय भएको हो।’ आइतबार हेटौँडामा मन्त्रीपरिषद्को बैठक बसेर पत्रकार सम्मेलन गरेपछि राजीनामा दिने उनले स्पष्ट पारे ।

मुख्यमन्त्री लामा साउन १४ गते पार्टी संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए। दलको नेतामा हार बेहोरेपछि उनलाई पार्टीभित्रबाट राजीनामा दिन दबाब बढेको थियो। 

देउवाले शुक्रबार लामालाई निवासमा बोलाएर राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए। शनिबारको छलफलमा बानियाँ, लामा र लामाको पक्षमा रहेका १४ जना सांसद सहभागी थिए। छलफलमा पार्टीभित्रको विभाजनलाई मिलाएर अघि बढ्ने विषयमा पनि सहमति भएको चित्रकारले बताए।