मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १५ बिहीबार
  • Thursday, 31 July, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८२ श्रावण १५ बिहीबार o९:५२:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भान्साबाटै दैनिक नौ सय मेट्रिकटन फोहोर उत्पादन

राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीनिवास क्षेत्रमा पनि भान्साजन्य फोहोर बढी, महानगरलाई व्यवस्थापनमा चुनौती

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण १५ बिहीबार o९:५२:oo

काठमाडौं उपत्यकामा दैनिक एक हजार ६ सय मेट्रिकटन फोहोर उत्पादन हुन्छ । ती फोहोरमध्ये सबैभन्दा बढी सहरवासीको भान्साबाटै उत्पादन हुन्छ । दैनिक नौ सय मेट्रिकटन फोहोर सहरवासीले भान्साबाटै उत्पादन गर्छन् । जसमा सबैभन्दा धेरै फोहोर खानेकुरा फाल्दा र तरकारी तथा सागसब्जी केलाउँदा उत्पादन हुन्छ ।

फलफूलका बोक्रा, बजारबाट ल्याएका रेडिमेड खानेकुरालगायतबाट पनि भान्साजन्य फोहोरको उत्पादन बढेको काठमाडौं महानगरपालिका वातावरण विभागकी प्रमुख सरिता राईले बताइन् । ‘अहिले काठमाडौं उपत्यकामा उत्पादन हुने फोहोर हेर्दा अर्गानिक वेस्ट अर्थात् भान्साबाट उत्पादित फोहोर बढी छ । असावधानी र लापरबाहीका कारण फोहोर बढेको हो, कतिपय पुन: प्रयोग गर्न मिल्ने वस्तु, फोहोरको रूपमा फाल्ने गरिन्छ । यदि खानेकुरा नफाल्ने र तरकारी बाहिरबाटै केलाएर लैजाने गरियो भने त्यस प्रकारको फोहोर उत्पादन घट्न सक्छ,’ उनले भनिन्, ‘प्याकिङ गरिएका खानेकुराका कारण पनि भान्साजन्य फोहोर बढेको हो ।’ 

राईका अनुसार अग्र्यानिक तथा किचेनबाट उत्पादित फोहोरको तौल बढी हुन्छ । जसका कारण फोहोर व्यवस्थापन तथा ढुवानीमा समेत चुनौती हुुन्छ । घरधनी तथा होटेल–रेस्टुरेन्ट र क्याटरिङहरूले आफैंले फोहोर घटाउन सके महानगरलाई राहत हुने उनको भनाइ छ ।

काठमाडौं उपत्यकामा कुन प्रकारको वा कस्तो फोहोर बढी उत्पादन हुन्छ भन्नेमा ६ महिनाअघि युएसएडसँगको समन्वयमा एन्फो भन्ने संस्था र महानगरले संयुक्त रूपमा अध्ययन गरेका थिए । तर, युएसएडको कार्यक्रम बन्द भएपछि त्यसको अन्तिम नतिजा आएन । अध्ययनको प्रारम्भिक नतिजाका आधारमा सबैभन्दा बढी किचेनकै फोहोर उत्पादन हुने गरेको पाइएको राईले जानकारी दिइन् । तर, यसमा थप वैज्ञानिक अध्ययन गरेर भान्सामा उत्पादन हुने फोहोरलाई घटाउन आवश्यक रहेको उनको भनाइ छ । 

भान्सापछि निर्माणजन्य तथा होटेल, रेस्टुरेन्ट र पार्टी प्यालेसको फोहोर बढी उत्पादन हुने गरेको हो । त्यसमध्ये सबैभन्दा बढी नकुहिने फोहोर छ । महानगरको तथ्यांकअनुसार उपत्यकामा पार्टी प्यालेसहरूले सबै प्रकारको गरी दैनिक दुई सय मेट्रिकटन हाराहारी फोहोर उत्पादन गर्छन् । कतिपय फोहोर घटाउन सकिने र पुन: प्रयोग गर्न सकिने भए पनि उनीहरूले ध्यान दिँदैनन् । ‘हामीकहाँ कुन फोहोर कति उत्पादन हुन्छ भन्नेबारे प्रारम्भिक अध्ययन मात्रै भएको छ, तर विस्तृत अध्ययनको खाँचो छ । उपत्यकाको फोहोर काठमाडौं महानगरपालिभित्र मात्रै उत्पादन हुने होइन, अन्य पालिकामा पनि हुन्छ,’ विभाग प्रमुख राईले भनिन्, ‘हाल काठमाडौं उपत्यकाका दैनिक १६ सय मेट्रिकट फोहोर दैनिक बन्चरेडाँडामा व्यवस्थापन हुन्छ, २५० कन्टेनरले दैनिक विसर्जन गर्छन्, कहिलेकाहीँ १८ सय मेट्रिक टनसम्म पनि फोहोर उत्पादन हुन्छ ।’ 

राईका अनुसार काठमाडौं महानगरपालिकाले संकलन गर्ने स्थानबाटै दैनिक पाँच कन्टेनर फोहोर टेकुमा मल तथा बायोग्यास बनाउन प्रयोग गर्छ । तर, त्यतिले मात्रै फोहोर व्यवस्थापन हुन भने सक्दैन । टेकुमा लैजाने प्लास्टिकजन्य फोहोर हो । महानगरले चालू वर्षमै कम्पोस्टिङका लागि भान्साजन्य फोहोर व्यवस्थित गर्ने योजना पनि तय गरेको छ । तर, तत्काल सबै फोहोर व्यवस्थापन गर्न प्रविधि, लगानी र जनशक्ति चाहिने भएकाले सम्भव नहुने विभाग प्रमुख राईले बताइन् । 

सिंहदरबार क्षेत्रमा प्लास्टिक र कागजजन्य फोहोर उत्पादन धेरै

महानगरपालिकाका अनुसार अहिले सिंहदरबार क्षेत्रमा फोहोर उत्पादन बढेको छ । अझ कोठाकोठामा प्याकेटको खाजा खाने, बोतलको पानी पिउने बानीले प्लास्टिकजन्य र कागजजन्य फोहोर उत्पादन बढेको छ । सिंहदरबारभित्र रहेका क्यान्टिनले पनि जथाभावी फोहोर उत्पादन गर्छन् । सिंहदरबारभित्रका मन्त्रालय तथा सरकारी कार्यालयमा प्लास्टिक, कागज निर्माणजन्य फोहोर बढी उत्पादन हुने गरेको छ । राष्ट्रपति निवास, प्रधानमन्त्री निवास, मन्त्रिक्वार्टर क्षेत्रमा भने भान्साजन्य फोहोर बढी उत्पादन हुने गरेको छ । यी क्षेत्रमा सबैभन्दा बढी खानेकुरा फाल्ने गरिएको र भान्साजन्य फोहोर बढी हुने गरेको महानगरले जनाएको छ । 

कसरी कम गर्ने भान्साजन्य फोहोर ?

उपत्यकामा उत्पादन हुने बढी भान्साजन्य र अन्य फोहोर व्यवस्थापनका लागि घरधनीले स्रोतमै वर्गीकरण गर्नुपर्ने हो । तर, महानगरपालिकाले यसमा कडाइ गर्न सकेको छैन । भान्साजन्य फोहोर उत्पादन कम गर्न महानगरपालिकाले कम्पोस्ट बिन पनि वितरण गरेको छ । राईका अनुसार खानेकुरा नफाल्ने, पुन: प्रयोग गर्न मिल्ने वा बगैँचा तथा कौसीखेतीमा प्रयोग गर्ने बानी बसाल्नाले फोहोर घटाउन सकिन्छ । ‘अहिले सहरियाको बानी पनि परिवर्तन भएको छ, खाना फाल्ने चलन बढेको छ, अझ घरमै मगाएर बाहिरी फुड खान्छन्, जसले गर्दा फोहोर घरमा थुप्रिएको हुन्छ,’ राईले भनिन्, ‘सकिने वा मिल्ने अग्र्यानिक वेस्टलाई घरमा व्यवस्थापन गरेको पाइँदैन, त्यसले फोहोर उत्पादन बढिरहेको छ ।’