
नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता सम्पन्न भएको आठ महिनापछि नेपाल प्रिमियर लिग (एनपिएल)को आर्थिक हिसाबकिताब सार्वजनिक गरेको छ ।
बिहीबार मूलपानीस्थित क्यान मुख्यालयमा बसेको क्यानको बैठकले पहिलो संस्करणको हिसाब सार्वजनिक गरेको हो । हिसाबकिताब फाइनल गर्न क्यानको बोर्ड बैठक १० घण्टा लामो बसेको थियो । बिहान ९ बजे सुरु भएको बैठक राति ८ बजे सकिए पनि क्यानले एउटा निर्णय मात्रै सार्वजनिक गरेको छ ।
प्रतियोगिता सम्पन्न भएको लामो समय हिसाबकिताब सार्वजनिक नहुँदा क्यानले ठुलो आलोचना खेपिरहेको थियो । आठ महिनाको बहस, आलोचना र विवादपछि क्यानका सचिव तथा एनपिएल आयोजना समितिको संयोजक पारस खड्काले कार्यसमितिमा प्रतियोगिताको हिसाबकिताब प्रस्तुत गरिएकाे हाे ।
पहिलोपटक आफैँले फ्रेन्चाइज प्रतियोगिता गर्दा क्यानले दुई करोड ४६ लाख ५० हजार ६८९ मुनाफा गरेको छ । क्यानले प्रतियोगितामा कुल २७ करोड ६९ राख ६४ हजार ८१८ उठेको उल्लेख छ । जसमा खर्च २० करोड १५ लाख ६३ लाख ५५९ भएको जनाएको छ । यस्तै, जसमा क्यानलाई कुल सात करोड ५३ आय हुँदा फ्रेन्चाइज टिमलाई ५० प्रतिशत दिएको छ । जसमा चार करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ आठ फ्रेन्चाइज टिमले बाँडेका छन् । बाँकी तीन करोड १६ लाख ५० हजार ७८९ रुपैयामध्ये प्रदेशलाई ७० लाख बाँडेको क्यानले जनाएको छ ।