
२३ वर्षअघि सुरु भएको सिक्टा सिँचाइ आयोजना पूरा हुन अझै २५ वर्ष लाग्ने बताइनुले के संकेत गर्छ ?
यो आयोजना हामी हुँदा नै सुरु भएको थियो । यति लामो समय लाग्नुपर्ने विशेष त्यस्तो कारण त नहुनुपर्ने हो । हामीकहाँ कुनै पनि आयोजना सुरु गर्नुपूर्व डिजाइनमै समय लाग्छ । डिजाइन स्वीकृत भइसकेपछि लगानी खोज्ने, बजेट व्यवस्थापन गर्ने, खरिद प्रक्रिया सुरु गर्ने, जग्गा प्राप्त गर्नेलगायत हरेक प्रक्रियामा पनि समय लाग्छ । आयोजना वन क्षेत्रमा पर्यो भने थप झमेला हुन्छ । पर्याप्त बजेट पठाउन सकिएन भने ठेकेदार कम्पनीले पनि ‘डिरेल’ गर्छ । वेलाबखतमा प्राविधिक समस्या पनि आउन सक्छ । जस्तो सिक्टामा नुन मिसिएको माटो निस्केपछि समस्या सिर्जना भयो र आयोजनामा ढिलाइ भयो । तर, अझै थप २५ वर्ष लाग्नुपर्ने कुनै कारणचाहिँ छ जस्तो लाग्दैन ।
राष्ट्रिय गौरवका आयोजनामै यस्तो ढिलासुस्ती किन भएको होला ?
राष्ट्रिय गौरवको आयोजना भन्दैमा सरकारले छुट्टै सहयोग गर्ने होइन । कानुनी सहजीकरण पनि गरिदिने होइन । विशेष बजेट पनि दिने होइन । आयोजनाका अप्ठ्याराहरूलाई प्राथमिकतासाथ फुकाइदिने पनि होइन । जनशक्ति व्यवस्थापनदेखि अन्य कुनै पनि काममा नियमित र औपचारिकबाहेक विशेष केही गरिदिने होइन । खालि एउटा सरकारले सुरु गरेको आयोजनामा अर्को सरकारले बजेट नकाटोस् र त्यसले निरन्तरता पाओस् भनेर राष्ट्रिय गौरवको नाम दिइएको मात्र हो ।
कुनै पनि आयोजनालाई समयमै सक्ने उपाय हुँदैन ?
जुनजुन समस्याले आयोजनालाई रोक्छन्, ढिलासुस्ती गराउँछन्, तीती काम नगरे ढिलाइ हुँदैन । हामीकहाँ कानुको कुव्याख्या गर्नेहरूले पनि ढिलासुस्ती गराउँछन् । आयोजनाबारे बुझेका कर्मचारीलाई निश्चित अवधि काम गर्न दिनुपर्छ । अन्यथा तिनले ‘बोल्ड डिसिजन’ लिन डराउँदा ढिलासुस्ती हुन सक्छ । आयोजनामा बजेट अभाव पनि हुन दिनु हुँदैन ।