मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 31 July, 2025
नवीन लोचनमगर काठमाडाैं
Invalid date format १३:४५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सहिद मार्गमा रात्रिकालीन यातायात बन्द गरिएपछि असन्तुष्टि

Read Time : > 1 मिनेट
नवीन लोचनमगर, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:४५:oo

दाङको घोराहीबाट होलेरी–थबाङ हुँदै रुकुमपूर्व जोड्ने सहिद मार्गको रोल्पाखण्डमा रात्रिकालीन यातायात बन्द गरिएपछि सरोकारवालाहरूले असन्तुष्टि जनाएका छन् । जिल्ला प्रशासन कार्यालय रोल्पाद्वारा जारी सूचनामा १५ भदौसम्म लागु हुने गरी बेलुकी ६ बजेदेखि बिहान ५:३० बजेसम्म सहिदमार्ग तथा अन्य भित्री सडक सञ्चालनमा रोक लगाएपछि व्यापक असन्तुष्टि बढेको हो । सर्वदलीय, सर्वपक्षीय बैठकले सुरक्षा समितिलाई अनुरोध गरेसँगै सडक अवरुद्ध गरिएको प्रशासनले जनाएको छ।

सडक अवरुद्ध गर्ने निर्णयप्रति केही जनप्रतिनिधि तथा सरोकारवालाहरूले भने असन्तुष्टि जनाएका छन् । ‘सवारीसाधन आवागमन बन्द गर्ने निर्णयले सर्वसाधारण जनता मारमा छन्,’ रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले फेसबुकमा लेखेका छन्, ‘यो निर्णयमा विवेक पुगेन कि भन्ने बुझाइ छ ।’ उनले जोखिम क्षेत्र, मौसमको अवस्थालगायतका कुरालाई निगरानी गरेर सहजीकरण गर्नुपर्नेमा बन्द गर्ने निर्णय वस्तुसंगत नभएको बताएका छन् ।

यता सहिद मार्गको मुख्य भाग पर्ने माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तीले पनि पानी नपरेको र अनुकूल समयमा पनि बेलुकी ६ बजे नै सवारीसाधन सञ्चालनमा रोक लगाउनु राम्रो नभएको बताए। ‘सहिद मार्गको रोल्पाखण्डमा आधाजति त कालोपत्रे नै छ, अन्य ठाउँमा पनि सडक नै बन्द गर्नुपर्ने अवस्था देखिँदैन,’ घर्तीले भने, ‘सफा मौसम भएको अवस्थामा ६ बजे त डाँडाकाँडामा घाम नै डुबेको हुँदैन, यतिवेलै बन्द गर्ने निर्णय वस्तुसंगत छैन ।’ उनले बन्द नै गर्नुपर्ने अवस्थामा राति ८ बजेदेखि बिहान ४ बजेसम्म गर्न सकिने सुझाव दिए।

सहिद मार्ग क्षेत्रमा बेलुकी गाडी सञ्चालनमा रोक लगाउँदा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको होलेरीस्थित सञ्चारकर्मी नन्दराम खड्का बताउँछन्। उनले ढुंगा खस्छ या विपत् हुन सक्छ भनेर सडक नै बन्द गर्ने कुरा वस्तुवादी नभएको बताए। सडकलाई नियमित बनाउन स्थानीय तह, प्रशासन र सडकसम्बद्ध निकायहरूले आवश्यक तयारी गर्नुपर्ने भए पनि सडक बन्द गरिनु राम्रो नभएको उनको भनाइ छ। 

यता प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले भने सर्वसाधारणको जिउधनको सुरक्षाकै लागि यस्तो निर्णय गरिएको बताए। ‘जिल्लास्थित यातायात व्यवसायी, राजनीतिक दल, सरोकारवाला सबैलाई बसालेर सबैको सहमतिमा यस्तो निर्णय भएको हो,’ दाहालले भने, ‘यसमा अरू कुनै स्वार्थ नभएर विशुद्ध जनताको जीवनरक्षाको सवाल छ ।’ उनले विपत् कतिवेला पर्छ भन्ने कुरा कसैलाई थाहा नभएको बताउँदै निर्णय वस्तुसंगत नै भएको र निर्णय कार्यान्वयनमा सबैले सहयोग गर्न अपिलसमेत गरे । बेलुकी ६ बजेपछि सुरक्षा निकायसँगको समन्वयमा मात्र एम्बुलेन्स सञ्चालन गर्न सकिने सूचनामा उल्लेख छ ।