
बिहीबारबाटै लागू भएको तलबमान
चियाबगानमा काम गर्नेबाहेकका श्रमिकको न्यूनतम तलब दुई हजार दुई सय ५० रुपैयाँले बढाइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको न्यूनतम पारिश्रमिक निर्धारण समितिको बिहीबार साँझ बसेको बैठकले १ साउनदेखि लागू हुने गरी श्रमिकको मासिक न्यूनतम तलब १९ हजार पाँच सय ५० रुपैयाँ कायम गर्न सिफारिस गरेको थियो ।
समितिको निर्णयलाई श्रममन्त्री शरत्सिंह भण्डारीले पनि स्वीकृत गरिसकेका छन् । चियाबगानमा काम गर्ने कर्मचारीको हकमा थप छलपल गरेर निर्णय गरिने मन्त्रालयले जनाएको छ ।
यसअघि श्रमिकको न्यूनतम तलब आधारभूत १० हजार आठ सय २० रुपैयाँ र महँगी भत्ता ६ हजार चार सय ८० रुपैयाँ गरेर मासिक १७ हजार तीन सय रुपैयाँ थियो । अब आधारभूत १२ हजार एक सय ७० र महँगी भत्ता सात हजार तीन सय ८० गरेर मासिक १९ हजार पाँच सय ५० रुपैयाँ तलब दिन सिफारिस गरिएको छ । अब श्रम मन्त्रालयले स्वीकृति गरेपछि यो पारिश्रमिक लागू हुनेछ ।
विगतको अनुभव, प्रयास र प्रक्रियाको समीक्षा गरी रोजगारदाता संगठन र संयुक्त ट्रेड युनियन समन्वयन केन्द्रका प्रतिनिधिबाट आएको सुझावका आधारमा नयाँ तलब निर्धारण गरिएको मन्त्रालयले जनाएको छ । यस्तै, श्रमिकको दैनिक न्यूनतम तलब सात सय ५४ रुपैयाँ तोकिएको छ ।
यसैगरी प्रतिघण्टा न्यूनतम एक सय एक रुपैयाँ तलब निर्धारण गरिएको छ । आंशिक समय मात्र काम गर्ने कामदारको हकमा प्रतिघण्टा न्यूनतम एक सय सात रुपैयाँ तलब निर्धारण गरिएको छ । यसअघि दैनिक ६ सय ६८, प्रतिघण्टा ८९ रुपैयाँ र आंशिक प्रतिघण्टा ९५ तलब थियो ।