
नि:सन्तान दम्पतीलाई सन्तान प्राप्तिमा सहयोग गर्ने भन्दै प्रलोभन देखाई किशोरीहरूबाट डिम्ब संकलन गरी अवैध कारोबार गर्दै आएका आइभिएफ अर्थात् इन भिट्रो फर्टिलाइजेसनका क्लिनिकहरूले एक ग्राहकबाट १८ लाख रुपैयाँसम्म असुलेको पाइएको छ । तर, डिम्ब दिने किशोरीहरूलाई भने केवल १० हजार रुपैयाँ मात्र दिइने गरेको अनुसन्धानमा पाइएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार यस्तो अवैध कारोबार बबरमहलस्थित होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिक र महाराजगन्जस्थित एन्जल फर्टिलिटी क्लिनिकमार्फत भइरहेको थियो । पक्राउ परेका दुवै क्लिनिकका सञ्चालकले बयानका क्रममा डिम्ब संकलन तथा बिक्रीको अवैध कारोबारबारे खुलाएका हुन् ।
दुवै क्लिनिकका सञ्चालकहरूमा डा. स्वस्ति शर्मा (४४), डा. मलिनी चौधरी (४४), प्रत्यूषा बराल र डा. असिम अधिकारी छन् । तीमध्ये डा. शर्मा र डा. चौधरीलाई सिआइबीले आइतबार पक्राउ गरेको छ ।
यस्तै, घटनामा जोडिएका २४ वर्षीय अलिसा वली, २० वर्षीय जस्टिना प्रधान, १९ वर्षीय सबिना गुरुङ, २८ वर्षीय सकिल भण्डारी र ३५ वर्षीय डा. असिम अधिकारीलाई पनि पक्राउ गरेको थियो । पक्राउमध्ये अलिसा होपकी म्यानेजर हुन् भने सकिल एन्जलका म्यानेजर हुन् । त्यस्तै, जस्टिना र सबिना किशोरी उपलब्ध गराइदिने बिचौलिया हुन् । डा. असिम भने होपमा चिकित्सकका रूपमा कार्यरत छन् ।
उनीहरूको बयानमा अवैध कारोबार पुष्टि भएको र अरू धेरै तथ्यहरू खुलेको सिआइबीका एसएसपी होवीन्द्र बोगटीले बताए । ‘होप र एन्जल फर्टिलिटीले किशोरीहरूको अवैध रूपमा अन्डा लिने रहेछ । त्यसबापत किशोरीलाई ८ देखि १० हजार रुपैयाँ दिने रहेछ । तर, अन्डा लिनेबाट भने १८ देखि २० लाख रुपैयाँसम्म असुल्दा रहेछन् । अनुसन्धान जारी छ । बाँकी तथ्य खुल्दै जालान् ।’
सिआइबीले पक्राउ परेका सबैविरुद्ध अनुसन्धानका लागि म्याद थप्न सोमबार जिल्ला अदालत काठमाडौं लगेको थियो । तर, अदालतले सबैलाई हाजिरी जमानीमा छाडिदिएको छ । डिम्ब दानसम्बन्धी स्पष्ट कानुन नहुँदा अदालतले पक्राउ परेका सबैलाई हाजिरी जमानीमा छाडेको हो । तर, सिआइबीले अनुसन्धान प्रक्रियालाई अझ तेज तुल्याएको छ ।
सिआइबीका एसएसपी बोगटीले पक्राउ परेका सबै हाजिरी जमानीमा छुटेको भए पनि घटना गम्भीर प्रकृतिको भएको हुँदा अनुसन्धान जारी रहेको बताए ।
प्रहरीका अनुसार गत साता होपले १८ वर्षभन्दा कम उमेरका दुई किशोरीको डिम्ब झिकेको थियो । यसबापत किशोरीलाई होपले १०–१० हजार रुपैयाँ उपलब्ध गराएको थियो । दुवै किशोरीलाई होपसम्म पुर्याइदिने काम भने जस्टिनाले गरेकी थिइन् । यसबापत उनले होपबाट ५० हजार कमिसन बुझेकी थिइन् ।
जस्टिनाले पनि होपमै यसअघि डिम्ब दान गरेकी थिइन् । पहिलोपटक डिम्ब दान गर्दा उनले होपबाट ३५ हजार रुपैयाँ लिएकी थिइन् । त्यस वेला उनले आफ्नो नाम टिना थापा रजिस्टर गराएकी थिइन् । डिम्ब दान गर्ने सम्झौता भने होपका डा. असिमले गराएका थिए । जस्टिनाले होपमा मात्रै ६ जना किशोरी लगी डिम्ब दान गर्न लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
उनलाई होपमा ल्याइदिने काम भने सबिना र सकिलले गरेका थिए । त्यसबापत सबिनाले पनि ५० हजार बुझेकी थिइन् । प्रहरीका अनुसार सबिनाले पनि त्यसअघि एन्जलमा डिम्ब दान गरेकी थिइन् । पहिलोपटक डिम्ब दान गर्दा उनले सकिलमार्फत ४० हजार रुपैयाँ बुझेकी थिइन् । सबिना भने हाल युकेमा रहेकी रोहिसा प्रजापतिमार्फत होप पुगेकी थिइन् । उनलाई डिम्ब दान गर्न आर्थिक प्रलोभन दिने काम भने सकिलले गरेका थिए । सबिनाले होप र एन्जलमा मात्रै ५ जना किशोरी लगी डिम्ब दान गराइसकेकी छिन् ।
प्रहरीका अनुसार किशोरीको अवैध डिम्ब कारोबारमा उपत्यकाका अन्य आइभिएफ क्लिनिक पनि संलग्न छन् । उनीहरूविरुद्ध पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रहरीले गत २६ असारदेखि घटनाको अनुसन्धान गरेको थियो । नेपालमा डिम्ब दान गर्ने हालसम्म कुनै कानुनी प्रावधान छैन । तर, पुरुषको शुक्रकीट भने बैंकमा लगेर जम्मा गर्ने कानुनी प्रावधान छ । स्वास्थ्य अनुसन्धान तथा यौन रोग विशेषज्ञ डा. खेमबहादुर कार्कीले शुक्रकीट बैंक गर्ने कानुनी प्रावधान रहे पनि डिम्ब दान गर्ने भने कुनै कानुनी प्रावधान नभएको बताए ।
प्रहरीको अपरेसनपछि होपको कार्यालय बन्द छ । वेबसाइटमा पनि विवरण डिएक्भिट बनाइएको छ । वेबसाइटमा होपमा कार्यरत डा. स्वस्तिका शर्मा, डा. मलिनी चौधरी, प्रत्यूषा बराल र डा. अशिम अधिकारीको नामावली भने राखिएको छ । तर, उनीहरूको फोटो वेबसाइटबाट हटाइएको छ ।
किशोरीलाई बेहोस बनाई जबरजस्ती डिम्ब झिकिन्छ
प्रहरीका अनुसार पहिलो चरणमा बिचौलियामार्फत स्वस्थ अवस्थाका १६ देखि १९ वर्ष उमेर समूहका किशोरी पहिचान गरिन्छ । विशेष गरी आर्थिक अवस्था कमजोर भएका किशोरी उनीहरूको पहिलो छनोटमा पर्छन् । पक्राउ परेकाले दिएको बयानअनुसार छनोट भएका किशोरीलाई आर्थिक प्रलोभन दिई डिम्ब दानका लागि प्रेरित गरिन्छ । किशोरी तयार भएपछि यसको महिनावारी गणना हुन्छ । र, महिनावारी सकिएको ठिक तीन दिनपछि बिचौलिया किशोरीकहाँ पुग्छन् । किशोरीलाई क्लिनिक लगेर जान्छन् । उनीहरूले बयानमा बताएअनुसार डिम्ब स्वेच्छाले दान गरेको भन्दै सम्झौतापत्रमा हस्ताक्षर गर्न लगाइन्छ ।
हस्ताक्षरपछि किशोरीलाई क्लिनिकस्थित शड्ढयामा लगिन्छ । इन्जेक्सन दिइन्छ । र, घर पठाइन्छ । यो क्रम १० दिनसम्म निरन्तर चल्छ । १० वटा इन्जेक्सनको डोज पुगेपछि किशोरीलाई आराम गर्न लगाइन्छ । क्लिनिकको शड्ढयामा सुताएर बेहोस बनाइन्छ । यौनांगबाट औजार घुसाई पाठेघरबाट डिम्ब झिकिन्छ । र, अर्को बेडमा रिसिभ गर्न बसेकी महिलाको पाठेघरमा डिम्ब लगेर प्रत्यारोपण गरिन्छ । सिआइबीका एसएसपी बोगटीले भने, ‘यो प्रक्रिया अत्यन्तै जोखिमपूर्ण रहेको यिनीहरूको बयानबाट खुल्छ ।’
डिम्ब दान दिने नै बिचौलिया
डिम्ब निकालेपछि किशोरीको भूमिका त्यतिमै पूरा हुन्न । उनीहरूलाई आफूजस्तै अर्को किशोरी खोजी गर्न प्रेरित गरिन्छ । त्यसबापत उनीहरूले निश्चित रकम पाउँछन् । कतिपयलाई अग्रिम रकम पनि दिइन्छ । क्लिनिक त्यसैलाई हतियार बनाएर किशोरी खोजीका लागि दबाब दिन्छन् । पक्राउ परेका जस्टिना र सबिना सोहीमध्येका हुन् । सिआइबीका एसएसपी बोगटीले भने, ‘यिनीहरूले जोबाट डिम्ब लिन्थे, उसलाई आर्थिक प्रलोभनमा पारेर अर्की किशोरी खोज्न लगाउने रहेछन् । पक्राउ परेका दुई युवतीको बयानपछि यही तथ्य खुलेको छ ।’