
भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले सरुवा गरेर पठाएका भक्तपुरको मालपोत प्रमुख २४ लाख घुससहित रंगेहात पक्राउ परेका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको मालपोत कार्यालयमा रंगेहात पक्राउ गरेर प्रमुख कुमार आचार्यलाई नियन्त्रणमा लिएको हो ।
चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी चार आना जग्गा मोही र तल्सिङको लगत कट्टा गरी जग्गा मोहीका नाममा धनीपुर्जा बनाउने प्रयोजनका लागि घुस लिइसकेको अवस्थामा अख्तियारले प्रमुख आचार्य र कार्यालय सहयोगी टीकाराम राउतलाई नियन्त्रणमा लिएको हो ।
अख्तियारको टोलीले मालपोत प्रमुख आचार्यको साथबाट दुईवटा मोबाइल डिभाइस र कार्यालय सहयोगी अधिकारीबाट एउटा मोबाइलसहित २४ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । आचार्यलाई गत वर्ष मन्त्री अधिकारीले नै मालपोत प्रमुख बनाएर भक्तपुर सरुवा गरेका थिए । मन्त्रालयअन्तर्गतका कार्यालयकाध उपसचिव र सहसचिवको सरुवा मन्त्रालयले गर्छ ।
आचार्य विवादित कर्मचारी हुन् । यसअघि रुपन्देहीको मालपोत कार्यालयमा कार्यरत रहँदा उनी अख्तियारमा कारबाहीका लागि सिफारिस भएका थिए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरको करिब ६ बिघा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरिदिएपछि उनीउपर रुपन्देही जिल्ला प्रशासनले स्पष्टीकरण नै सोधेको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उनलाई १० बुँदे स्पष्टीकरण सोधेका थिए । उनीमाथि थप कारबाहीका लागि उनले अख्तियारमा पत्राचारसमेत गरेका थिए ।
सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेर मुआब्जाको दाबी गर्न आउँदा भेउ पाएर प्रमुख जिल्ला अधिकारी अर्यालले उनलाई स्पष्टीकरण सोधेका थिए । आचार्यमाथि थप छानबिन र कारबाहीका लागि अख्तियारमा सिफारिस गरिएको थियो । तर, उनीविरुद्ध अख्तियारले कुनै कारबाही गरेन । उनै आचार्यलाई भूमि व्यवस्थामन्त्री अधिकारले भक्तपुर मालपोतमा सरुवा गरेका थिए । उनी मन्त्रीका विश्वास पात्र मानिन्छन् । भक्तपुर मालपोत आकर्षक कार्यालयमा चिनिन्छ ।
भक्तपुरको मालपोत प्रमुखको सरुवासम्बन्धी विषयमा मन्त्री अधिकारीले सरुवामा मन्त्रीको भूमिका नहुने दाबी गरे । ‘देशभर कर्मचारीको सरुवा नियमित प्रक्रियाअनुसार हुन्छ । अवधि पुगेपछि सरुवा हुने व्यवस्था छ । यस्तो सरुवा सम्बन्धित सचिवको अधिकार क्षेत्रमा पर्छ । मन्त्रीको प्रत्यक्ष भूमिका हुँदैन,’ उनले भने ।
तर, यस प्रकरणमा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले नै प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यस्तो ‘हिम्मत’सँग कायल नभइरहन सकिएन । घुसकाण्डमा कर्मचारीका मन्त्री राजीनामा दिन्छन्, विभागीय मन्त्री (भूमिसुधार) मैले खाएको छैन भन्नमै असिनपसिन छन् । यस्तो वेलामा छेउको जिल्ला भक्तपुरमा मन्त्रीले छानेर पठाएका मालपोत प्रमुख हाकाहाकी साढे २४ लाख रकम असुल्छन् । यो उनको मात्रै हिम्मत होला त ? यस्तो काम चुपचाप कति भइरहेको होला, मालपोत र नापीमा ?’