
हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको संस्थापक सेयर हाल कायम मूल्यमै बेच्दा ४१ करोड रुपैयाँभन्दा बढी पुँजीगत लाभकर छली हुने जोखिम देखिएको छ । आर्थिक वर्ष ०८१/८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार हाल हिमालयन बैंकको किताबी मूल्य (खुद सम्पत्ति प्रतिसेयर) १७१.४४ रुपैयाँ छ । तर, हबिब बैंकले आफ्नो २ करोड ८० लाख कित्ता सेयर प्रतिकित्ता ११२.८ रुपैयाँमा बिक्रीमा राखेको छ ।
आर्थिक ऐनले धितोपत्र बोर्डमा सूचीकृत भएका कम्पनीको हकमा सेयर किनबेचमा हुने लाभमा स्वदेशी कम्पनीले लाभ रकमको १० प्रतिशत तिर्नुपर्ने व्यवस्था गरेको छ । विदेशी कम्पनीको हकमा यस्तो लाभको २५ प्रतिशतले लाभकर तिर्नुपर्ने व्यवस्था छ । हिमालयन बैंकको किताबी मूल्यमै उक्त सेयर बिक्री हुन्थ्यो भने हबिबले सरकारलाई ५० करोड रुपैयाँ पुँजीगत लाभकर तिर्नुपथ्र्याे । तर, प्रतिकित्ता ११२.८ रुपैयाँका दरले बिक्री गर्दा आठ करोड ९६ लाख रुपैयाँ मात्रै तिरे पुग्ने देखिएको छ । यसरी हबिब बैंकले ४१ करोड रुपैयाँभन्दा कम पुँजीगत लाभकर तिरेर हिमालयन बैंकको सेयर स्वार्थ समूहलाई बेच्न खोजेको देखिन्छ ।
यसअघि हिमालयन बैंकले हिमालयन रिइन्स्योरेन्सलाई नै प्रतिकित्ता १३० रुपैयाँमा बेच्ने सम्झौता गरिसकेको छ । यही मूल्यमा बिक्री गर्दा पनि हबिबले २१ करोड रुपैयाँ पुँजीगत लाभकर तिर्नुपर्नेछ । तर, हाल कायम दरमा हिमालयन रिइन्स्योरेन्सलाई बिक्री गर्दा यसअघिको सम्झौताअनुसार प्राप्त हुन सक्ने १२ करोड चार लाख रुपैयाँ लाभकर छली हुने जोखिम देखिएको छ ।
नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरीले नेटवर्थभन्दा कम मूल्यमा सेयर खरिद–बिक्री गर्दा पुँजीगत लाभकर छली हुने जोखिम रहने बताए । ‘साधारणतया नेटवर्थभन्दा कम मूल्यमा सेयर खरिद–बिक्री गर्दा पुँजीगत लाभकर छली हुने जोखिम हुन्छ । तर, सञ्चालकको सेयर बिक्री गर्दा सम्बन्धित नियामक निकाय (राष्ट्र बैंक) र नेपाल स्टक एक्सचेन्ज (नेप्से)को भूमिका बढी महत्वपूर्ण हुन्छ । बैंकको सेयर राष्ट्र बैंकबाट अनुमति लिएर बिक्री गर्ने भएकाले उसले कुन हिसाबले मूल्यांकन गर्छ भन्ने विषय महत्वपूर्ण छ,’ उनले भने, ‘नेप्सेले पनि यसमा नेटवर्थभन्दा कम मूल्यमा कारोबार भएको छ कि छैन भनेर हेर्न सक्छ ।’
धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले भने हाल सर्वसाधारणका लागि खुलाउने सार्वजनिक सेयर (आइपिओ, एफपिओ, हकप्रद) का हकमा बोर्डले नेटवर्थलगायतका मापदण्ड निर्धारण गरे पनि संस्थापक सेयर खरिद–बिक्रीमा मापदण्ड निर्धारण नगरिएको बताए । उनले भने, ‘संस्थापक सेयर खरिद–बिक्रीका लागि बजारलाई नै छोडिएको छ । सम्बन्धित नियामक निकाय पनि यसमा बढी जिम्मेवार हुन्छ ।’
सेयर बिक्री गर्दा सबै प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्ने भए पनि हिमालयन रिइन्स्योरेन्सका सञ्चालक समूहले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेप्सेसँग ‘सेटिङ’ गर्दै कार्यतालिका बनाएर कार्यान्वयनमा लगेको छ । जसअनुसार यो समूह आफूले तयार पारेको तालिकाको २५ मध्ये आठवटा चरण पूरा गर्न सफल भइसकेको देखिन्छ ।
गत ३० जेठमा हिमालयन बैंकले हबिब बैंकको स्वामित्वमा रहेको दुई करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखेको थियो । राष्ट्र बैंकले पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनुपर्ने व्यवस्था गरेको छ । तर, सस्तो मूल्य तोकी बिक्रीमा राखिएको यस्तो सेयरमा संस्थापक सेयरधनीको आवेदन नै परेको थिएन । नयाँ पत्रिकामा समाचार छापिएपछि आवेदन दिने समयसीमा तोकिएको अन्तिम दिन बिहीबार बैंकको संस्थापक सेयरधनीका रूपमा दुई कम्पनी र एक व्यक्तिको आवेदन परेको छ । स्रोतका अनुसार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र एक व्यक्तिले आवेदन दिएका छन् ।
यसअघि बैंकका संस्थापक सेयरधनीमध्येको एक कर्मचारी सञ्चय कोष व्यवस्थापनले उक्त सेयर किन्ने इच्छा देखाए पनि कोषको अध्यक्षको रूपमा रहने राजस्वसचिव दिनेश घिमिरेकै दबाबमा निर्णय हुन नसकेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन् ।
सिभिल बैंकसँग मर्ज हुनुअघि ०७६ साल जेठताका पनि हिमालयन बैंकको सेयर लन्डनको कमनवेल्थ डेभलपमेन्ट कर्पाेरेसन (सिडिसी)ले खरिद गर्ने इच्छा देखाएको थियो । यद्यपि, बैंकका सञ्चालकहरूबिच विवाद हुँदा सेयर बिक्री प्रयास असफल भएको थियो । सिडिसीका प्रतिनिधिले तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडा र तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपाललाई पनि भेटेका थिए ।
विवादास्पद् व्यापारी भट्ट र अग्रवालको सेयर हत्याउने रणनीति बाहिरिएपछि हिमालयन बैंकका तीन संस्थापक सेयरधनीले दिए आवेदन
हिमालयन बैंकमा रहेको हबिब बैंकको सेयर सस्तो मूल्यमा हत्याउन हिमालयन रिइन्स्योरेन्स सञ्चालक समूहले तयार पारेको २५बुँदे रणनीतिक तालिका बाहिरिएपछि संस्थापक सेयरका लागि हिमालयन बैंकका तीन संस्थापक सेयरधनीहरूले आवेदन दिएका छन् । सबै संस्थापकलाई सेयर किन्नबाट रोकेर हिमालयन रिइन्स्योरेन्समा लगानी गर्ने मुख्य समूहले सो सेयर हत्याउने यानेजनामा थियो । जसको नेतृत्व विवादास्पद व्यापारी दीपक भट्ट तथा शंकर समूहका सञ्चालक शाहिल अग्रवालले गरिरहेका छन् ।
तर, म्याद सकिने अन्तिम दिन बिहीबार नयाँ पत्रिकामा ‘हिमालयन बैंकको दुई करोड ८० लाख कित्ता सेयर सस्तोमा हत्याउन सेटिङ’ शीर्षकको समाचार सार्वजनिक भएपछि तीन संस्थापक सेयरधनीहरूले आवेदन दिएका छन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र एक व्यक्तिले आवेदन दिएको बैंकका एक सञ्चालकले बताए । यसले नियामक निकायहरूसँगको मिलेमतोमा संस्थापक सञ्चालकहरूबाट सेयर हत्याउन खोज्ने हिमालयन रिइन्स्योरेन्स समूहको प्रपञ्च नै प्रभावित पर्ने ती सञ्चालक बताउँछन् ।
लाभ कम हुने गरी किन सेयर बेच्दै छ हबिब बैंक ?
हाल कायम मूल्यमा सेयर बेच्दा हबिब बैंकले पाउने लाभमै संकुचन आउने देखिन्छ । हबिब बैंकले हिमालयन बैंकमा रहेको दुई करोड ८० लाख १२ हजार चार सय ४७ दशमलव ४५ कित्ता सेयर बिक्री गर्दा ३५ करोड ८५ लाख ५९ हजार तीन सय २७ रुपैयाँ लाभ प्राप्त गर्नेछ । हिमालयन रिइन्स्यारेन्ससँगको सम्झौताअनुसार १३० रुपैयाँ प्रतिकित्तामा बेच्दा ८४ करोड तीन लाख रुपैयाँभन्दा बढी लाभ पाउने अवस्था रहन्थ्यो ।
यसरी कम लाभ लिएर बिक्री गर्नु कर छली गरेर बाँकी रकम हुन्डीमार्फत विदेशमा लैजान खोजेको हुन सक्ने नेपाल स्टक एक्सचेन्जका अधिकारीहरू बताउँछन् । नेप्सेका एक अधिकारीले भने, ‘सम्झौता गरेभन्दा कम मूल्यमा सेयर बिक्री गर्नुको एउटै उद्देश्य कर छलीका लागि हुन सक्छ । यसरी पुँजीगत लाभकर जोगाएर विदेशी हुन्डीमार्फत पैसा लैजाने स्वार्थले कम मूल्यमा किनबेच गर्न खोजिएको हुन सक्छ ।’
सर्वसाधारणलाई महँगोमा बिक्री खुलाएर संस्थापकलाई सस्तोमा बेच्दै
आर्थिक वर्ष ०८१/८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार हिमालयन बैंकको किताबी मूूल्य १७१.४४ रुपैयाँ छ । यो बैंकको खुद सम्पत्ति प्रतिकित्ता मूल्य हो । अर्थात् बैंकको कुल सम्पत्तिबाट कुल दायित्व घटाउँदा खुद सम्पत्ति मूल्य निकालिन्छ । यसले बैंकको वित्तीय स्वास्थ्यलाई जनाउँछ । धितोपत्र बोर्डले सेयर निष्कासनका लागि अनुमति दिँदा किताबी मूल्यलाई पनि आधार बनाएको हुन्छ । तर, हिमालयन बैंकले बुक भ्यालुभन्दा कम मूल्यमै थप सार्वजनिक सेयर निष्कासन (एफपिओ) खुलाइसकेको छ । बिहीबारदेखि हिमालयन बैंकले प्रतिकित्ता १५७ रुपैयाँमा एफपिओ खुलाएको थियो । बुक भ्यालु १७१.४४ रुपैयाँ कायम रहेको र सर्वसाधारणलाई पनि प्रतिकित्ता १५७ रुपैयाँमा एफपिओ खुलाएको बैंकको सेयर संस्थापक सेयरधनीका लागि ११२.८ रुपैयाँका लागि आह्वान गरिनुले हबिबको सेयर बिक्रीमा पुँजीगत लाभकर छली हुने आशंका बढाएको छ । एफपिओका लागि कायम मूल्यलाई आधार मान्दा हाल हबिबले संस्थापक सेयर बिक्री गर्दा ३० करोड ९५ लाख रुपैयाँ कम पुँजीगत लाभकर संकलन हुने देखिन्छ ।
नेटवर्थभन्दा कम मूल्यमा सेयर बिक्री गर्दा करछलीको जोखिम हुन्छ : निरज गिरी, पूर्वकार्यकारी निर्देशक, धितोपत्र बोर्ड
साधारणतया सेयर बिक्री गर्दा नेटवर्थभन्दा कम मूल्यमा सेयर खरिद–बिक्री गर्दा पुँजीगत लाभकर छली हुने जोखिम हुन्छ । तर, यसलाई सञ्चालकको सेयर बिक्री गर्दा सम्बन्धित नियामक निकाय (राष्ट्र बैंक) र नेपाल स्टक एक्सचेन्जको भूमिका बढी महत्वपूर्ण हुन्छ । बैंकको सेयर राष्ट्र बैंकबाट अनुमति लिएर बिक्री गर्ने भएकाले उसले कुन हिसाबले मूल्यांकन गर्छ भन्ने विषय महत्वपूर्ण छ । नेप्सेले पनि यसमा नेटवर्थभन्दा कम मूल्यमा कारोबार भएको छ कि छैन भनेर हेर्न सक्छ ।