मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३१ मंगलबार
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ३१ मंगलबार २२:३३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

महानगरको छात्रवृत्तिका लागि १७ हजार आवेदन, सबैभन्दा धेरै विज्ञान संकायमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ३१ मंगलबार २२:३३:oo

काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आह्वान गरेको आवेदनमा १७ हजार २२९ विद्यार्थीले आवेदन दिएका छन्। 

सबैभन्दा धेरै विज्ञान विषयमा अध्ययनका लागि छात्रवृत्ति परेको छ । शिक्षा विभागका शिक्षा अधिकृत लक्ष्मी पौडेलका अनुसार आवेदन दिने विद्यार्थीहरूमा विज्ञान विषयमा १२ हजार ३३७, व्यवस्थापन विषयमा ४ हजार ४८१, मानविकी विषयमा ३४, शिक्षा विषयमा १०४ र कानुन विषयमा २७३ जनाले आवेदन दिएका छन्।  कुल आवेदनमध्ये   विज्ञान विषय करिब ७१% परेको छ। 

हाल सबै प्राप्त आवेदनहरूको रुजु कार्य तीव्र गतिमा भइरहेको  महानगरले जनाएको छ । यो प्रक्रिया असार ३२ गते बिहानसम्म सम्पन्न हुने र त्यसपछि बाँकी प्रक्रियाहरू पूरा गरी साउन १ गते देखि विद्यार्थीहरूले अनलाइनमार्फत प्रवेश पत्र डाउनलोड गर्न सक्नेछन् ।  

छात्रवृत्ति परीक्षा साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न सोधिनेछ । सबै प्रश्नहरू बहुवैकल्पिक प्रकारका हुनेछन् । परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अंक प्राप्त गर्नुपर्नेछ र गलत उत्तरका लागि नकारात्मक अंकन (नेगेटिभ मार्किङ) हुँदैन । 

परीक्षापछि मेरिट सूचीका आधारमा छात्रवृत्ति प्रदान गरिने महानगरपालिकाले जनाएको छ । यो छात्रवृत्ति कार्यक्रमले आर्थिक रूपमा विपन्न तर जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय शिक्षाको अन्तिम तह (कक्षा ११, १२) छानेको शिक्षण सस्थाबाट प्राप्त गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ । काठमाडौं महानगरपालिकाले यो कार्यक्रममार्फत गुणस्तरीय शिक्षालाई पहुँचयोग्य बनाउन र विद्यार्थीहरूको शैक्षिक भविष्यलाई उज्ज्वल बनाउन प्रयास गरिरहेको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीले जानकारी  दिए। 

१२ कक्षासम्म स्कुल तथा कलेजले १० प्रतिशत छात्रवृत्रि अनिवार्य रुपमा दिनुपर्ने भएपनि अन्यत्र पहुँचका आधारमा केहीले मात्र पाउने गरेका छन्। काठमाडौं महानगरपालिकाले परीक्षामार्फत निष्पक्ष रुपमा यस्तो छात्रवृत्ति दिन थालेको हो ।