
परिश्रम र लगनशील भएर काम गर्ने हो भने आफ्नो परिवारसहित अन्यलाई पनि रोजगार दिन सकिने उदाहरण सल्यानका नर्सरी व्यवसायीले दिएका छन् । सल्यान बागचौर नगरपालिकाका–९ डाँगीगाउँका युवाले नर्सरी सञ्चालन गरी व्यावसायिक उत्पादन गर्दै आइरहेका छन् ।
गोलज्याण्ड कृषि तथा पशुपछी फर्म दर्ता गरी व्यावसायिक नर्सरी सञ्चालन गर्दै आएका भएका २६ वर्षीय निरज डाँगीले एक सिजनमा मात्रै ३५ लाख बराबरको कारोबार गरेका छन् । उनले भने, ‘यो सिजनमा मात्रै ३५ लाखको कारोबार भयो । १० लाख जति खर्च भयो होला बाँकी २५ लाख चोखो आम्दानी हो ।’
टिमुर, कागती र सुन्तलाको नर्सरी सञ्चालन गर्दै आएका डाँगीले कृषिलाई सम्मानित र मर्यादिन पेसाका रुपमा लिन सके आर्थिक रुपमा सम्पन्न बन्न सकिने बताए । नेपाल आर्मीको जागिर छोडेर व्यावसायिक नर्सरी खेतीमा लागेको उनको भनाइ छ । कृषि जेटिए पढेकाले कृषि गर्न सहज भएको डाँगीले बताए ।
३० रुपैयाँका दरले ४३ हजार टिमुरका बिरुवा, २० रुपैयाँका दरले ५ हजार बिजु कागती, ३० रुपैयाँका दरले १३ हजार बिजु सुन्तला, ७५ रुपैयाँका दरले ५२ सय कलमी कागती, र ७० रुपैयाँका दरले २० हजार कलमी सुन्तला बिक्री गरेको उनले बताए ।
डाँगीगाउँकै २८ वर्षीय प्रदिपकुमार डाँगीले पनि एकै सिजनमा ४५ लाख बराबरको नर्सरी बिक्री गरेका छन् । सबै खर्च कटाए २२ लाख आम्दानी भएको प्रदिपको भनाइ छ । उनले भने, ‘गतवर्ष सबै खर्च कटाएर १३ लाख आम्दानी भएको थियो । यस वर्ष लागत बढी लाग्यो झन्डै १८ लाख बराबरको खर्च लाग्यो होला तर पनि २२ लाख आम्दानी भयो ।’
यो वर्ष बिरुवाले राम्रो मूल्य पाएको बताउँदै उनले स्थिर मूल्य नहुँदा किसानले समस्या भोग्नु परेको बताए । उनले भने, ‘गत वर्ष १५ रुपैयाँका दरले पनि विरुवा बिक्री गर्न गाह्रो भयो यस वर्ष ७० देखि ७५ रुपैयाँ प्रति बिरुवा बिक्री भयो । बिरुवाको निश्चित मूल्य नहुँदा कहिले घाटा सहनु पर्छ कहिले नाफा हुन्छ ।’
यस सिजनमा ५५ रुपैयाँका दरले प्रतिबिरुवा पोलिव्याग टिमुर २५ हजार, ३० रुपैयाँका दरले खुल्ला २ हजार, २० रुपैयाँका दरले बिजु कागती पाँच हजार, पोलिब्याग बिजु कागती तीन हजार, कागती कलमी दुई हजार, सुन्तला कलमी १३ हजार, सुन्तला बिजु २० हजार, चिउरी एक हजार, बुद्धचित्त २०० बिक्री भएको डाँगीको भनाइ छ ।
यो वर्ष बजारको कुनै समस्या नभएको उनको भनाइ छ । बागलुङ, गुल्मी, स्याङ्जा, अर्घाखाँची, पाल्पा, दैलेख, जाजरकोट, कालिकोट लगायतका जिल्लामा बिरुवा पुगेको कृषक प्रदिपले बताए । अर्को वर्षका लागि ३५ हजार ग्राफ्टिङ नगरिएका बिरुवा रहेको डाँगीको भनाइ छ ।