
मंगलसेनमा रहेको सुरक्षित आवासगृह (सेफ हाउस)मा नेपाली सेनाको गोरख बक्स गणले सेनिटरी प्याड डिस्पोजल मेसिन वितरण गरेको छ । सेफ हाउसमा आउने हिंसापीडित महिलालाई लक्षित गरी मेसिन वितरण गरिएको हो।
गोरख बक्स गणका गणपति प्रमुख सेनानी संगम अधिकारीका अनुसार प्याड डिस्पोजल मेसिन प्रयोगले सेफ हाउसको फोहोर व्यवस्थापनमा मद्दत पुग्ने र विभिन्न हिंसाबाट पीडित भएर आवासगृहमा वास बस्न आउने महिलालाई सुविधा हुनेछ। गणकै आन्तरिक स्रोत, साधन र जनशक्तिमार्फत निर्माण गरिएको यो मेसिन हस्तान्तरणका क्रममा महिला सैनिकले यसको प्रयोग गर्ने विधिबारे जानकारी गराएका थिए। अमल्दार रविना चौधरी र सिपाही पुष्पाकुमारी रावलले सेनिटरी प्याड डिस्पोज गर्ने तयारी र व्यवस्थापनबारे अभ्यास गरेर देखाए।