मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २८ शनिबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार २८ शनिबार o७:३२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रतिक्रिया माग्दा मन्त्री राजकुमार गुप्ताले सुरुमा भने– आज नछाप्नूस्, भोलि भेटेर कुरा गरौँ, पछि भने, ‘त्यो अडियोको आवाज मेरो होइन’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २८ शनिबार o७:३२:oo

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ७८ लाख घुस ‘डिल’ गरेका छन् । उनले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी परेको छ । मन्त्री गुप्ताले भूमि आयोग कास्कीको अध्यक्ष नियुक्त गरिदिन बिचौलियासँग २५ लाख घुसको डिल गरेको छुट्टै अडियो पनि सार्वजनिक भएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग नयाँ पत्रिकाले लिएको प्रतिक्रिया

नयाँ पत्रिका : मन्त्रीज्यूले घुस डिल गरेको अडियो प्राप्त भएको छ, त्यसबारे तपाईंको प्रतिक्रिया लिन फोन गरेको हो, के भन्नुहुन्छ ?

मन्त्री गुप्ता : के भो त...

नयाँ पत्रिका : अडियोमा तपाईंकै आवाज सुनिन्छ, के हो यसको सत्यता ?

मन्त्री गुप्ता : हैन आज नछाप्नूस्, भोलि भेटेर कुरा गरौँ । 

नयाँ पत्रिका : हुन्छ, भोलि भेटौँला मन्त्रीज्यू, तर अहिलेचाहिँ आजको समाचारका लागि तपाईंको प्रतिक्रिया लिन खोजेको...

मन्त्री गुप्ता : भोलि दिन्छु (प्रतिक्रिया) नि म । भोलि कति बजे कहाँ भेट्ने ? कता आऊँ ?

नयाँ पत्रिका : भोलि थप समाचारका लागि भेटौँला, आजको समाचारमा प्रतिक्रिया भएन भने फेरि ‘मेरो कुरा राख्नुभएन’ भन्नुहोला, त्यसैले थोरै भए पनि आफ्ना कुरा भनिदिनुभयो भने ठिक हुन्थ्यो ।

मन्त्री गुप्ता : त्यो अडियो गलत हो, सही होइन । स्वर मेरो होइन, मैले कुनै त्यस्तो काम गर्‍या पनि छैन, तथ्यले बताउँछ । मेरो संलग्नता केही छैन । 

नयाँ पत्रिका : तर, अडियोमा त तपाईंकै आवाज सुनिन्छ नि ?

मन्त्री गुप्ता : त्यो होइन, प्रमाणका साथ डिटेलमा म भोलि बताउँछु नि । बरु कहाँ भेटौँ, तपाईंकै अफिसमा आउँछु नि ।