
नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले मन्त्रीहरूले करोडौँको डिल गर्न थालेकाले प्रधानमन्त्रीले एक रुपैयाँ घुस खान्नँ भनेको भन्दै व्यंग्य गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा चौधरीले सरकार बनेको एक वर्षमै भुटानी शरणार्थीको विषय सुन्नुपरेको बताए। उक्त प्रकरणमा नागरिकसँग करोडौँ असुलेको उल्लेख गर्दै चौधरीले भने, ‘गिरिबन्धुको कुरा पनि करोडकै थियो, गभर्नर नियुक्तिको विषयमा पनि उस्तै अंक सुन्यौँ। प्रहरीमा भएको बढुवा–सरुवा होस् वा अन्य कुनै नियुक्तिमा घुस लिएको र दिएको चर्चा हुन्छ।’
हजार र सयको अंक सुनिन छाडेको भन्दै चौधरीले प्रधानमन्त्रीको भनाइलाई आफूहरूले गलत रूपमा बुझेको बताए। उनले भने, ‘हजार र सयको अंक सुनिनै छोडिएको छ। एक रुपैयाँ त झन् लोप नै भइसकेको छ। यस्तो अवस्थामा एक रुपैयाँ घुस खान्नँ र खान पनि दिन्नँ भनेको सही नै रहेछ। कुरा नबुझ्नु हाम्रो कमजोरी हो।’
सुशासन, संविधान संशोधन र स्थायित्वको नारा घन्काउँदै बनेको सरकारले लय गुमाइसकेको उनको टिप्पणी छ। संविधान संशोधनको सहमतिसहित बनेको सरकारले उक्त विषय बिर्सिएको उल्लेख गर्दै चौधरीले भने, ‘आज न सुर छ, न ताल छ, न लय नै । सबै हराएको छ। संविधान संशोधनको कुरा त झन् डाइनोसरजस्तै लोप भइसकेको छ।’