
यहाँको घरपझोङ गाउँपालिका २ र १ जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सम्पन्न भएको छ। दुई वर्षमा बेलिब्रिज निर्माण सम्पन्न भएको हो । बेलिब्रिज निर्माणका लागि संघीय विशेष अनुदानको रु. एक करोड ९७ लाख र घरपझोङ गाउँपालिकाको रु. ९० लाख लागत साझेदारी गरी जम्मा रु. दुई करोड ८७ लाख २६ हजारमा बेलिब्रिज निर्माण गरिएको गाउँपालिकाका सबइन्जिनियर राजन कँडेलले जानकारी दिए।
सो बेलिब्रिजको लम्बाइ ४२ मिटर र चौडाइ ४.२० मिटर छ । बेलिब्रिज निर्माणका लागि रविचक्र निर्माण सेवाले ठेक्का लिएको थियो। राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक राजमार्गनजिकै भएर पनि कालीगण्डकीपारि ओझेलमा परेका घरपझोङ– १ छैरो र चिमाङ गाउँका स्थानीय किसानलाई बेलिब्रिज निर्माणले राहत पुगेको सो वडाका वडाध्यक्ष आसबहादुर थकालीले उल्लेख गरे।