
महालक्ष्मी विकास बैंकले पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले फोन पेसँगको साझेदारीमा उक्त कार्ड सञ्चालनमा ल्याएको हो । योसँगै ग्राहकले बैंकको मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’मा रहेको फोन पे क्रेडिट कार्डमा गई फोन पे क्युआर मर्चेन्टमार्फत भुक्तानी गर्न सक्नेछन् ।
४५ दिनसम्म ब्याजरहित तथा लचिलो किस्ताबन्दी सुविधा यस भर्चुअल क्रेडिट कार्डमा उपलब्ध हुने बैंकले जनाएको छ । यो सेवाअन्तर्गत हाल प्रचलनमा रहेको भौतिक क्रेडिट कार्डको आवश्यकता नपर्ने भएकाले कार्ड बोकेर हिँड्नुपर्ने झन्झटको अन्त्य हुने बताइएको छ ।
सेवा थालनीसँगै भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले पाँच सयसम्म क्यासब्याक पाउनेछन् । यो सुविधा थप गरेसँगै बैंकको डिजिटल बैंकिङ सेवा ग्राहकमैत्री बन्ने बैंकले जनाएको छ ।