
नेपालको अग्रणी हाइजिन तथा शिशु डायपर निर्माता कम्पनी ब्रजेश्वरी इन्डस्ट्रिज प्रालिले भारतीय मानक ब्युरो (बिआइएस)को प्रमाणपत्र प्राप्त गरेको छ। यससँगै ब्रजेश्वरी इन्डस्ट्रिज यो उपलब्धि हासिल गर्ने पहिलो नेपाली बेबी हाइजिन निर्माता कम्पनी बनेको छ।
ब्रजेश्वरी समूहका अध्यक्ष एसपी ढकालद्वारा २०१९ मा स्थापना गरिएको यस कम्पनीले नेपालमा बेबी हाइजिन उद्योगमा ठुलो परिवर्तन ल्याएको छ। सुरुवातमा करिब ६० करोड रुपैयाँको लगानीबाट सुरु भएको कम्पनीले निरन्तर आधुनिक प्रविधि, उच्च गुणस्तरका कच्चा पदार्थ र विश्वस्तरीय उत्पादन विधिमा लगानी गर्दै आएको छ।
‘न्यानो’ र ‘टेन्डर टच’ ब्रान्डमार्फत ब्रजेश्वरी इन्डस्ट्रिज नेपाली बजारमा विश्वासिलो शिशु डायपर र हाइजिन उत्पादनहरूको रूपमा स्थापित भएको छ। कम्पनीले सन् २०२३ र २०२४ मा नेपालबाट शिशु डायपर निर्यातमा सबैभन्दा ठुलो योगदान पुर्याएकोमा सम्मानसमेत प्राप्त गरेको छ।
भारत सरकारले आयातित बेबी हाइजिन उत्पादनमा बिआइएस प्रमाणपत्र अनिवार्य गरेपछि विगत ६ महिनादेखि निर्यात प्रक्रिया रोकिएको थियो। बिआइएसका कडा मापदण्ड र उच्च अस्वीकृति दर हुँदाहुँदै पनि ब्रजेश्वरीले ती सबै प्रक्रिया छिटो र प्रभावकारी रूपमा पार गरी प्रमाणपत्र प्राप्त गर्न सफल भएको जनाएको छ।
‘कडा परीक्षण र सम्पूर्ण नियम पालना गरिसकेपछि हामीले बिआइएस प्रमाणपत्र प्राप्त गरेका छौँ भन्ने कुरामा हामी गौरवान्वित छौँ। यो हाम्रो कम्पनीका लागि मात्र नभई सम्पूर्ण नेपाली उत्पादन उद्योगका लागि नयाँ अध्याय हो,’ अध्यक्ष ढकालले भने। अब बिआइएस प्रमाणपत्र प्राप्त भएपछि ब्रजेश्वरी इन्डस्ट्रिजले आगामी वर्ष भारतमा आफ्नो निर्यात ५० करोड रुपैयाँभन्दा बढीले वृद्धि गर्ने अपेक्षा जनाएको छ।
कम्पनी रामग्राम, परासीमा अवस्थित रहेकोले भारतीय आयातकर्ताहरूका लागि भौगोलिक रूपमा निकै लाभदायक छ। यो स्थान उत्तर प्रदेशको प्रमुख सीमा सहर सुनौलीबाट मात्र १२ किलोमिटर टाढा पर्छ। नेपाल–भारत व्यापार सन्धिअनुसार भारत निर्यात गरिने नेपाली डायपरमा कुनै भन्सार लाग्दैन, जसले दुवै पक्षका लागि लागत कम गर्न मद्दत गर्छ।
हाल १०० भन्दा बढी दक्ष जनशक्ति रोजगारीमा संलग्न रहेको कम्पनीले बढ्दो मागलाई ध्यानमा राख्दै उत्पादन क्षमता थप विस्तार गर्ने योजना बनाएको जनाएको छ। साथै, ब्रजेश्वरी इन्डस्ट्रिजले भारतीय कम्पनीहरूलाई सस्तो र गुणस्तरीय ओइएम तथा ठेक्का उत्पादन सेवा प्रदान गर्नसमेत स्वागत गरेको छ।