१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १६ सोमबार
  • Monday, 30 June, 2025
रमेश सुनार कालिकोट
२o८२ असार १६ सोमबार १७:३८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सिँचाइ कुलो निर्माणले तिलाका स्थानीय हर्षित

Read Time : > 1 मिनेट
रमेश सुनार, कालिकोट
नयाँ पत्रिका
२o८२ असार १६ सोमबार १७:३८:oo

तिला गाउँपालिका–७ स्थित झुसेअरादेखि बल्लाबाटा हुँदै लुलेसम्मको सिँचाइ कुलो निर्माण सम्पन्न भएसँगै स्थानीयवासी अत्यन्त हर्षित भएका छन्।

अघिल्लो वर्षसम्म बसौँदेखि काठको पँदालो प्रयोग गरेर खेतमा सिँचाइ गर्दै आएका स्थानीय बासिन्दाले यसपटक गाउँपालिका र बेलायती राजदूतावासको आर्थिक सहयोगमा सञ्चालित 'स्थानीय पूर्वाधार सहयोग कार्यक्रम' अन्तर्गत ३६० मिटर पक्की कुलो निर्माण भएपछि दीर्घकालीन समाधान पाएका हुन्।

वडाध्यक्ष खम्बीलाल रोकायाले कुलो निर्माणपछि हरेक वर्ष काठको पँदालो परिवर्तन गर्नुपर्ने झन्झट हट्नुका साथै जंगलको फडानी रोकिनेमा स्थानीयले खुसी व्यक्त गरेको जानकारी दिए।
उता, विगतमा रोजगारीका लागि भारत जानुपर्ने बाध्यता रहेका युवाहरूले यसपटक गाउँमै कुलो निर्माणमा संलग्न भई आम्दानी गर्न पाएका छन्। कार्यक्रमअन्तर्गत कामदारको छनोट गरी उनीहरूको बैंक खातामार्फत पारदर्शी रूपमा ज्याला भुक्तानी गरिने उपभोक्ता समितिका अध्यक्ष आइते रोकायाले जानकारी दिए। 

यसरी कार्यान्वयन गरिएको प्रणालीले सुशासनमा टेवा पुर्‍याएको उल्लेख गर्दै महिला कामदार बाँचु रोकायाले पहिले नगदमा ज्याला दिइँदा ढुक्क भएर काम गर्न नसकिएको अनुभव सुनाइन्। तर, अहिले सबैको बैंक खातामार्फत पारिश्रमिक भुक्तानी हुने भएकाले ढुक्कसाथ काम गर्न सकिएको बताइन्। साथै, महिला र पुरुष सबैलाई समान ज्याला दिने विश्वस्त रहेको र कार्यस्थलमा प्राथमिक उपचारको व्यवस्था पनि सुनिश्चित गरिएको जानकारी दिइन्। 

वडा प्राविधिक रामु श्रेष्ठका अनुसार, कुल ३० लाख २६ हजार रुपैयाँको लागतमा निर्माण गरिएको यो कुलोबाट ४६ घरधुरीले प्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरे भने ८६ घरधुरीले यस आयोजनाबाट लाभ उठाउनेछन् भने ९ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुग्नेछ। स्थानीय अगुवा कृषकहरूले यस क्षेत्रमा अब वार्षिक दुई बालीबाट तीन बाली अन्न उत्पादन गर्न सक्षम हुने विश्वास व्यक्त गरेका छन्। सिँचाइ सुविधाले उत्पादनमा वृद्धिको साथै करेसाबारीमा सागपात, टमाटरजस्ता तरकारी उत्पादन गरी पोषणमा समेत सकारात्मक प्रभाव पार्ने जानकारी दिएका छन्।