
झापाको गौरीगन्ज गाउँपालिका– १ स्थित धानगाडामा गत वर्ष असोजमा तटबन्ध भत्काउँदै कन्काई नदी बस्ती पस्यो । सात सय मिटर तटबन्ध बगाएपछि तीन सय घरपरिवार जोखिममा परे । असोजमा भत्काएको तटबन्ध निर्माणको काम बल्ल सुरु भएको छ ।
बाढीले सात सय मिटर बगाए पनि जनताको तटबन्ध कार्यक्रम झापाले ४८६ मिटर तटबन्धका लागि मात्र गत ५ वैशाखमा डिजे–भुवनेश्वर जेभीसँग ठेक्का सम्झौता गरेको छ । लागत तीन करोड ८१ लाख छ । ठेक्का लागेको ३८६ मिटरमा हालसम्म ६० प्रतिशत काम भएको जनताको तटबन्ध कार्यक्रम झापाका प्रमुख विजयकुमार रेग्मीले बताए । ‘काम गर्दागर्दै बाढी आयो भने त बर्खाअघि काम सक्न मुस्किल हुन्छ । तर, असारसम्म सक्ने गरी लागेका छौँ,’ उनले भने।
असारसँगै वर्षा हुन थालेपछि भत्किएको तटबन्ध निर्माण नहुँदा गाउँमा बाढी पस्ने जोखिम बढेको गौरीगन्ज– १ चौरीबस्तीका देवेन्द्र खरेलले बताए । ‘असोजमा नै तटबन्ध भत्काएर गाउँमा नदी पस्यो । हिउँदभरि काम गरेनन् । वैशाख लागेपछि तटबन्ध बनाउने काम सुरु गरे,’ उनले भने, ‘बर्खाअगाडि काम सकिने छाँटकाँट छैन । जेठमा आएको सानो पानीमा नै नदी गाउँमा पस्यो । अब ठुलो पानी आउँदा के हुन्छ ?’ गौरीगन्ज– १ हुक्लाबारीकी राजदेवी महतोले यसपटक धेरै पानी पर्ने भनिएकाले बाढी गाउँ पस्ने चिन्ताले सताएको बताइन् ।
मनसुनको सुरुवातमै १६ जेठमा माई नदीको बाढी गाउँमा पस्दा पाकेको चैतेधान र मकैमा क्षति पुगेको थियो । तटबन्धसँगै हुलाकी राजमार्गमा समेत केही क्षति पु¥याएको छ । मौसम पूर्वानुमान महाशाखाले यसपटक बर्खामा औसतभन्दा धेरै वर्षा हुने सम्भावना रहेको जनाएको छ । गत वर्ष बगाएको सात सय मिटर तटबन्ध बाढी आउनुअगावै निर्माण नभएमा गौरीगन्ज– १ का होक्कलबारी, देवीगाडा, धानगाडा, चौरीबस्तीका करिब तीन सय घर प्रभावित हुने गौरीगन्ज– १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले बताए । ‘हाम्रो क्षेत्र बाढीबाट अत्यधिक प्रभावित क्षेत्र हो । त्यसमाथि गत असोजको बाढीले कन्काईको बाँध भत्किएपछि झनै खतरा बढेको छ,’ उनले भने, ‘यस वर्ष काम सुरु भएको छ । हामीले निर्माण व्यवसायीलाई समयमा सक्न दबाब पनि दिइरहेका छौँ । बाढी आउनुअघि नै काम सकिएन भने बस्ती डुब्ने खतरा छ ।’
पाँच नदीमा १६ वर्षमा १२० किलोमिटर तटबन्ध
जनताको तटबन्ध कार्यक्रम झापाले पाँचवटा नदी नियन्त्रणको काम गर्दै आएको छ । झापाका ठुला नदी मेची, बिरिङ, कन्काई, कमल, रतुवा र मावा नदी नियन्त्रण यसको कार्यक्षेत्र पर्छ । यी पाँच नदीमा ३०३ किलोमिटर तटबन्ध गर्न सके मात्र झापा बाढीबाट सुरक्षित हुने जनताको तटबन्ध कार्यक्रम झापाले जनाएको छ । यसका लागि १७ अर्ब ६१ करोड बजेट लाग्ने अनुमानित डिपिआर तयार परिएको छ । तर, हालसम्म ३८ प्रतिशत मात्र काम भएको छ ।
यी पाँचवटा नदीमा १२० किलोमिटर मात्र तटबन्ध भएको जनताको तटबन्ध कार्यक्रम झापाका प्रमुख रेग्मीले बताए । १२० किलोमिटर तटबन्ध गर्न १६ वर्ष लागेको उनको भनाइ छ । यसका लागि तीन अर्ब ८९ करोड खर्च भएको प्रमुख रेग्मीले बताए । ‘झापाका पाँच नदीमा डिपिआरअनुसार तटबन्ध निर्माण गर्न सकेमा मात्र झापा बाढीबाट सुरक्षित हुन्छ,’ उनले भने, ‘तर, पर्याप्त बजेट आउँदैन । आएको बजेटले संवेदनशीलताको आधारमा प्राथमिकता छुट्याएर हामीले काम गरिरहेका छौँ।’