
इजरायलले इरानमाथि गरेको निरन्तर हवाई आक्रमणले तेहरानका धेरै रणनीतिक क्षेत्र निसानामा परिसकेका छन् । सतहमा रहेका केही इरानी आणविक संयन्त्रका भवन पनि ध्वस्त भएका छन् । तर, इरानको सबैभन्दा महत्वपूर्ण र सुरक्षित आणविक अनुसन्धान केन्द्र ‘फोर्दो इन्धन प्रशोधन संयन्त्र’ भने अझै पनि सुरक्षित नै छ ।
तेहरानबाट लगभग ९५ किलोमिटर दक्षिण–पश्चिममा कोम सहरनजिकैको पहाडभित्र छ, यो संयन्त्र । सन् २००६ मा निर्माण सुरु भएर सन् २००९ देखि सञ्चालनमा आएको विश्वास गरिने यस संयन्त्रको अस्तित्व त्यही वर्ष तेहरानले सार्वजनिक रूपमा स्विकारेको थियो । जमिनको सतहबाट करिब ८० मिटरको गहिराइमा रहेको विश्वास गरिने यो संयन्त्रलाई सतह–देखि हावामा प्रहार गर्ने रुसी मिसाइल प्रणालीले सुरक्षा दिँदै आएको छ । तथापि, ती वायु प्रतिरक्षा प्रणाली सम्भवतः पछिल्लो इजरायली आक्रमणमा नष्ट भएको मानिन्छ ।
गहिराइमा रहेको भूमिगत संयन्त्रलाई नष्ट गर्न परम्परागत हतियारभन्दा धेरै शक्तिशाली बंकर–बस्टर (बंकर भत्काउने) बमहरू आवश्यक पर्छ । तर, यस्तो बम इजरायलसँग छैन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैका दिनमा इजरायललाई फोर्दो इन्धन प्रशोधन संयन्त्र नष्ट पार्न इजरायललाई सघाउनेबारे विचार गरिरहेको संकेत गरेका छन् । यसै सन्दर्भमा उनले जुन १७ मा इरानसँग ‘धैर्य टुट्दै गइरहेको’ चेतावनीसमेत दिएका थिए ।
इरानको फोर्दो इन्धन प्रशोधन संयन्त्र रहेको बंकर नष्ट पार्ने क्षमता विश्वमा अहिले एक मात्र बममा रहेको बताइन्छ । ‘बंकर बस्टर (बंकर भत्काउने)’ बमसमेत भनेर चिनिने यो बम हो, अमरिकी वायु सेनासँग रहेको जिबियू–५७ मासिव अर्डनेन्स पेनिट्रेटर (एमओपी) । ‘जिबियू–५७ एमओपी’ १३ टन तौल भएको विशाल हतियार हो । जबकि, ठुला आकारमा अन्य परम्परागत बम बस्टर बम पनि एक टनभन्दा ठुला हुँदैनन् । विशाल तौल भएकै कारण यसलाई प्रहार गर्ने क्षमता अहिले अमेरिकाको बी–२ स्टिल्थ बमवर्षकसँग मात्र छ । बी–२ स्टिल्थले पनि एकपटकमा दुईवटा मात्र जिबियू–५७ एमओपी बोक्न सक्छ ।
बस्टर बमलाई निकै उचाइबाट खसालिन्छ । उचाइबाट झर्दाको उच्च बलले जमिनमा ठोक्किएपछि यो बाहिरको चट्टानलाई तोडेर भित्रसम्म पस्न सक्छ । सानो क्षेत्रमा बल केन्द्रित होस् भनेर यसको चौँडाइ तौलको तुलनामा साँघुरो राखिएको छ । यसको विशाल भार मुख्यतः यसको बाक्लो स्टिलको आवरणका कारण भएको हो । बमको कुल तौलको २० प्रतिशत भाग मात्र विस्फोटक पदार्थ हुन्छ । आवरणमा प्रयोग गरिएको स्टिल एक विशेष अति सघन मिश्रित धातु हो, जसलाई ‘एग्लिन स्टिल’ भनिन्छ (यसै बमका लागि विकास गरिएको यस मिश्रित धातुको नाम निर्माणस्थल फ्लोरिडास्थित वायुसेना आधारको नाममा राखिएको हो) ।
पहिलोपटक सन् २००७ मा परीक्षण गरिएको जिबियू–५७ एमओपी मानक कंक्रिटको ६० मिटरभित्रसम्म छिर्न सक्छ । यसको डिजाइनमा धेरैपटक स्तरोन्नतिपछि हालको अवस्थामा ल्याइएको हो । पहिलो ब्याचमा कम्तीमा २० वटा मात्र बम तयार पारिएको मानिएको छ । साना खालका बंकर भत्काउने बममा जस्तै एमओपीमा पनि रिक्त भाग चिन्न सक्ने ‘फ्युज’ जडान गरिएको हुन्छ । त्यसैले गर्दा यो ठोस चट्टानबाट खाली भागमा पुगेपछि मात्र विस्फोट हुन्छ । तर, बंकरमा धेरै तह हुन सक्छन् । त्यसैले यस बमको फ्युजलाई तेस्रो तहको भूमिगत रिक्त भागमा पुगेपछि मात्र विस्फोट हुने गरी प्रोग्राम गर्न सकिन्छ । अधिकतम क्षति पुर्याउन यो उपाय चालिएको हो ।
सन् २००३ को इराक आक्रमणको समयमा पुराना बंकर–बस्टर बमहरूले इराकी बंकरमा क्षति पुर्याउन नसकेपछि अमेरिकी वायुसेनाले जिबियू–५७ एमओपी विकास सुरु गरेको थियो । एमओपी बनाउँदा यसलाई इरान र उत्तर कोरियामा हुन सक्ने थप गहिरो र कडा बंकरलाई तोड्ने उद्देश्यले बनाइएको थियो । तथापि, बंकर–बस्टिङ बम जति नै ठुलो भए पनि यसका सीमा हुन्छन् ।
जिबियू–५७ एमओपीले ६० मिटरभन्दा बढी मानक कंक्रिट भेद्न सक्छ । मानक कंक्रिटले पाँच हजार पाउन्ड प्रतिवर्गइन्च(पिएसआई) दबाब सहन सक्छ । यदि कंक्रिटको दबाब सहने गरी बनाइयो भने बमको भेदन शक्ति घट्छ । जस्तो कंक्रिटको दबाब सहने क्षमता दोब्बर बनाउँदा जिबियू–५७ एमओपी आठ मिटरभित्रसम्म मात्र छिर्न सक्छ । हालैका वर्षमा इरानले ‘अल्ट्रा हाई–पर्फरमेन्ट कंक्रिट (युएचपिसी)’को क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ । यसले ३० हजार पिएआई वा सोभन्दा बढी शक्ति भएको कंक्रिट सामग्री उत्पादन गरेर देखाएको छ ।
पेन्टागन पनि युएचपिसीले खडा गरेको चुनौतीबारे राम्ररी अवगत छ । सन् २०१४ सम्ममा उसले बमको स्तरोन्नतिका लागि भन्दै परीक्षणका लागि ‘एग्लिन हाई–स्ट्रेन्थ कंक्रिट’ विकास गरेको थियो । तथापि, यसले समस्या समाधान गर्यो भन्ने होइन । सन् २०२१ मा ‘एयरोस्पेस एन्ड डिफेन्स टेक्नोलोजी’ नामक पत्रिकामा एक लेख लेख्दै क्यानेडियन प्रतिरक्षा कम्पनी ‘एड्भान्स्ड मटेरियल्स डेभलपमेन्ट’का ग्रेगरी वारतानोभले एग्लिन स्टिलबाट बनेका बमहरू युएचपिसी क्षमताका कंक्रिट भेद्न पर्याप्त बलियो नहुने दाबी गरेका थिए । इरानी कंक्रिट कति बलियो तथा बाक्लो छ र अमेरिकाको बम कति परिस्कृत छ भन्ने दुई कुराले यसले सफलता र असफलतामा भिन्नता ल्याउन सक्छ ।
एमओपीलाई प्रभावकारी बनाउन अन्य धेरै कुरा मिल्नुपर्छ । अमेरिकाका अन्य गाइडेड (निर्देशित) बमहरूजस्तै यो पनि जिपिएस उपग्रहबाट मार्गनिर्देशित हुन्छ । हुन त सैन्य जिपिएस ‘जाम’ नहुने प्रविधि मानिन्छ, तर युक्रेनमा अमेरिकाले पठाएका बम सजिलै रुसी प्रविधिबाट जामिङ भएको पाइएको छ । सिग्नल जाम हुँदा केही अवस्थामा बमको सटिक निसानामा मार हान्ने क्षमतामा २० मिटरदेखि एक हजार २०० मिटरसम्म फरक परेको थियो ।
र, यदि बमले बंकरको कंक्रिट तोड्न सक्यो भने पनि लक्ष्यमा सटिक प्रहार होला भनेर ठोकुवा गर्न सकिँदैन । प्रभावकारिता बढाउन एकपछि अर्को जिबियू–५७ एमओपी वा मुख्य बम प्रहार गर्नुअघि अन्य परम्परागत बम प्रयोग गर्ने विकल्पमा बहस भइरहेको अमेरिकी रक्षा मन्त्रालयले संकेत गरेको छ । तर, यसले पनि उद्देश्य सफल हुनेमा अमेरिका ढुक्क छैन । जस्तो केही दिनअघि ट्रम्पसहित बसेको सुरक्षा बैठकमा गरिएको ब्रिफिङमा धेरै जिबियू–५७ प्रयोग गर्दा पनि फोर्दो संयन्त्रको इन्धन प्रशोधन क्षेत्र नष्ट हुने शंका व्यक्त गरियो । त्यस अवस्थामा बढीमा बंकर पुरिने बताइएको थियो । त्यसो भयो भने इरानले पुनः माटो हटाएर काम सुरु गर्ने आशंका छ। यसले इन्धन प्रशोधनको कामलाई ६ महिना वा एक वर्षले ढिलो बनाउने काम मात्र गर्छ ।
इकोनोमिस्टबाट