
गएराती परेको अविरल वर्षातका कारण दोरम्वा शैलुङ्ग गाउँपालिका–३ टोकरपुरस्थित चिहान खोला नजिकै पहिरो जाँदा एक घर पूर्णरुपमा क्षती पुगेको छ भने चार घर उच्च जोखिममा रहेका छन्। पहिरोले स्थानीय झगरसिंह बसेलको ढुंगामाटोले बनेको कच्ची घर पूर्णरुपमा क्षति पुगेको छ भने चेली बसेलको चौपाया बाँध्ने गोठ पहिरोले पुरिँदा एक गाई र बाछो मरेको छ।
उक्त स्थानमा १२ घरधुरीको बसाबास छ । जसमध्ये हरिकृष्ण वसेल, बुद्धिमान बसेल र चिना बसेलको घर उच्च जोखिममा रहेकाले तत्काल अन्यत्र सार्नुपर्ने अवस्था रहेको दोरम्वा शैलुङ गाउँपालिका–३ टोकरपुरका वडा अध्यक्ष सन्तलाल थापामगरले जानकारी दिए।
खोला नजिकै रहेको बस्तीको घर माथिवाट पहिरो झरेपछि तत्काल गाउँपालिकाका जनप्रतिनिधिहरु र इलाका प्रहरी कार्यालय टोकरपुरबाट प्रहरी सहितको टोली उद्धारको लागि सोमबार विहानै घटनास्थल पुगेको छ। पहिरोको उच्च जोखिममा रहेका घरका सदस्यहरुलाई सुरक्षित स्थानमा सार्ने विषयमा अहिले गाउँपालिकाको विपद् व्यवस्थापन समितिको वैठक डाकिएको दोरम्वा शैलुङ गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले जानकारी दिइन्।
गत वर्षको भदौमा पनि अत्याधिक मात्रामा वर्षात् हुँदा सोही वडाको लेखर्कमा पहिरोमा परी १० जनाको ज्यान गएको थियो भने ठूलो बस्ती नै पहिरोको उच्च जोखिममा परेको थियो।