
भारतले समयमै भारतीय गुणस्तर चिह्न ‘ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड’ (बिआइएस) नवीकरण नगरिदिँदा नेपाली सिमेन्टको निर्यात उल्लेखनीय रूपमा घटेको देखिएको छ । चालू आर्थिक वर्षको ११ महिनामा नेपालले दुई अर्ब ६६ करोड पाँच लाख रुपैयाँबराबरको सिमेन्ट निर्यात गर्न सकेको छ । यो गत आवको सोही अवधिको तुलनामा ३७.४६ प्रतिशत अर्थात् एक अर्ब रुपैयाँले कमी हो ।
नेपाली सिमेन्टको बिआइएस प्राप्ति तथा नवीकरणमा ढिलाइ हुँदा निर्यात प्रभावित भएको व्यवसायीले बताएका छन् । भारतले नेपाली उत्पादनले लिएको बिआइएसको म्याद गुज्रनुअघि नै नवीकरण नगरिदिँदा निर्यात प्रभावित हुँदै आएको छ । नेपालबाट असार ०७९ देखि सिमेन्ट र क्लिंकर निर्यात सुरु भएको हो । उक्त आवमा ७७ करोड ९३ लाखको सिमेन्ट निर्यात भएको थियो । गत आव ०८०/८१ मा तीन अर्ब ८५ करोड २८ लाखको सिमेन्ट तथा क्लिंकर निर्यात भएको भन्सार विभागको तथ्यांक छ । दुई वर्षयता बढेको सिमेन्टको निर्यात यस वर्ष भने बिआइएस प्राप्ति–नवीकरणमा ढिलाइ हुँदा घट्न पुगेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले बताए ।
नेपाललगायत व्यापार साझेदार जुनसुकै देशका उद्योगका उत्पादनले बिआइएस प्राप्तपछि मात्रै भारत प्रवेश पाउँछन् । अघिल्लो आर्थिक वर्षदेखि नै भारतले नेपालको सिमेन्ट, जुत्ता, प्लाइउड, स्टिलगायत उत्पादनका लागि बिआइएस चिह्न दिन तथा नवीकरण गर्न ढिलाइ गर्दै आएको थियो । बिआइएसकै कारण नेपालको निर्यात प्रभावित हुन पुगेको थियो । यद्यपि, गत पुस अन्तिममा काठमाडौंमा सम्पन्न व्यापार, पारवहन र सहकार्यसम्बन्धी नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी कमिटी (आइजिसी) बैठकले बिआइएस प्रमाणपत्र प्राप्ति–नवीकरण प्रक्रियालाई छिटो–छरितो बनाउने सहमति गरेको थियो । त्यसपछि बिआइएस प्राप्ति–नवीकरणको समस्या पूर्ण रूपमा समाधान हुन सकेको छैन ।
‘दुई देशबिचको आइजिसी बैठकले बिआइएस प्रमाणपत्रको समस्या समाधान गर्ने सहमति गरेपछि धेरै नेपाली उत्पादनले बिआइएस प्राप्त गरे, नवीकरण पनि भयो, तर समस्याको दीर्घकालीन समाधान भने हुन सकेन,’ उनले भने, ‘खासगरी प्रमाणपत्रको म्याज गुज्रनुअघि नै नवीकरण गरिदिने व्यवस्था नहुँदा निर्यात प्रभावित भइरहेको छ ।’
अहिले पनि बिआइएसको म्याद गुज्रिएपछि केही उद्योगको सिमेन्ट निर्यात रोकिएको उनले बताए । ‘अहिले सर्वोत्तम, अर्घाखाँचीलगायत उद्योगका सिमेन्ट निर्यात भइरहेका छन् । पाल्पा सिमेन्ट उद्योगको निर्यात बिआइएसको म्याद गुज्रिएको कारण रोकिएको छ । बिआइएस नवीकरण प्रक्रिया सकेर पाल्पा सिमेन्टले पुनः निर्यात थाल्नेछ,’ उनले भने ।
जेठ मसान्तसम्ममा तीन लाख २३ हजार दुई सय ८३ टन पोर्टल्यान्ड सिमेन्ट र चार लाख ८४ हजार आठ सय ५४ टन क्लिंकर निर्यात भएको भन्सार विभागको तथ्यांक छ । गत आवको सोही अवधिमा भने दुई लाख १४ हजार सात सय ३७ टन सिमेन्ट र चार लाख ९६ हजार सात सय ७३ टन क्लिंकर निर्यात भएको थियो ।
बिआइएस प्राप्ति–नवीकरणको समस्याको दीर्घकालीन समाधान ननिकाल्दासम्म नेपालको निर्यात प्रभावित भइरहने देखिएको छ । ‘नवीकरणको प्रक्रिया नसकिँदासम्म त सिमेन्ट निर्यात रोकिने नै भयो, त्यसैले यसको दीर्घकालीन समाधान खोज्नैपर्छ,’ मुरारकाले भने, ‘नेपाल र भारतले एक–अर्काको गुणस्तर चिह्नलाई मान्यता दिने व्यवस्था गर्न सके दुई देशको व्यापार सहजीकरणमा महŒवपूर्ण योगदान मिल्ने थियो ।’