
बुटवल उपमहानगरपालिकामा राष्ट्रिय परिचयपत्र बनाउनका लागि सेवा केन्द्र सञ्चालनमा आएको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देही र इलाका प्रशासन कार्यालय बुटवलमा अत्यधिक चाप भएपछि बुटवलका बासिन्दालाई राष्ट्रिय परिचयपत्र बनाउनका लागि सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो।
सेवा केन्द्रको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरेका हुन्। बुटवल उपमहानगरपालिकाको पुरानो भवनपरिसरमा राष्ट्रिय परिचयपत्र बनाउनका लागि सेवा केन्द्र स्थापना भएपछि बुटवलबासीलाई सहज हुने उनले बताए। उनले बुटवलमा रहेको इलाका प्रशासन कार्यालयमा अत्यधिक भिड र लामो समयसम्म पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न बुटवल उपमहानगरपालिकाले सेवा केन्द्र सञ्चालनका लागि अगुवाइ गरेको बताए।
'जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयको भिड र सेवाग्राहीले सास्ती खेप्नुपरेको अवस्था थियो,’ उनले भने, ‘त्यसलाई मध्यनजर गरेर यो पहल गरेका हौँ।’ उनले आवश्यकताअनुसार थप सेवा केन्द्र सञ्चालन गर्न सकिनेसमेत बताए।
कार्यक्रममा इलाका प्रशासन कार्यालयका प्रमुख रामचन्द्र अर्यालले बुटवल उपमहानगरका बासिन्दालाई लाभ हुने गरी सेवा केन्द्र सञ्चालन गरिएको बताए। उनले सेवा केन्द्र सञ्चालनमा बुटवल उपमहानगरपालिकाको विशेष चासो र अगुवाइका कारण सम्भव भएको बताए।