
गणतन्त्र दिवसका दिन राजावादीहरूले प्रदर्शनको तयारी गरिरहेका वेला प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले त्यस दिन केही घण्टा काठमाडौं एमालेको नियन्त्रणमा हुने र त्यसमा कुनै ‘प्रोटोकल’ नरहने अभिव्यक्ति दिएका छन्। ललितपुरको गोदावरीमा एमाले बागमतीद्वारा आइतबार आयोजित स्थानीय तहका वडाध्यक्षहरूको प्रदेश भेला तथा अभिमुखीकरणलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यसैअनुसार तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
‘म साथीहरूलाई भन्न चाहन्छु– १५ गतेका लागि निर्देशन पछि आउला । तर, भोलि उठ्नेबित्तिकै १५ गतेको तयारी थाल्नुस् । के–के गर्नुपर्छ भन्ने पार्टीले भन्छ । १५ गते ११ देखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रण हुनुपर्छ । कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ, त्यसलाई छोडिदिनुस्,’ ओलीले भने, ‘आन्दोलनमा प्रोटोकल–स्रोटोकलका कुरा हुँदैनन् । यहाँ (आइतबारको कार्यक्रमस्थल) सभा गर्ने, बैठक गर्ने ठाउँमा पो यता र उता छ । आन्दोलनमा पनि यता र उता हुन्छ र ? सबै एकैतिर (हातले इसारा गर्दै) अगाडि बढ्ने हो ।’
सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले राजावादीहरू कुनै राम्रो उद्देश्यका लागि प्रदर्शनमा नउत्रेको ओलीको भनाइ छ । ‘तथाकथित राजावादीहरू राजावादी–साजावादी केही होइनन् । उनीहरू खाओवादी हुन् । यिनीहरू हाम्रो राजा हाम्रो देश ः प्राणभन्दा प्यारो छ भन्दै नारा लाउँथे, हिजो नारायणहिटीमा पनि त्यही पो नारा लगाउँदै रहेछन् । प्राणभन्दा प्यारो छ भने वीरेन्द्रको हत्या हुँदा यिनीहरू कहाँ गएका थिए ? किन मरेनन् त ? झुटा कुरा गर्ने र चाप्लुसी गर्ने त मण्डलेहरूको स्वभावै हो । यिनीहरू कुनै महान् उद्देश्यका लागि लडिरहेका छैनन्,’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले एमाले प्रतिवादमा उत्रेपछि राजावादीहरू आफैँ पन्छिनेसमेत दाबी गरे । ‘सरकार र जनता अलि मौन बसेको अवस्थाको फाइदा लिएर यिनीहरूले अनावश्यक फुर्तीफार्ती देखाएका छन् । यसो अक्षता मन्तर्ने हुन्छ नि ! हुँहुँ...मुजुरा लाएर, ढ्याङढ्याङ, ढुङढुङ गर्दै ढ्यांग्रो ठोकेर नाच्ने धामी अक्षता मन्छदै आयो भने त्यो कता जान्छ–जान्छ । यी त्यस्तै अक्षता मन्साउनेहरू हुन्,’ ओलीले भने, ‘ढ्यांग्रो लिएर एमाले मैदानमा उत्रियो भने यी कताकता दुलाभित्र पस्छन् । त्यसकारण हामीले आफूलाई बुझ्नुपर्यो, चिन्नुपर्यो । र, त्यसअनुसार तयार राख्नुपर्यो ।’
एमाले बागमतीले आयोजना गरेको वडाध्यक्षहरूको प्रदेश भेलामा निर्देशन दिँदै प्रधानमन्त्री केपी ओलीले भने
म साथीहरूलाई भन्न चाहन्छु– १५ गतेका लागि निर्देशन पछि आउला । तर, भोलि उठ्नेबित्तिकै १५ गतेको तयारी थाल्नुस् । के–के गर्नुपर्छ भन्ने पार्टीले भन्छ । १५ गते ११ देखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ । कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ, त्यसलाई छोडिदिनुस् । आन्दोलनमा प्रोटोकल–स्रोटोकलका कुरा हुँदैनन् । यहाँ (आइतबारको कार्यक्रमस्थल) सभा गर्ने, बैठक गर्ने ठाउँमा पो यता र उता छ । आन्दोलनमा पनि यता र उता हुन्छ र ? सबै एकैतिर (हातले इसारा गर्दै) अगाडि बढ्ने हो ।
सरकार र जनता अलि मौन बसेको अवस्थाको फाइदा लिएर यिनी(राजावादी)हरूले अनावश्यक फुर्तीफार्ती देखाएका छन् । यसो अक्षता मन्तर्ने हुन्छ नि ! हुँहुँ...मुजुरा लाएर, ढ्याङढ्याङ, ढुङढुङ गर्दै ढ्यांग्रो ठोकेर नाच्ने धामी अक्षता मन्सदै आयो भने त्यो कता जान्छ–जान्छ । यी त्यस्तै अक्षता मन्साउनेहरू हुन् । ढ्यांग्रो लिएर एमाले मैदानमा उत्रियो भने यी कताकता दुलाभित्र पस्छन् ।
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको आपत्ति
देशको प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार, हिंसा भड्काउने, उत्तेजक र आपत्तिजनक छ । म सम्पूर्ण नागरिक समाज, मानव अधिकारसम्बन्धी संघ, संस्था, आयोग र विश्व समुदायको ध्यानाकर्षण गर्दछु ।