
पछिल्लो ६ महिनामा एक लाख १४ हजार नेपाली भिजिट भिसामा विभिन्न देश पुगेका छन् । त्यसमध्ये आधाभन्दा धेरैलाई सेटिङमा वैदेशिक रोजगारीका लागि पठाइएको आकलन छ । यसरी पठाउँदा खाडी मुलुक जानेहरूसँग प्रतिव्यक्ति ५० हजारसम्म र युरोप जानेबाट तीन लाखसम्म असुली हुने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक छानबिनले देखाएको छ ।
भिजिट भिसाको आवरणमा मानव तस्करीमा संलग्न देखिएपछि अख्तियारले विमानस्थलस्थित अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईलगायतमाथि सोधपुछ गरी अनुसन्धान गरिरहेको छ । गत २३ असोज (९ अक्टोबर)मा गृहमन्त्री रमेश लेखकले रोजेरै भट्टराईलाई विमानस्थलस्थित अध्यागमन कार्यालय प्रमुखका रूपमा सरुवा गरेका थिए । सुरेश पन्थीलाई चार महिनामै हटाएर विवादास्पद पृष्ठभूमिका उनलाई पठाइएको थियो । भट्टराई गएलगत्तै अध्यागमनमा भिजिट भिसाको सेटिङ बढेको थियो । उनी गएपछिका ६ महिनामा मात्रै सवा लाख नेपाली भिजिट भिसामा विभिन्न देश पुगेका छन् ।
अध्यागमनकै मिलेमतोमा मानव तस्करी भइरहेको उजुरी अख्तियारमा समेत परेका थिए । अख्तियारले छापा मार्ने संकेत पाएपछि मन्त्री लेखककै निर्देशनमा भट्टराईलाई ६ जेठमा रातारात मन्त्रालयमा सरुवा गरिएको थियो । तर, उनले रमाना नबुझ्दै भोलिपल्ट ७ जेठमा अख्तियारले भट्टराईलाई कार्यालयबाटै नियन्त्रणमा लिएर हाजिरी जमानीमा छाडेको थियो ।
नोभेम्बरमा १४ हजार ३६८ जनाले मात्र भिजिट भिसामा विदेश जान अनुमति पाएका थिए । डिसेम्बरदेखि सेटिङ बढेको अध्यागमनको तथ्यांकले देखाउँछ । त्यसयता अप्रिलसम्म एक लाख १४ हजार १६८ व्यक्ति भिजिट भिसामा बाहिरिएका छन् । डिसेम्बरमा १९ हजार ९०१, जनवरीमा २१ हजार ७०१, फेब्रुअरीमा १९ हजार ५३४, मार्चमा १९ हजार ६३५ र अप्रिलमा १९ हजार २९९ जना विदेश गएका छन् ।
अध्यागमनका एक कर्मचारीका अनुसार यसरी भिजिट भिसामा जानेमध्ये आधा घुम्न तथा कामविशेषले जाने गर्दछन् । आधाजसो एजेन्टहरूमार्फत जाने गरेका छन् । अझ महिलाहरूलाई खाडी देशमा घरेलु कामदारमा प्रतिबन्ध भएकाले पनि कतिपय मेनपावर कम्पनीले नै यसरी अध्यागमनमा सेटिङ मिलाएर भिजिट भिसामा सुरुमा दुबई लैजाने र त्यहाँबाट ओमान, कुवेत, इराक, रसियादेखि अमेरिकासम्म लगेर बिक्री गर्ने गरेका छन् ।
अध्यागमनको तथ्यांकअनुसार पछिल्लो ८ महिनामा युएईमा मात्रै भिजिट भिसामा ५० हजार ५०६ जना पुगेका छन् । भिजिट भिसामा हुने मानव तस्करीको ट्रान्जिट देश युएई भएको प्रहरी अधिकारी बताउँछन् । पुरुषभन्दा महिलाको मानव तस्करीमा अध्यागमनमा धेरै पैसा लेनदेन हुने गरेको छ । दिनमै ५० लाख औसत लेनदेन हुने गरेको सूचनाका आधारमा अख्तियारले छापा हानेर अनुसन्धान गरिरहेको छ ।
गृह मन्त्रालयको नेतृत्वसँगकै मिलेमतोमा भिजिट भिसाको सेटिङ मौलाएको स्रोत बताउँछ । कतिसम्म भने कामदार तथा विद्यार्थी भिसामा जाने कतिपयलाई समेत अध्यागमनका कर्मचारीले कागजपत्र नपुगेको भनेर फर्काउने गरेका थिए । तर, सेटिङका व्यक्तिहरूको हकमा भने उनीहरू कुन देश जाने भन्ने थाहा नहुँदासमेत प्रस्थान अनुमति दिने गरिएको थियो । साँच्चिकै घुम्न तथा कामले जान लागेका व्यक्तिहरूलाई नै ‘अफलोड’ हुने (फर्काइने) गरेकोमा उनीहरूले अध्यागमन विभागमा गएर उजुरी गर्थे । तर, यस्तो प्रवृत्ति सुधारमा चासो नदिएकाले विभागकै पनि मिलेमतोको आशंका गरिएको छ । पछिल्लो समय कार्यालय प्रमुखदेखि अधिकांश कर्मचारी गृहमन्त्री रमेश लेखकको सचिवालयमार्फत अध्यागमन पुगेका थिए । उनीहरू पुगेपछि सेटिङमा मानव तस्करी बढेको थियो ।
सेटिङमा ‘कोर टिम’
राम्रो आम्दानी हुने भएपछि गृह मन्त्रालयबाट विमानस्थल अध्यागमनमा जान कर्मचारीहरूको तँछाडमछाड चल्ने गरेकामा मन्त्रालयकै नेतृत्वको सिफारिसमा केही निश्चित व्यक्तिलाई दोहोर्याई, तेहेर्याई पठाउने गरिएको छ । स्रोतका अनुसार मानव तस्करी सेटिङका लागि अध्यागमनमा ‘कोर टिम’ तयार गर्न मन्त्रालय नेतृत्वले नै प्रोत्साहन गर्ने गरेको हो । जबकि बुधबार गृहमन्त्री रमेश लेखकले कर्मचारीमार्फत विज्ञप्ति जारी गर्न लगाएर अध्यागमन सेटिङमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका थिए ।
अधिकृतहरूका अनुसार अध्यागमन प्रशासनमा राइँदाइँ गर्नेहरूको अलग्गै ‘कोर टिम’ छ । यो समूहका अधिकृतहरू पालैपालो एकपछि अर्को अध्यागमन पुग्छन् । यो समूहका अधिकृतहरू अध्यागमन जाने र केही समय मन्त्रालयमा बसेर पुनः अध्यागमनमै पुग्छन् । यही समूहमा पर्छन् गृहमन्त्री लेखकको सचिवालयमा कार्यरत अधिकृत विमल पौडेल पनि । उनीविरुद्ध प्रहरीले ०८० माघमा मुद्दा चलाएको थियो ।
उनले अदालतबाट सफाइ पाएपछि मन्त्रालयमा मन्त्री लेखकको सचिवालयमा छिरेका थिए । हाल कार्यरत दर्जनौँ अधिकृतहरू नै दुईपटकदेखि चारपटकसम्म फर्की–फर्की अध्यागमन पुगेका छन् । यही समूहले अध्यागमनको सेटिङ व्यवस्थापन गर्छ । ‘मन्त्रालय र विभागले अध्यागमनको बेथितिमा आँखा चिम्लिएको मात्र छैन, प्रोत्साहन गरेर लाभसमेत लिएको छ,’ स्रोत भन्छ ।
भिजिट भिसामा सेटिङ : जीवन नै अन्धकारमा धकेलिदिन्छन्
म्यानमारमा बन्धक बनाएर साइबर स्क्याममा लगाइन्छ, कतिपय महिलालाई कुवेत र इराक पुर्याएर बिक्री गरिन्छ
भिजिट भिसामार्फत वैदेशिक रोजगारीमा गएकामध्ये कतिपय म्यानमारको साइबर स्क्याम अखडामा पुगेर बन्धक बनेका छन् । प्रहरीका अनुसार अझै पनि त्यहाँ करिब डेढ सय नेपाली बन्धक छन् । उनीहरूलाई त्यहाँ साइबर ठगीको काममा लगाइएको छ । बुधबार मात्र दुईजनाको उद्धार भएको थियो । ठुलो समस्या कुवेतमा छ । जहाँ भिजिट भिसामा जाने कतिपय महिलालाई एक घरमा राखेर छानी–छानी ‘बिक्री’ गर्ने गरिएको छ ।
घरेलु कामदारका नाममा यसरी बिक्री भएर चरम यातना र यौन हिंसामा पर्ने महिलाहरूको उद्धारका लागि धेरै सूचना आएको दूतावासका अधिकारी बताउँछन् । कतिपयलाई इराकसम्म लगेर बिक्री गरिएको छ । त्यसरी बिक्री भएकी एक महिलाले दुई साताअघि मात्र प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिएकी थिइन् । कतिपय भिजिट भिसाकै सेटिङमार्फत रसियन सेनामा भर्ना हुनसमेत गएको प्रहरी अनुसन्धानले देखाएको छ ।