
लुम्बिनी प्रदेश सभामा प्रस्तुत भएको आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रममाथि शुक्रबारबाट छलफल सुरु भएको छ । छलफलका क्रममा सत्ता पक्षका सांसदले नीति तथा कार्यक्रमको प्रशंसा गरेका छन् भने विपक्षीले आलोचना गरेका छन् ।
प्रदेशको समृद्धिका लागि नीति तथा कार्यक्रमले टेवा पुर्याउने भन्दै सत्ता पक्षका सांसदले नीति तथा कार्यक्रममा धेरै क्षेत्रका राम्रा विषय समेटिएको बताए । प्रतिपक्षी सांसदले धेरै विषयवस्तु छुट्नुका साथै नीति तथा कार्यक्रमलाई कार्यान्वयन हुने गरी बजेट आउनेमा पनि आशंका व्यक्त गरे ।
माओवादी केन्द्रका दीपेन्द्रकुमार पुनमगरले नीति तथा कार्यक्रममा सामान्य कुरा मात्रै अटाएको र विशिष्ट कार्यक्रम नभएको भन्दै बजेट कार्यान्वयनका क्रममा तालमेल नमिल्ने बताए । राप्रपा सांसद मीनाकुमारी श्रेष्ठले भाषणमा नभई जनताको जीवनमा परिवर्तन देखिने नीति–कार्यक्रमको खाँचो रहेको बताइन् । राष्ट्रिय जनमोर्चा सांसद तारा थापाले औद्योगिक क्षेत्र सुधारलगायतका विषय छुटेको बताइन् ।
सत्ता पक्षका सांसदहरू रामजीप्रसाद घिमिरे, विष्णु पन्थी, नीमा गिरी, बसिउद्दीन खालगायतले नीति तथा कार्यक्रमका सही दिशामा आएको भन्दै सशक्त कार्यान्वयनका लागि सुझाव दिए । लुम्बिनी प्रदेशमा कृषि, उद्योग, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै २०४ बुँदे वार्षिक नीति तथा कार्यक्रम ल्याइएको छ ।