आचारसंहिता उल्लंघनका १४९ उजुरी, ११६ जनालाई स्पष्टीकरण

आइतबार, २७ कार्तिक, २०७९
डिजिटल संस्करण

निर्वाचन आयोगमा निर्वाचन आचारसंहिता उल्लंघनका एक सय ४९ उजुरी परेको छ। आयोगलाई प्राप्त आचारसंहिता उल्लंघनका एक सय ४९ उजुरीमध्ये एक सय १६ जनालाई स्पष्टीकरण सोधेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

त्यसमध्ये नाैवटामा भने आचारसंहिता उल्लंघन भएको आयोगले निर्णय गरेको उनले जानकारी दिए। ३५ वटा मिसिलको सन्दर्भमा एक–दुई दिनभित्रै निर्णय गरिने र अन्य क्रमशः निर्णय हुँदै जाने भण्डारीले स्पष्ट पारे। आयोगले मतदानपूर्व नै आचारसंहिता उल्लंघन भएका उजुरीको सम्पूर्ण निर्णय प्रक्रिया सक्ने उनले उल्लेख गरे।

आयोगले आचारसंहितामा कडाइ गरेका कारण उल्लंघनका घटना कम भएको उनको दाबी छ। आयोग पहिले सुधारात्मक मोडलमा भए पनि यस निर्वाचनबाट दण्डात्मक रूपमा प्रस्तुत भएको उनले प्रस्ट पारे।

‘आयोग अलि उत्तेजित भयो कि भन्ने सन्दर्भमा स्वाभाविक रूपमा हो आयोग अलि उत्तेजित भएको महसुस भएको छ। विभिन्न कोणबाट हामीलाई त्यो प्रतिक्रिया आएको छ। आयोग संयमित पनि असाध्यै संयमित छ। त्यो पनि हो,’ उनले भने, ‘पहिला हामी सुधारात्मक मोडलमा थियौँ। अब दण्डात्मक मोडलमा जान्छौँ भनेर पहिला नै घोषणा गरेर आयोगले निर्णय गरेर सबैलाई जानकारी गराएको थियो।’

सुझावित समाचार