निहारिकाका छोरा र आरोपित श्रेष्ठको डिएनए ‘म्याच’

निहारिका राजपुत प्रकरणमा डिएनए परीक्षण रिपोर्टउच्च अदालत पुग्यो

शुक्रबार, १८ कार्तिक, २०७९
डिजिटल संस्करण

उच्च अदालत जनकपुरमा विचाराधीन रहेको निहारिका राजपुत प्रकरणमा गरिएको डिएनए परीक्षणको नतिजा आज प्राप्त भएको छ । राजपुतका छोरा र प्रतिवादी शिव श्रेष्ठको डिएनए ‘म्याच’ देखिएको उच्च अदालत जनकपुरकी प्रवक्ता नुतन झाले जानकारी दिइन् । 

‘नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबाट आज मात्रै डिएनए परीक्षणको प्रतिवेदन आएको छ,’ प्रवक्ता झाले नयाँ पत्रिकासँग भनिन्, ‘प्रतिवेदनमा ९९.९९९ प्रतिशत डिएनएन म्याच भएको देखिएको छ । परिणाम नआइसकेकाले अदालतले २५ कात्तिकमा साधारण तारेख तोकेको थियो । अब त्यही तारेखका दिन यो मुद्दाको सुनुवाइका लागि अर्को पेसी तोकिनेछ ।’

उच्च अदालत जनकपुरले निहारिकाकाे मागबमोजिम नै उनीबाट जन्म भएको बालक र बलात्कार आरोपित श्रेष्ठको डिएनए परीक्षण गर्न आदेश दिएको थियो । आदेशबमोजिम गत २४ भदौमा दुवैको डिएनए परीक्षण भएको थियो । निहारिकाले आफूमाथि भएको जबर्जस्ती करणीमार्फत बच्चाको जन्म भएको भन्दै जाहेरी दिएकी थिइन् । तर, आरोपित श्रेष्ठले भने आफूहरूबीच प्रेम सम्बन्धका क्रममा सहमतिमै यौन सम्बन्ध भएको बयान दिएका छन् । 

जिल्ला अदालत धनुषाले जबर्जस्ती करणीको कसुरमा श्रेष्ठलाई सफाइ दिएपछि आफूमाथि अन्याय भएको भन्दै निहारिका पछिल्लो समय पटकपटक काठमाडौंमा दुधे बालकसहित अनशन बसेकी थिइन् । त्यसपछि उनको माग सम्बोधन गर्ने सरकारसँगको सहमतिपछि अनशन तोडिएको र डिएनए परीक्षणको मागलाई अदालतले सम्बोधन गरेको थियो ।

सुझावित समाचार