मकवानपुरमा १९ मतदानस्थल अतिसंवेदनशील, ६० वटा संवेदनशील

बुधबार, १६ कार्तिक, २०७९
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका १९ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखेको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलक्षित सुरक्षा रणनीति बनाउने क्रममा १९ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको हो। 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले थप ६० वटा मतदानस्थलहरूलाई संवेदनशील र ८० वटा मतदानस्थलहरूलाई सामान्य सूचीमा राखिएको जानकारी दिए।

'विगतका निर्वाचनको अनुभव, भौगोलिक विकटता, सञ्चारको पहुँचलगायतका आधारहरूलाई ध्यानमा राखेर हामीले मतदानस्थलहरूलाई वर्गीकरण गरेका छौँ। मतदानस्थलहरूको अवस्थाअनुसार नै सुरक्षाको व्यवस्था पनि गरेका छौँ,' प्रमुख जिल्ला अधिकारी पाण्डेले भने।

प्रमुख जिल्ला अधिकारी पाण्डेले सुरक्षा संवेदनशीलताको आधारमा आवश्यक पर्दा नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी परिचालन गरिने जानकारी दिए। यस्तै, थप सुरक्षा व्यवस्थाका लागि जिल्लामा १ हजार ६९९ म्यादी परिचालन गरिने पनि प्रजिअ पाण्डेले बताए।

आगामी निर्वाचनका लागि मकवानपुरका दुईवटा संघीय र ४ वटा प्रदेश सभा क्षेत्रका लागि एक सय ६७ मतदानस्थल र तीन सय ६४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। यसअघि ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा मकवानपुरमा एक सय ६५ वटा मतदानस्थल र तीन सय ५८ वटा मतदान केन्द्र रहेका थिए। स्थानीय तह निर्वाचनभन्दा यसपटक मकवानपुरमा ५ हजार ८ सय ९ जना मतदाता थपिएसँगै मतदानस्थल र मतदान केन्द्र थप गरिएको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए।

आगामी मंसिरमा हुने निर्वाचनका लागि मकवानपुरमा १ लाख ५३ हजार ५ सय २८ पुरुष, १ लाख ४७ हजार २ सय महिला र अन्य ५ जना गरी ३ लाख ७ सय ३३ मतदाता कायम भएको पनि प्रमुख पोखरेलले बताए।

सुझावित समाचार