तिहारमा फूलको चरम अभाव

बिहिबार, १० कार्तिक, २०७९
डिजिटल संस्करण

कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ। कैलालीमा केही व्यक्तिले व्यावसायिक रूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको छ। 

टीकापुरका पुराना फूल व्यवसायी सीताराम चौधरीले तिहारको अघिल्लो दिन नै फूल सकिएको बताए। ‘घरमै बिक्री गरिरहेको थिएँ, धेरै उपभोक्ता फूल नपाएर फर्किनुभयो,’ उनले भने, ‘डेढ बिघामा खेती गरेको छु, उपभोक्ताको माग पूरा गर्न सकिएन, धेरैजना रित्तै फर्किनुभयो।’ 

चार वर्षअघि १० कट्ठा जमिनबाट यो पेसा थालेका सीतारामले व्यवसाय विस्तार गर्दै लगेका छन्। सीतारामजस्तै कैलालीमा दर्जन बढी नागरिकले व्यावसायिक रूपमा खेती गर्दैआएका छन् । तिहारमा बजारमा फूलका माला तिहारको दुई दिनमै सकिएको व्यापारी बताउँछन्। 

जानकी गाउँपालिका– ४ की समिरा धामी माला किन्न बुधबार टीकापुर बजार आए। मखमली फूलका माला किन्न आएकी धामी माला नपाएपछि रित्तै फर्किन्। 

‘मखमली फूलका माला लगाउने हाम्रो चलन हो, बजारमा पाइन्छ भनेर ढुक्क भएँ, यहाँ त सकिएको रहेछ,’ उनले भनिन्, ‘फूलको नपाएपछि प्लास्टिकका माला लिएर जाँदै छु, के गर्नु यसअघि प्लास्टिकका माला कहिल्यै प्रयोग गरेका थिएनौँ।’

कैलालीमा फूलखेतीका लागि जग्गा अभाव छैन । घरवरिपरि जग्गा हुँदा पनि फूल रोप्ने गरेको पाइँदैन । घरमै फूल रोपेको भए फूलको अभाव नहुने ज्येष्ठ नागरिक धौली न्यौपाने बताए। 

‘हाम्रा पालामा घरवरिपरि फूलैफूल हुन्थे, कहिल्यै माला, फूल खोज्न, किन्न परेन,’ उनी भन्छन्, ‘हामी फूलबारीले घर सजाउँथ्यौँ, अचेल त घरभित्र सजाउने, चाडपर्वमा आवश्यक फूल बजार गएर किन्छन्। मानिस कति अल्छी भएका हुन्।’

तिहार सौन्दर्यताको पर्व पनि हो । तिहारमा झिलिमिली बनाउने, घरआँगन रंग्याउने, पूजाआजा गर्ने गरिन्छ। 
यसवेला अन्य समयभन्दा बढी फूल प्रयोग गरिन्छ। बजारमा माला र फूल अभाव भएपछि प्लास्टिकका मालाको व्यापार पनि राम्रो भएको छ । व्यापारी शिव चौधरीले फूलका माला नपाएपछि धेरै मानिस प्लास्टिकका किन्न आएका बताए। 
 
संस्कृतिप्रेमी पवनदेवी तिमिल्सिनाले हरेक व्यक्तिले घरघरमै फूलबारी बनाउन आवश्यक रहेको बताए। ‘घरमा थोरै भए पनि फूलबारी चाहिन्छ, फूलबारी मासेर विभिन्न संरचना बनाएका घर धेरै छन्,’ उनले भने, ‘घर–घरमै दुई–चार बोट फूल लगाएका भए अहिले अभाव हुने थिएन । वरिपरि जग्गा भएर पनि फूल किन्ने हामी नेपालीको बानी अनौठो छ । यहाँका फूल सकिएपछि भारतबाट ल्याएर फूल बिक्री गरिँदै छ।’ रासस
 

सुझावित समाचार