थाइल्यान्डकाे शिशु स्याहार केन्द्रमा अन्धाधुन्ध गोली चल्दा २४ बालबालिकासहित ३७ को मृत्यु

बिहिबार, २० असोज, २०७९
डिजिटल संस्करण

थाइल्यान्डमा एकजना पूर्वप्रहरीले अन्धाधुन्ध गोली चलाउँदा ३७ जनाको ज्यान गएको छ।

थाई मिडियाले उल्लेख गरेअनुसार बिहीबारका दिन ती पूर्वप्रहरीले एउटा शिशु स्याहार केन्द्रमा अन्धाधुन्ध गोली चलाएका थिए। घटनामा २४ बालबालिकासहित ३७ जनाको मृत्यु भएको छ । मृतकमा गर्भवती महिलादेखि दुई वर्षका बच्चासमेत छन्। 

थाइल्यान्डको उत्तरी प्रान्त नान्गबुआ लम्फुमा रहेको एउटा बालबालिका स्याहार केन्द्रमा ती व्यक्तिले गोली चलाएका थिए। प्रहरीले जनाएअनुसार उच्च शिक्षा लिएका ती व्यक्ति केही समयअघि प्रहरीमा भर्ना भएका थिए। तर, उनी सेवामा रहेकै वेला लागुऔषध ओसारपसारमा संलग्न देखिएपछि उनीमाथि कारबाही गरिएको थियो।

प्रहरीबाट निकाला गरिएपछि उनी पूर्णकालीन रूपमा लागुऔषधको कारोबारमा लागेको बताइन्छ । यही आरोपमा उनीविरुद्ध अदालतमा मुद्दासमेत चलिरहेको प्रहरीले जनाएको छ। 

मानसिक रूपमा तनावमा रहेको बताइएका ती व्यक्तिले बिहीबार शिशु स्याहार केन्द्रमा गोली चलाएका थिए। लगत्तै उनले श्रीमती र आफ्नै छोरालाई समेत गोली हानेर मारेपछि आफूले पनि आत्महत्या गरेका छन्। 

उनी मोस्ट वान्टेड सूचीमा रहेको बताइन्छ। गोली चलेको वेला स्थानीय प्रहरी अधिकारी नजिकै काममा थिए। उनका अनुसार गोली चलेको वेला कतै पटाका पड्किरहेजस्तो आवाज सुनिएको थियो। 

दिउँसो २ बजे शिशु स्याहार केन्द्रमा पुगेका ती व्यक्तिले सबै बच्चामाथि गोली चलाएका थिए। घटनामा केही बालबालिका भने सुतिरहेकोले बाँचेको बताइन्छ। 

गोली चलाउँदा उक्त केन्द्रमा खाना खाने समय भएकाे थियो । ती व्यक्तिले स्टाफमाथि गोली चलाएपछि शिशुहरू आराम गरिरहेको कोठामा पसेर गोली चलाएको प्रहरीले जनाएको छ। 

सुझावित समाचार