इरानमा किन उठ्यो महिला विद्रोह ?

हिजाब कानुन उल्लंघन गरेको आरोपमा पक्राउ परेकी युवतीको प्रहरी हिरासतमै मृत्यु भएपछि देशव्यापी रूपमा भड्किएको हिंसामा १७ जनाको मृत्यु भएको छ

शनिबार, ८ असोज, २०७९
डिजिटल संस्करण

इरानमा अहिले कैयौँ सहरमा सरकारविरोधी प्रदर्शन भइरहेको छ । देशको धार्मिक प्रहरीले नियन्त्रणमा लिएकी एक युवतीको हिरासतमा मृत्यु भएपछि सुरु भएको विरोध देशव्यापी बनेको छ । प्रदर्शनका क्रममा धेरै हताहत भएको रिपोर्ट पनि आएको छ । सरकारले बिहीबार बताएअनुसार हप्ताको अन्तिमबाट सुरु भएको विरोधमा दुई सुरक्षा अधिकारीसहित १७ व्यक्तिको मृत्यु भएको जनाएको छ । तर, मानव अधिकारवादी समूहहरूले मृतकको संख्या अझ बढी हुन सक्ने अनुमान गरेका छन् । 

विरोध प्रदर्शनमा ठूलो संख्यामा महिला सामेल छन् । उनीहरू महिलाहरूका लागि सार्वजनिक स्थानमा टाउको ढाक्नुपर्ने र खुकुलो कपडा लगाउनुपर्ने नियमको विरोध गरिरहेका छन् । प्रदर्शन देशको कमजोर अर्थतन्त्र र भ्रष्टाचारतिर लक्षित हुन थालेको छ । अमेरिकाको लामो प्रतिबन्धका कारण इरानी अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ र यसले आम जीवनको दैनिकीमै असर गरेको छ ।

पछिल्लो विरोध प्रदर्शन सन् २०१९ मा भएको प्रदर्शनपछि ठूलो मानिएको छ । अधिकारीहरू त्यस समयजस्तै अहिले पनि दमनमा उत्रिएका छन् । धेरै स्थानमा सुरक्षाकर्मीले प्रदर्शनकारीहरूमाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको देखिएको छ । सहरी क्षेत्रमा प्रदर्शनकारीलाई लाठीले पिटेको देखिएको थियो । पछिल्लो समय सरकारले मोबाइल तथा इन्टरनेट सेवा नै अवरुद्ध गर्ने कदम चालेको छ । आखिर यो आन्दोलन के कारणले उत्तेजित भइरहेको छ ? 

एउटी युवतीको मृत्युले भड्किएको आक्रोश 
गत साता महसा अमिनी उत्तर पश्चिमी प्रान्त कुर्दिस्तानमा रहेको घरबाट परिवारका साथ तेहरान जाँदै गर्दा हिजाब कानुन उल्लंघन गरेको आरोपमा पक्राउ परिन् । हिजाब कानुन इरानमा इस्लामिक क्रान्ति सम्पन्न भएको दुई वर्षपछि सन् १९८१ मा लागू भएको थियो । यो कानुनप्रति इरानमा पहिलेदेखि नै असन्तुष्टि थियो । त्यहाँका महिलाले लामो समयदेखि यस कानुनको विरोध गर्दै आएका छन् । पक्राउ परेको तीन दिनपछि अमिनीको हिरासतमै मृत्यु भयो । इरानको सुरक्षा बलले एक विज्ञप्ति जारी गर्दै अमिनीलाई पुनः शिक्षामा हिजाबसम्बन्धी नियमको प्रशिक्षणका क्रममा हृदयाघात भएर ढलिन् । उनको परिवारले भने प्रहरीको दाबीलाई खण्डन गर्दै पक्राउअघि अमिनी पूर्ण रूपमा स्वस्थ भएको बताएको छ ।

उनको मृत्युपछि दबेर रहेको आक्रोश विस्फोट भयो । धेरै महिला हिजाब कानुन पालना गराउने ‘गस्त–ए–इरसाद’ नामको धार्मिक प्रहरीबाट पाएको दण्ड र अपमान सम्झेर पनि सडकमा उत्रिएका छन् । महिलाहरूले हिजाब जलाएको भिडियो सोशल मिडियामा पोस्ट गर्न थाले । महिलाको दमित आक्रोश अहिले देशभर फैलिएको छ । प्रदर्शनमा महिलालाई पुरुषले साथ दिएका छन् । कैयौँले देशमा लागू कठोर धार्मिक प्रतिबन्ध खारेज गर्न आह्वान गरेका छन् । 

केही विश्लेषकले इरानमा व्याप्त वर्षौंको आर्थिक गिरावटले इरानीको धैर्यता टुट्दै गएका वेला प्रदर्शनमा बल पुगेको बताएका छन् । विगतका वर्षमा फाट्टफुट्ट सडकमा विरोध देखिए पनि अहिलेजत्तिको विशाल रूपमा आउन सकेको थिएन । इरानको आणविक र क्षेप्यास्त्र कार्यक्रमको प्रतिक्रियामा अमेरिकाले कठोर प्रतिबन्ध लगाएपछि उसले न त देशको मुख्य प्राकृतिक स्रोत तेल बेच्न सकेको छ, न विश्वव्यापी वित्तीय प्रणालीमा नै पहुँच पाएको छ । यसमाथि भ्रष्टाचार र आर्थिक कुव्यवस्थापनले स्थितिलाई थप विकराल बनाएको छ । इरानीहरू लामो समयदेखि निरन्तरको महँगी, खाद्यान्न अभाव र बेरोजगारी झेलिरहेका छन् । 

प्रदर्शनकारीमाथि व्यापक बल प्रयोग
इरानीले तिनको आक्रोश देशको शासन प्रणालीको केन्द्रमा रहेका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीप्रति लक्षित गरेका छन् । खामेनीको सम्भावित उत्तराधिकारीको रूपमा हेरिएका उनका छोरा मोज्ताबाविरुद्ध पनि नारा लगाइएका फुटेज सामाजिक माध्यमबाट फैलिएको छ । प्रदर्शनकारीले उत्तरी सहर रस्तमा ‘तानाशाह मुर्दावाद’, ‘शाह हुन् वा सर्वोच्च नेता उत्पीडक मुर्दावाद !’ भन्दै सडक अवरुद्ध गरेका थिए । 

हिजाब कानुन उल्लंघन गरेको आरोपमा पक्राउ परेकी युवतीको प्रहरी हिरासतमै मृत्यु भएपछि देशव्यापी रूपमा भड्किएको हिंसामा १७ जनाको मृत्यु भएको छ 

सरकारले विगतमा जस्तै सरकारविरोधी प्रदर्शनविरुद्ध कठोर कारबाही चलाएको छ । सामाजिक सञ्जालमा अपलोड भएका भिडियोहरूमा प्रदर्शनकारीलाई ठूलो संख्यामा तैनाथ दंगा प्रहरीले बन्दुक र पानीको फोहोरा प्रयोग गरिरहेको देखिन्छ । धेरै स्थानमा प्रहरीले लाठीचार्ज गरेको छ । त्यस्तै सादा पोसाकधारी बसिज मिलिसियाहरू प्रदर्शनकारीविरुद्ध प्रयोग गरिएका छन् । 

उत्तरपश्चिमी प्रान्त कुर्दिस्तानमा मात्रै कम्तीमा १७ प्रदर्शनकारी मारिएका छन् । कुर्दिस्तान मानवअधिकार नेटवर्कले मारिएका प्रदर्शनकारीको नाम र फोटोहरू अनलाइनमा राखेको छ । प्रान्तमा सक्रिय अर्को मानव अधिकार समूह हेङ्ग्सका अनुसार त्यस भेगमा कम्तीमा ७३३ घाइते भए भने ६०० भन्दा बढी कुर्द पक्राउ परेका छन् । सरकारले जारी गरेको हताहतीको तथ्यांकमा हताहती स्थानबारे कुनै विवरण समावेश गरिएको छैन । 

सरकारको दमनका बाबजुद आन्दोलनले मत्थर हुने संकेत देखाएको छैन । बिहीबार इरानको शक्तिशाली सुरक्षा बल, रिभोलुसनरी गार्ड्सले एक विज्ञप्ति जारी गरी देशभित्र जे भइरहेको छ, त्यो देशद्रोह हो भन्दै मानिसलाई पाठ सिकाउन प्रदर्शनकारीलाई दबाउनुपर्ने बताएको छ । विरोध सुरु भएयता सरकारले मोबाइल इन्टरनेट सेवा प्रदान गर्ने तीन मुख्य अपरेटरमा उल्लेख्य रोक लगाएको छ । त्यस्तै विरोध सघन रहेको क्षेत्रमा इन्टरनेट अवरुद्ध गरिएको छ । ह्वाट्सएप र इन्स्टाग्रामजस्ता प्लेटफर्महरू अवरुद्ध छन् । प्रदर्शनकारीले समर्थन विस्तार गर्न र आगामी विरोध पछ्याउन यी प्लेटफर्मको उलेख्य प्रयोग गरिरहेका थिए । तेहरानका प्रदर्शन बढी हुने क्षेत्रमा रातको समयमा बिजुली काटिन थालिएको छ । 

यसअघिको प्रदर्शन पनि दमनमार्फत दबाइएको थियो 
हालको प्रदर्शन सन् २०१९ नोभेम्बरपछि देशले देखेको सबैभन्दा ठूलो प्रदर्शन हो । त्यस समय देशमा ग्यासको मूल्यमा भएको वृद्धिको विरोधमा ठूलो संख्यामा मानिस सडकमा उत्रिएका थिए । आन्दोलन दबाउन सरकारले धेरै दिनसम्म इन्टरनेट बन्द गरेको थियो । सुरक्षा बलहरूले प्रदर्शनकारीमाथि गोली हाने । अधिकारकर्मी समूहले सरकारी धरपकडमा कम्तीमा ३६० को ज्यान गएको बताएका थिए । त्यसअघिको अर्को ठूलो विरोध प्रदर्शन सन् २००९ मा भएको थियो । ‘हरित आन्दोलन’ नामको सो आन्दोलनमा देशव्यापी रूपमा मध्यमवर्ग र विश्वविद्यालयका विद्यार्थी सहभागी भएका थिए । कट्टरपन्थी राष्ट्रपति महमुद अहमदिनेजादले जालसाझी गरेर पुनः निर्वाचित भएको भन्दै विरोधमा प्रदर्शन उठेको थियो ।

इरानी महिलाको संघर्षको लामो इतिहास
बृहत्तर अधिकारको माग गर्दै इरानका महिला देशको सर्वोच्च धार्मिक निकायविरुद्ध आन्दोलनमा उत्रिएको पहिलोपटक होइन । साथै इस्लामिक सत्ताले आन्दोलनकारी महिलाविरुद्ध दमन गरेको पनि यो पहिलोपटक होइन । इरानी महिलाले १९८१ मा कार्यान्वयन आएदेखि नै हिजाब कानुनलाई चुनौती दिँदै आएका छन् । उनीहरू हरेकपटक सरकारबाट कतिसम्म माग गर्न सकिन्छ भन्ने परीक्षण गरेझैँ देखिन्छन् ।

हरेक युवा पुस्ताले अघिल्लो पुस्ताभन्दा बढी दृढताका साथ माग राखेको देखिन्छ । त्यही साहसको प्रतीक हो पछिल्लो समय सार्वजनिक रूपमा हेड स्कार्फ हटाउँदै गरिएका दृश्य । महिलाहरू अहिले अनिवार्य हिजाबको प्रयोगको अन्त्यको माग गर्ने स्थानमा आइपुगेका छन् । इरानी महिला अधिकारकर्मीले पछिल्लो समय सम्बन्धविच्छेद, सम्बन्धविच्छेदपछि बालबच्चाको स्वामित्व तथा पुरुष अभिभावकको स्वीकृतिविना काम गर्ने तथा यात्रा गर्ने अधिकारमा बहस चलाइरहेका छन् । 

सन् २०१७ मा एउटी ३१ वर्षीया आमा बिदा मोभाहिदले तेहरान सहरको बीच भागमा उभिएर उनको हिजाब निकालिन् र अगाडिको भिडतर्फ लठ्ठीमा राखेर हल्लाएकी थिइन् । उनको कदमलाई धेरै महिलाले पछ्याउन थालेपछि यसले अभियानकै रूप लियो, जसलाई पछि सरकारले दमन गरेको थियो । सन् २०१९ मा २९ वर्षीया साहर खोडायारी पुरुष फुटबल खेल हेर्न लुकेर रंगशाला पस्ने प्रयास गर्दै गर्दा पक्राउ परिन् । पक्राउको विरोधमा उनले आफैँलाई आगो लगाउने प्रयास गरेकी थिइन् । इरानी सरकारले अन्तर्राष्ट्रिय फुटबल अधिकारीको दबाबमा महिलालाई रंगशाला प्रवेशमा बन्देज लगाउने कानुन परिवर्तन ग¥यो । भलै उनीहरूलाई रंगशालाको अलग क्षेत्रमा राखिन्छ ।
 

सुझावित समाचार