इन्धन लिन भारत हिँडेका ट्यांकरलाई अवरोध

सोमबार, २७ भदौ, २०७९
डिजिटल संस्करण
इन्धन लिन भारत हिँडेका ट्यांकरलाई अवरोध

वीरगन्जस्थित एकीकृत जाँचचौकीपरिसर रहेका इन्धन बोक्ने ट्यांकरलाई भारत जान अवरोध गर्दै ढुवानी व्यवसायी । तस्बिर : तिवारी यादव/नयाँ पत्रिका

इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी रिफाइनरीमा पेट्रोल लिन वीरगन्ज भन्सार कार्यालयपरिसर पुगेका ट्यांकरलाई पेट्रोलियम ढुवानी व्यवसायीले अवरोध गरेका छन् । अत्यावश्यक वस्तु तथा सेवा अबरुद्ध गर्न नपाईने कानूनी व्यवस्था बिपरित आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगन्ज र वीरगन्जस्थित शाखा कार्यालयका लागि पेट्रोल लिन जाँदै गरेका ट्यांकरलाई पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मनोज दासको नेतृत्वमा पुगेको टोलीले रोकेको हो ।

करिब एक दर्जन व्यवसायीले वीरगन्ज महानगरपालिका–२५, श्रीसियामा रहेको एकीकृत जाँचचौकी (आइसिपी) अगाडि भन्सार जाँचपासका लागि लाइनमा रहेको ट्यांकरलाई उनीहरूले दिउँसो तीनदेखि चार बजेसम्म अवरोध गरेका थिए । त्यसपछि कुनै पनि ट्यांकर तेल लिनका लागि भारत नगएको भन्सार कार्यालयले जनाएको छ । उनीहरूले अवरोध गर्नुअघि बिहान करिब २५ ट्यांकर पेट्रोल लिनका लागि आइओसीको बरौनी रिफाइनरी गएका थिए । एक वर्षदेखि ढुवानी भाडादर वृद्धिको माग राखे पनि सुनुवाइ नभएकाले टं्याकर रोक्न थालिएको महासंघका वरिष्ठ उपाध्यक्ष दासले बताए ।  

पेट्रोलियम ढुवानीमा अवरोध कायमै, सरकार मूकदर्शक 
ढुवानी भाडादर वृद्धिको माग राख्दै पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघले आइतबार आयल निगमको कुनै पनि डिपोबाट तेल खरिद आदेशपत्र (पिडिओ) लिएका छैनन् । पिडिओ नलिएका कारण न्यून संख्यामा मात्रै तेल लिनका लागि ट्यांकरहरू भारत गएका छन् ।

व्यवसायीले कानुनविपरीत पेट्रोलियम क्षेत्रको आपूर्तिमा नै असर पर्ने गरी ढुवानीमा अवरोध गरे पनि सरकारले कारबाही गर्न सकेको छैन । बरु, वार्ताबाट समाधान खोज्ने भन्दै व्यवसायीसँग छलफल गरिरहेको छ । ढुवानी व्यवसायीहरू भने एक वर्षदेखिको माग पूरा गराउन निर्णायक आन्दोलन गर्नुपरेको भन्दै अहिले देशभर इन्धन आपूर्ति रोक्ने गरी अघि बढेका छन् । 

महासंघले भाडादर वृद्धिको माग पूरा गर्न दबाब दिने उद्देश्यले २४ भदौबाट भारत जाने ट्यांकरका लागि पिडिओ लिन छाडेको छ । जसकारण आइतबार निगमको विराटनगर र झापा डिपोबाट कुनै पनि ट्यांकर तेल लिनका लागि भारत नगएको निगमले जनाएको छ । विराटनगर डिपोले आइओसीको बरौनी रिफाइनरी र झापास्थित निगमको शाखा कार्यालयले आइओसीको पश्चिम बंगालस्थित सिलिगुडी डिपोबाट ट्यांकरमा तेल ओसार्ने गरेका छन् ।

निगमको दोस्रो ठूलो डिपोका रूपमा परिचित मधेस प्रादेशिक कार्यालय, अमलेखगन्जबाट भने आइतबार १० ट्यांकरले पेट्रोल ल्याउनका लागि पिडिओ लिएका छन् । यहाँबाट सामान्य अवस्थामा दैनिक २०–२२ ट्यांकर पेट्रोल लिन आइओसीको बरौनी रिफाइनरी जाने गरेका थिए ।

भैरहवास्थित लुम्बिनी प्रादेशिक कार्यालय, नेपालगन्जथित इन्धन डिपो र धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक कार्यालयबाट पनि आइतबार कुनै पनि ट्यांकर तेल लिनका लागि भारत नगएको एक कर्मचारीले बताए । 

तेल लिन ट्यांकरहरू भारत नजाँदा आपूर्ति प्रणालीमा असर पर्ने देखिएको छ । यद्यपि, अहिले देशभर निगमसँग ४० हजार किलोलिटरभन्दा बढी इन्धन मौज्दात रहेको र यसले एक सातासम्मको माग धान्ने अवस्था रहेको निगमको भनाइ छ । व्यवसायीलाई सहमत गराई ढुवानी अवरोध खुलाउन आइतबार निगममा छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको स्रोतको भनाइ छ ।

सुझावित समाचार