फ्रान्सका दुई सांसद जलवायुसम्बन्धी अवलोकन गर्न काभ्रेको नमोबुद्धमा

शुक्रबार, २४ भदौ, २०७९
डिजिटल संस्करण

फ्रान्सको माथिल्लो सदनका दुईजना सदस्य काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका– २ मा सञ्चालित जलवायु अनुकूलन समाधान कार्यक्रम अवलोकन गर्न पुगेका छन् । सो संसद्को फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्षसमेत रहेका सांसद डेनियल साल्मन र सदस्य आना क्याथरिन लोइजरले कार्यक्रमका विभिन्न पक्ष, प्रयोग भएको प्रविधि र सञ्चालित विभिन्न कार्यक्रमबारे जानकारी लिएका हुन् । नमोबुद्ध नगरपालिका, इसिमोड र सिप्रेडसँगको सहयोग समन्वय र सहकार्यमा जलवायु अनुकूलन समाधान कार्यक्रम सञ्चालित छ । 

अवलोकनपछि फान्सका सांसद साल्मनले उक्त अवलोकन गर्द पाउँदा खुसी लागेको भन्दै भएका प्रयासको प्रशंसा गरे । उनले रासायनिक मलको कम प्रयोग गरेर पनि उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण आफूले देखेको भन्दै विस्तार हुने अपेक्षा व्यक्त गरे । इसिमोडका उपमहानिर्देशक इजाबेला कोजियलले कार्यक्रमको राम्रो प्रभाव देखिएको भन्दै मौरीजस्तै कार्यक्रम विस्तार होस् भन्ने शुभकामना व्यक्त गरिन् । 

जलवायु अनुकूलन तरकारी खेती कार्यक्रमअन्तर्गत नमोबुद्ध– २, कुइँकेलथुम्कामा ताजा तरकारी उत्पादन भइरहेको छ । कार्यक्रमअन्तर्गत थोपा सिँचाइ, छापो प्रविधि, पोखरी निर्माण, जैविक विषादी र मोहनी पासोमार्फत किरा नियन्त्रणलगायतका काम भइरहेको छ । स्थानीय कृषकले यहाँ निर्माण भएका पोखरीका कारण सिँचाइ र वस्तुभाउका लागि सहज भएको भन्दै सुकेका पानीका स्राेतसमेत फेरि पलाएको भन्दै खुसी व्यक्त गरे । 

नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले यहाँ सञ्चलित कार्यक्रमको राम्रो प्रतिफल देखिएको भन्दै सहयोगका लागि सबै दातृ निकायहरूलाई अनुरोध गरे । अर्गानिक कृषि प्रणाली विकासका लागि नगरपालिका सदैव तयार रहेको भन्दै आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता पनि जनाए । टोलीमा फ्रेञ्च मिसन उपप्रमुख लीला डेब्राडजलौ, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, वडा नम्बर २ का अध्यक्ष कविराज श्रेष्ठ, ७ नम्बर वडाका अध्यक्ष धर्मसिं लामा, मैत्री समूहका अधिकृत जेभियर डुप्रेज, इसिमोडबाट मिसेल गुर्तिन, नन्दकिशोर अग्रवाल, इरिका उदास, नमोबुद्ध नगरपालिका वातावरण अधिकृत सन्तोष काफ्ले, लेखा अधिकृत विमल आचार्यलगायतको उपस्थिति थियो । 
 

See More On

सुझावित समाचार