फर्निचर तथा फर्निसिङ एक्स्पोमा भारत र बंगलादेशका प्रदर्शक आउने

शुक्रबार, १७ भदौ, २०७९
डिजिटल संस्करण

आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ मा प्रदर्शकहरूको उल्लेख्य सहभागिता हुने भएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्स्पोमा नेपालसहित भारत तथा बंगलादेशका प्रदर्शकको उत्साहजनक सहभागिता हुने जानकारी दिएको हो । 

एक्स्पोको आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघले एक्स्पोको आन्तरिक तयारी पूरा गरी भौतिक तयारी सुरु गर्न लागिएको जनाएको छ । संघका अध्यक्ष शुभेन्द्र जोशीले फर्निचर तथा फर्निसिङसँग सम्बन्धित विश्व बजारका आधुनिक प्रविधिको जानकारी आदान–प्रदान गर्न एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, ‘किचेन, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षण रहनेछ ।’ 

भदौ २३ गतेदेखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा एक सयभन्दा बढी प्रदर्शनी कक्ष रहनेछन् । संघका महासचिव अर्जुन घिमिरेका अनुसार पाँच दिन चल्ने एक्स्पोमा एक लाख अवलोकनकर्ता आउने अपेक्षा छ । एक्स्पो अवलोकनकर्ताका लागि प्रवेश निःशुल्क गरिएको उनले बताए । एक्स्पोको डिजिटल पेमेन्ट पार्टनर डिजी पेमार्फत पनि निःशुल्क प्रवेश पास पाउन सकिनेछ । प्रत्येक दिन डोर प्राइजका साथै दसैँ विशेष छुटको व्यवस्था गरिएको पनि उनले जानकारी दिए । 

सुझावित समाचार