माओवादी केन्द्रकी सांसद दुर्गाकुमारी विश्वकर्माले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई पनि भोट हाल्न पाउने व्यवस्था मिलाउन माग गरेकी छिन्। साेमबार प्रतिनिधिसभाकाे बैठकमा उनले हाल करिब ४५ लाख नेपाली विदेशमा रहेको उल्लेख गर्दै अहिलेसम्म उनीहरूले निर्वाचनमा मत दिने अधिकार नपाएको बताइन्।
सम्बन्धित दूतावासबाट भोट हाल्न पाउने व्यवस्था गर्न माग गर्दै उनले भनिन्, ‘आजका दिनसम्म ४०–४५ लाख नेपाली विदेशमा छन्। उनीहरूले कहिले पनि भोट दिन पाएको अवस्था छैन। सम्बन्धित दूतावासबाट भोट दिने व्यवस्था मिलाइयोस्।’
सांसद विश्वकर्माले नेपालमै विभिन्न उद्योगमा काम गर्ने नागरिकले समेत भोट दिन नपाएको दाबी गर्दै उद्योगमा काम गर्ने मजदुरहरूलाई पनि भोट हाल्ने वातावरण बनाउन माग गरिन्।