पछिल्लो समय तिज आउनुभन्दा धेरै अघिदेखि नै दर खाने र खुवाउने कार्यक्रम हुने गरेका छन् । यद्यपि, तिजको अघिल्लो दिन दर खाएर भोलिपल्ट व्रत बसी पूजाआजा, नाचगान तथा दिदीबहिनी भेटघाट गर्ने चलन कायमै छ । आवश्यक सामग्रीहरू जुटाएर तपाईंंले घरमै पनि सहज रूपमा स्वादिस्ट दर बनाउन सक्नुहुन्छ ।
खिर
एउटा भाँडामा दूध उमाल्ने । उम्लेको दूधमा टाइचिन चामललाई राख्ने । उम्लिएको दूधमा राखिएको चामल पाक्न थालिसक्यो भन्ने लागेपछि सुकुमेलको धुलो, चिनी, कोरेसोमा कोरेको नरिवल, काजु र किसमिसलाई राख्ने । एउटा भाँडामा अलिकती घिउ खार्ने र खिर पाकिसकेपछि खारेको घिउलाई राख्ने ।
पुलाउ
सुरुमा चामललाई केही बेर भिजाउने । एउटा भाँडामा घिउ राख्ने । त्यसमा तेजपत्ता, दालचिनी, ल्वाङ, सुकुमेललाई फुराउने र त्यसमा पानी राख्ने । सँगै त्यसमा हल्का दूध राख्ने । भिजाएको चामललाई पनि राख्ने र पकाउने ।
ड्राई सब्जी मिक्स भेजिटेबल
अहिले बजारमा पाइने भेजिटेबलहरूलाई मिश्रण गरेर ‘ड्राई सब्जी मिक्स भेजिटेबल’ बनाइन्छ । भिन्डी, पर्बल, आलु, काउलीलाई यसरी नै बनाउन सकिन्छ ।
पनिर
बजारमा पाइने ठूलो खालको टमाटरलाई मिक्स्चरमा ग्रेन्डर गर्ने । धनियाको दाना, रातो खुर्सानीलाई फ्राई गर्ने । टोमाटो, क्याप्सिकम राख्ने । हरियो खुर्सानी, नुन, खुर्सानीको धुलो, धनिया र जिराको धुलो प्रयोग गर्ने । यो पाकेपछि ग्रेन्डर गरिएको टमाटर राख्ने र नुन, मसला ठीक छ÷छैन हेर्ने । पनिरलाई सानो–सानो आकारमा कटिङ गर्ने । एउटा भाँडामा तेल राखेर ब्राउन हुने गरी फ्राई गर्ने । यसलाई झिकेर चिसो पानीमा राख्ने । चिसो पानीबाट निकालेर तयार भएको मसलामा मिक्स गर्ने । यसमा बटर र थोरै क्रिम हाल्यौँ भने होटेलमा पाइने जस्तै कडाइ पनिर खान सकिन्छ । रातो खुर्सानी र धनियाको बास्ना आउँछ । बजारमा धेरै रुचाइएको आइटममा पर्छ यो ।
तरकारी
तिजको दरमा कर्कलो, आलु, सिमी, काउलीलाई मिक्स गरेर घरमै बनाउने जस्तै तरकारी बनाउन सकिन्छ ।
पक्कु मटन
एउटा तामा वा पित्तलको भाँडामा थोरै तेल राख्ने । जिरा, लसुन, प्याज फुराउने । सँगै मटन राखेर भुट्ने । त्यसमा पिसेको जिरा, धनिया राख्ने । बेसार, हरियो खुर्सानी पनि राख्ने । पिसेको अदुवा, लसुन, नुन राखेर नरम खालको बनाएर ड्राई मटन वा पक्कु मटन बनाउन सकिन्छ ।
सलाद
स्वास्थ्यलाई ध्यान दिँदै पछिल्लो समय मानिसहरूले टुसा सलादलाई प्रयोग गरेको पाइन्छ । काँक्रो, गाँजर, मुलालाई सलादको रूपमा प्रयोग गरे पनि भटमास, मुगीको दाल, मासको गेडाबाट उमारेका टुसालाई सलादको रूपमा प्रयोग गर्न सकिन्छ । साथै, हरियो सागपात, काँक्रो, गाँजर, मुलालाई पनि लिन सकिन्छ ।