हुम्लाको ताजाँकोटमा अज्ञात रोगले ६० पशु मरे

बुधबार, ८ भदौ, २०७९
डिजिटल संस्करण

एक सातादेखि फैलिएको अज्ञात रोगले हुम्लाको ताजाँकोट गाउँपालिकामा करिब ६० पशु मरेका छन्।

अचानक पेट सुन्निने, काँप्ने, झोक्राउनेजस्ता लक्षण देखिएर पशु मर्न थालेका ताजाँकोट गाउँपालिका– २ का धनबहादुर रोकायाले बताए। उनका अनुसार अज्ञात रोगले वडा नम्बर १ र २ का खर्कमा दैनिकजसो पशु मर्न थालेका हुन्। 

अहिलेसम्म ५०–६० पशु मरिसक्दासमेत गाउँपालिकाले चासो नदेखाएको उनको भनाइ छ। गाउँपालिकाले पठाएका कर्मचारी औषधि अभाव भएको भन्दै फिर्ता गइसकेका भन्दै ताजाँकोट गाउँपालिका– १ का दलबहादुर खड्काले गुनासो गरे।

‘पशु मरेर सकिन थालिसके। खर्कबाट खाली हात घर जानुपर्ने भइसक्यो,’ खड्काले भने, ‘मरेका पशु जंगलमा जताततै फालिएको छ।’

एक सातादेखि अज्ञात रोगले किसानका वस्तु मरिरहँदासमेत गाउँपालिकाले चासो नदेखाएको भन्दै उनले आक्रोश व्यक्त गरेका छन्। गाउँपालिकाको पशुशाखा प्रमुख मोहन रम्तेलसँग यस विषयमा बुझ्न खोज्दा सम्पर्क भने हुन सकेन।

सुझावित समाचार