सफलताको पहिलो सर्त

सोमबार, ६ भदौ, २०७९
डिजिटल संस्करण

कुनै पनि हरिणको दौडने क्षमता ९० किलोमिटर प्रतिघन्टा हुन्छ भने बाघको दौडने क्षमता लगभग ६० किलोमिटर प्रतिघन्टा मात्रै हुन्छ । यति हुँदाहुँदै पनि बाघ हरेकपटक हरिणको सिकार गर्न सफल हुन्छ । आखिर त्यसो किन हुन्छ त ? यथार्थमा हरिणको मनमा बाघसँगको जीवनमरणको लडाइँमा जित असम्भव छ भन्ने डर हुन्छ । त्यसैले, बाघले हरिणलाई लखेट्दा हरिण बारम्बार पछाडि फर्केर हेर्न थाल्छ । 

यसरी पछाडि फर्केर हेर्दा र हरिणको मनमा दौडिरहेको त्रासले उसको दौडाइको रफ्तारलाई कम गरिदिन्छ । र, अन्ततः बाघ हरिणको सिकार गर्न सफल हुन्छ । चाहे जीवजन्तु होस् या मानव, उसको मनको डर जहिल्यै प्रगतिको बाधक बन्न पुग्छ । जुन व्यक्तिमा हार्ने डर हुन्छ त्यस व्यक्तिले कहिल्यै आफ्नो पूरा क्षमता लगाएर काम गर्न सक्दैन । 

उसको भयले हरेकपटक उसलाई कमजोर प्रतीत गराउँछ । तपाईं जुनसुकै ठाउँबाट जेसुकै काम गर्दै हुनुहुन्छ, आफ्नो मनलाई नजिती सफल हुन सक्नुहुन्न । सफलताको पहिलो सर्त आफ्नो मनलाई जित्नु र आत्मविश्वासी बन्नु हो । त्यसैले, जीवनमा सफल बन्नु छ भने मनको डरलाई निकालेर फाल्नुहोस् र निर्धक्क भई अघि बढ्नुहोस् । सफलता तपाईंको मुट्ठीमा हुनेछ । 

सुझावित समाचार