प्रेरक प्रसंग : व्यवसायीकी छोरीको चलाखी

आइतबार, ५ भदौ, २०७९
डिजिटल संस्करण

सयौँ वर्षपहिले इटालीको एउटा सहरमा एकजना साना व्यवसायी बस्थे । व्यवसाय अघि बढाउने क्रममा उनले एक मिटरब्याजीबाट ठुलो रकम ऋण लिए । तर, व्यापार राम्ररी फस्टाउन नसक्दा उनले समयमै ऋण चुक्ता गर्न सकेनन् ।

वृद्ध मिटरब्याजी खराब थियो । कसैलाई ऋण दिनु र उसलाई ट्र्यापमा पारेर स्वार्थ पूरा गर्नु उसको विशेषता नै थियो । व्यवसायीले ऋण तिर्न नसकेपछि मिटरब्याजी खुसी भयो । उसका आँखा व्यवसायीकी सुन्दर, सुशील र बुद्धिमान् छोरीमाथि गढेका थिए । उसले व्यवसायीसित भन्यो— तिमीले हाम्रो सर्तअनुसार ऋण तिर्न सकौला जस्तो लागेन । त्यसैले, अब म ऋण तिर्न तिमीलाई अन्तिम मौका दिन चाहन्छु ।

म तिम्रो बगैँचाबाट एउटा कालो र अर्को सेतो ढुंगा टिपेर झोलामा राख्छु । तिम्री छोरीले झोलामा हात हालेर कुनै एउटा ढुंगा निकाल्नुपर्नेछ । यदि उनले कालो ढुंगा निकालिन् भने तिमीले मेरो बाँकी ऋण तिर्नुपर्ने छैन । तर, तिम्री छोरीको बिहे मसित गरिदिनुपर्ने छ । सेतो ढुंगा निकालिन् भने ऋण पनि मिनाहा हुनेछ र उनको बिहे पनि मसित गर्नुपर्ने छैन । 

व्यवसायीले मिटरब्याजीको प्रस्ताव स्विकारेनन् । तर, उनकी छोरीले बुबालाई ऋणमुक्त गर्न उसको प्रस्ताव स्विकारिन् । मिटरब्याजीले बगैँचाबाट दुईओटा ढुंगा टिपेर झोलामा राख्यो । उसले दुवै कालो ढुंगा राखेको व्यापारीकी छोरीले चाल पाइन् । यो देखेपछि उनले एकैछिन सोचेर झोलामा हात घुसारिन् । पालैपालो दुवै ढुंगा छामेजस्तो गरिन् । अनि एउटा ढुंगा टिपेर ढुंगाको थुप्रोमा फुत्त फालिदिइन् । उनले यति शीघ्रतासाथ काम गरिन् कि उनले कालो या सेतो कुन ढुंगो टिपेर फालिन् भन्ने कसैले भेउ पाउनै सकेनन् ।

यसपछि उनले मिटरब्याजीलाई भनिन्— महोदय, मैले एउटा ढुंगो त थुप्रोमा फालिहालेँ । त्यो कुन रङको थियो, पत्तो भएन । त्यसैले, अब आफ्नो झोलाको ढुंगो देखाउनुहोस्, मैले निकालेको ढुंगो त्यसको विपरीत रङको हुने छ । म परिणाम भोग्न तयार छु । उनको प्रस्तावले मिटरब्याजी झस्कियो । ऊ आनाकानी गर्न थाल्यो । तर, त्यहाँ उपस्थित सबैले उसको झोला तानेर ढुंगा निकाले । झोलामा कालो रङको ढुंगो थियो । त्यसैले, व्यवसायीकी छोरीले सेतो ढुंगो निकालेको ठहरियो । र, व्यवसायी ऋणमुक्त भए ।

सुझावित समाचार