विश्वमा चौथो व्यक्ति एचआइभी संक्रमणमुक्त

आइतबार, १५ साउन, २०७९
डिजिटल संस्करण

‘सिटी अफ होप’ भन्छन्– एचआइभी मुक्त हुँला भन्ने कहिल्यै सोचेको थिइनँ

सन् १९८८ मै एचआइभी संक्रमित बनेका ६६ वर्षीय एक वृद्ध हालै पूर्ण रूपमा भाइरसमुक्त भएका छन् । उनी एचआइभीमुक्त हुने चौथो व्यक्ति भएको वैज्ञानिकले बताएका छन् ।

रक्त क्यान्सरको उपचारका लागि उनमा बोनम्यारो प्रत्यारोपण गरिएको थियो । बोनम्यारो दिने दाता प्राकृतिक रूपमा एचआइभी भाइरस प्रतिरोधी थिए । पहिचान खोल्न नचाहेका ६६ वर्षीय वृद्धले महिनाैँदेखि एचआइभीको औषधि सेवन गर्न छाडेको र उनमा एचआइभीका कुनै लक्षण नरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । ती व्यक्तिले नाम उल्लेख गर्न नचाहेकाले चिकित्सकले उनलाई ‘सिटी अफ होप’का बिरामी नाम दिएका छन् । यो नाम उनले उपचार गरेको क्यालिफोर्नियाको डुआर्टेस्थित अस्पतालको नाम हो । 

उनका धेरै साथीलाई एचआइभी लागेको थियो, तर उनीहरू एन्टिरेट्रोभाइरल औषधि प्रयोगमा आउनुअघि नै बिते । हिजोआज एचआइभीविरुद्ध प्रयोग हुने एन्टिरेट्रोभाइरल औषधिले संक्रमितलाई झन्डै सामान्य औसत जीवन दिन्छ । तथापि, कैयौँलाई उमेर बढ्दै जाँदा क्यान्सर हुने समस्या देखिएको छ ।

‘यो दिन देख्छु भनेर कहिल्यै सोचेको थिइनँ’
ह्युमन इम्युनोडेफिसियन्सी भाइरस (एचआइभी)ले शरीरको प्रतिरक्षा प्रणालीलाई क्षति पुर्‍याउँछ र एड्स (अक्वायर्ड इम्युनोडेफिसियन्सी सिन्ड्रोम) निम्त्याउन सक्छ । हाल भाइरसमुक्त भएका व्यक्तिले चिकित्सकलाई दिएको मन्तव्यमा आफू कुनै दिन भाइरसमुक्त हुन्छु होला भनेर कहिल्यै नसोचेको बताए । ‘सन् १९८८ मा मलाई एचआइभी लाग्दा अरू धेरैलाई जस्तै मलाई पनि यो मृत्युदण्डको सजायझैँ लागेको थियो । मैले कहिल्यै एचआइभीमुक्त हुँला भन्ने सोचेको थिइनँ,’ सिटी अफ होप बिरामीले भने ।

यद्यपि, उनी एचआइभीकै उपचार गर्ने क्रममा भाइरसमुक्त भएका भने होइनन् । उनलाई ६३ वर्षको उमेरमा ब्लड क्यान्सर भएको थियो । उनको चिकित्सक टोलीले उनको क्यान्सरजन्य रक्तकोशिकाहरू प्रतिस्थापन गर्न बोनम्यारो प्रत्यारोपण आवश्यक भएको निर्णय गर्‍यो । संयोगवश, उनलाई बोन म्यारो दिने दाता एचआइभी प्रतिरोधी परे । एचआइभी भाइरस हाम्रो शरीरको सेतो रक्तकोशिकाहरूमा सिसिआर–५ नामक छिद्रबाट प्रवेश गर्छ । यद्यपि, ती दाताजस्तै केही व्यक्तिमा सिसिआर–५ को छिद्रै हुँदैन । त्यस्ता व्यक्तिलाई एचआइभी भाइरसले छुँदैन । 

एचआइभी उपचारको लामो खोजी
सिटी अफ होपलाई बोनम्यारो प्रत्यारोपणपछि नजिकबाट निगरानी गरिएको थियो । यस क्रममा उनको शरीरमा एचआइभी भेटिएन । अहिले १७ महिनाभन्दा बढी समयदेखि उनी भाइरसमुक्त छन् । संक्रामक रोगका डाक्टर जना डिक्टरका अनुसार शरीरमा भाइरस नभएकाले ती बिरामीले दशकौँदेखि खाइरहेको एन्टिरेट्रोभाइरल थेरापी बन्द गरिएको छ । सिटी अफ होप हालसम्म एचआइभीमुक्त हुने चौथो व्यक्ति तथा हालसम्मको सबैभन्दा वृद्ध व्यक्ति बनेका छन् । 

यसअघि एचआइभीमुक्त भएका व्यक्तिहरू 

टिमोथी रे ब्राउन बर्लिन प्यासेन्ट
सन् २००८ मा ‘बर्लिन प्यासेन्ट’ नामका एचआइभी संक्रमित पहिलोपटक पूर्ण रूपमा संक्रमणमुक्त भएको खबरले ठूलो तरंग उत्पन्न गरेको थियो । सुरुमा उनले उपचार गरेको सहरको नाम दिइएका ती बिरामी टिमोथी रे ब्राउन भएको खुलाइयो । अनुसन्धानदाताले खासमा उनलाई लागेको रक्त क्यान्सरको उपचारका लागि स्टेमस सेल प्रत्यारोपण गराएका थिए । तर, त्यस उपचारले रे ब्राउनको एचआइभी निको भयो । उनका स्टेम सेल दातामा पनि सिसिआर–५ को म्युटेसन थियो । सन् २००८ देखि सन् २०१९ सम्ममा उनी विश्वमा एचआइभीमुक्त हुने एक मात्र व्यक्ति थिए ।

एड्याम क्यास्टिलेजो लन्डन प्यासेन्ट

सन् २०१९ मा दोस्रो व्यक्ति पूर्ण रूपमा एचआइभीमुक्त भएको खबर बाहिरियो । यसपटक पनि व्यक्तिलाई उनले उपचार गरेको सहरको नामबाट ‘लन्डन प्यासेन्ट’ भनियो । एक वर्षपछि उनी आफैँले परिचय खोले । उनी एड्याम क्यास्टिलेजो थिए ।  सन् २०१९ मार्चमा वैज्ञानिकहरूले क्यास्टिलेजोलाई भएको लिम्फोमाको उपचारका क्रममा बोन म्यारो प्रत्यारोपण गराउँदा उनको एचआइभी निको भएको बताइएको थियो । उनका दाताको जिन पनि एचआइभीप्रतिरोधी थियो । भेनेजुयलाको राजधानी काराकासमा हुर्किएका क्यास्टिलेजोलाई सन् २००३ मा एचआइभी भएको पत्ता लागेको थियो । 

न्युयोर्ककी महिला
वैज्ञानिकहरूले न्युयोर्ककी एक महिला एचआइभी पूर्ण निको हुने तेस्रो व्यक्ति भएको घोषणा गरे । उनी एचआइभीमुक्त हुने पहिलो महिला पनि भइन् । ती महिलाले अनुसन्धानदातासँग उनको उमेरलगायत कुनै पनि विवरण बाहिर नल्याउन गरेको आग्रहको सम्मान गर्दै उनको परिचय गोप्य राखिएको थियो । तथापि उनको रोगबारे केही कुरा बाहिर आएका छन् । सन् २०१३ मा एचआइभी संक्रमित भएकी ती महिलालाई चार वर्षपछि एक्युट माइलेगेमस ल्युकेमिया अर्थात् एक प्रकारको रक्त क्यान्सर लाग्यो । त्यही क्यान्सरको उपचारका लागि उनलाई बच्चाको सालनालमा भएको रगतको स्टेम सेल प्रत्यारोपण गरिएको थियो । उनलाई दिइएको स्टेम सेलमा पनि सिसिआर–५ म्युटेसन थियो । जसले उनको क्यान्सरको मात्र होइन, एचआइभीको पनि उपचार भयो । 

हालसम्म पूर्ण रूपमा एचआइभीमुक्त भएका चारैजनामा तिनलाई लागेको क्यान्सरको उपचारको क्रममा स्टेम सेल थेरापीमार्फत प्रत्यारोपण गराइएको थियो । तर, यसका कैयौँ समस्या छन् । सिसिआर–५ म्युटेसन भएका दाता पाउन एकदम मुस्किल पर्छ । किनकि यो एकदम थोरै मानिसमा हुने गुण हो । अर्को स्टेम सेल थेरापीका कैयौँ जोखिम पनि हुन्छन् । 

बिरामीको शरीरले दाताको कोषलाई नस्विकार्ने सम्भावना उत्तिकै हुन्छ । यसका धेरै साइड इफेक्ट हुन्छन् र यो जटिल तथा महँगो प्रक्रिया पनि हो । त्यसैले वैज्ञानिकहरू यसलाई आम रूपमा एचआइभी संक्रमितहरूलाई प्रयोग गर्न मिल्ने उपयुक्त विकल्प मानिरहेका छैनन् । यद्यपि, अनुसन्धानकर्ताहरूले संक्रमित व्यक्तिकै कोषमा रहने सिसिआर–५ को छिद्र बन्द गर्ने विकल्पमा जिन थेरापी अनुसन्धान गरिरहेका छन् । यदि यो प्रयोग सफल भएमा ३.८ करोड एचआइभी संक्रमितहरूले नयाँ जीवन पाउनेछन् ।

See More On

सुझावित समाचार