साइकल लेन व्यवस्थित बनाउँदै छ ललितपुर

आइतबार, १५ साउन, २०७९
डिजिटल संस्करण
साइकल लेन व्यवस्थित बनाउँदै छ ललितपुर

महानगरले साइकल लेनका लागि सडकमा पोल राखेको छ, तीन फिटजतिको रबरको पोलले साइकलयात्रीको यात्रा सहज र सुरक्षित बनाउनेछ । तस्बिर : संजित परियार/नयाँ पत्रिका

काठमाडौंमा गुरुयोजना बन्यो, लेन बनेन

ललितपुरमा बन्यो हालसम्म ३२ किलोमिटर साइकल लेन

ललितपुर महानगरपालिकाले साइकल लेनमा साइकल मात्र गुड्ने बनाउने ब्यारिकेडेट पोल (साइकलका लागि मात्रै छुट्याइएको) राख्न सुरु गरेको छ । यस्तो पोल राखेको ठाउँमा साइकलयात्रीले आफ्नो लेनमा सहज र सुरक्षित तरिकाले यात्रा गर्न पाउनेछन् । हालसम्म महानगरभित्र ३२ किलोमिटर साइकल लेन बनाइएको छ ।
महानगरले लगनखेलको बटुक भैरव मन्दिरदेखि सातदोबाटोसम्म ६ सय मिटर सडकमा पोल राखेको छ । ट्रायलका लागि राखिएको यस्तो पोलको विस्तार गर्दै लगिने महानगरले जनाएको छ । महानगरका प्रवक्ता राजु महर्जनका अनुसार तीन फिटजतिको रबरको पोलले साइकलयात्रीको यात्रा सहज र सुरक्षित बनाउनेछ ।

‘ट्रायलका रूपमा हामीले बटुक भैरव मन्दिरदेखि सातदोबाटोसम्मको सडकमा पोल राखेका छौँ । पोल विस्तारका लागि सडक विभागसँग पनि छलफल गरिरहेका छौँ । विभागले सहयोग गर्ने भनेको छ,’ उनले भने, ‘साइकल लेनमा राखिएका यस्ता पोलका कारण साइकलयात्रीलाई पक्कै सहज हुनेछ ।’

महानगरले तीन चरणमा साइकल लेन बनाएको छ । पहिलो चरणमा महानगरले १४ मंसिर ०७६ मा साढे १० किलोमिटर साइकल लेनको शुभारम्भ गरेको थियो । त्यतिवेला महानगरपालिकाले कुपन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, मंगलबजार हुँदै पाटन दरबार स्क्वायरसम्म पुग्ने साइकल लेन सञ्चालनमा ल्याएको थियो । महानगरले नेपाल साइकल एसोसिएसनसँग सहकार्य गरेर साइकल लेन सञ्चालनमा ल्याएको हो । 

दोस्रो चरणमा २२ किलोमिटर साइकल लेन निर्माण भएको थियो । महानगरभित्रका एकान्तकुना हुँदै पुल्चोक आउने, पुल्चोकदेखि लगनखेल, टंगाल हुँदै मंगलबजार जाने, पुल्चोकबाट गाःबहाल हुँदै मंगलबजारसम्म पुग्ने, कुपन्डोलबाट पुल्चोक हुँदै सीधा दरबार स्क्वायरसम्म साइकल लेन बनेको हो । ०७७ पुसको पहिलो साताबाट ती साइकल लेन प्रयोगमा आएका थिए । महानगरले जावलाखेल, पाटनढोका, मंगलबजार, लगनखेल र महानगरको प्रांगणलगायत १० ठाउँमा साइकल स्ट्यान्ड राखिसकेको छ । 

महानगरले साइकल लेनका लागि पहिलो चरणमा आर्थिक वर्ष ०७५/७६ को बजेटमा ५० लाख र आव ०७६/७७ मा पनि ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । आर्थिक वर्ष ०७९/८० का लागि पनि ५० लाख विनियोजन गरेको छ । 

साइकल ऐन तयार 

हालसम्म संघीय र प्रदेश दुवै सरकारले साइकलसम्बन्धी कुनै पनि नीति तथा कानुन निर्माण गर्न सकेका छैनन् । तर, महानगरले भने साइकल ऐन लगभग तयार गरिसकेको छ । प्रवक्ता महर्जनको अनुसार ऐनको मस्यौदा भइसकेको छ र अन्तिम रूप दिँदै पास गर्न बाँकी छ । 

‘राम्रो व्यवस्थापन नभएका कारण साइकल चढ्नेको भवितव्यको सम्भावना छ । त्यसलाई सम्बोधन गर्न साइकल ऐन ल्याउन लागेका छौँ । मस्यौदा तयार भइसकेको छ । अब कार्यपालिका बैठकबाट पास मात्र हुन बाँकी छ,’ उनले भने, ‘संघीय सरकार र प्रदेश सरकारले यस्ता खालका ऐन बनाएका छैनन्, हामीले ऐन बनाउन समाउने हाँगोसमेत भेट्टाएनौँ । त्यसैले संघ र प्रदेशले बनाएको अवस्थामा जहाँ बाझिन्छ, त्यहाँ मिलाउँला भनेर अगाडि बढेका हौँ ।’ 

काठमाडौंको तयारी शून्य
ललितपुर महानगरपालिकाले साइकल लेन बनाउनेदेखि डेडिकेडेट पोलसमेत राखिसक्दा काठमाडौं महानगर अझै अन्योलमै छ । महानगरले साइकल लेन बनाउन भन्दै ०७६ मै गुरुयोजना तयार गरे पनि हालसम्म कुनै काम अगाडि बढ्न सकेको छैन । 

महानगरअन्तर्गत सहरी योजना आयोगले बनाएको गुरुयोजनाअनुसार माइतीघरदेखि बानेश्वर हुँदै तिनकुने–कोटेश्वरसम्म साइकल लेन बनाउने भनिए पनि हालसम्म कुनै पनि कामले गति लिन सकेको छैन । आयोगका सचिवालय प्रमुख कुमारी राईले साइकल लेन बनाउनेबारे आफूलाई जानकारी नभएको बताइन् । ‘पहिला काम गर्नुभएको कोही पनि आयोगमा हुनुहुन्न । मलाई यसबारेमा जानकारी छैन,’ उनले भनिन् । मेयर बालेन्द्र साहले भने साइकल लेन बनाउन नहुने बताउँदै आएका छन् । 

साइकल प्रयोग गरे प्रदूषण कम हुन्छ 
संसारका प्रदूषित सहरमा काठमाडौं पनि पर्छ । विश्व वायु गुणस्तर सूचक (एक्युआई) २०२० अनुसार काठमाडौं विश्वमै १९औँ प्रदूषित सहर हो । प्रदूषणको स्रोतमध्ये पहिलो नम्बरमै पर्छ– सवारीसाधनको चाप र त्यसबाट निस्किने हानिकारक धुवाँ । प्रदूषण कम गराउनकै लागि विकसित र ठूला सहरले इन्धनको उपयोग नहुने विद्युतीय सवारीसाधन र साइकललाई प्राथमिकतामा राख्न थालेका छन् । साइकलको प्रयोगका कारण वायु प्रदूषण कम गर्नसमेत उत्तिकै सहयोग हुने साइकल अभियन्ता बताउँछन् । ‘गाडीमा हाल्ने तेलकै लागि देशको अर्बौँ रुपैयाँ बिदेसिने गरेको छ । तेल खरिदकै लागि महँगो रकम बिदेसिने क्रम रोक्न पनि साइकल चढ्न आवश्यक छ । हरेक दिन ६–७ किलोमिटर साइकलयात्रा गर्दा स्वास्थ्यलाई पनि राम्रो हुन्छ,’ अभियन्ता सैल श्रेष्ठले भने ।

सुझावित समाचार