यार्सा संकलनबाट मनाङमा ३६ लाख राजस्व संकलन

बुधबार, ११ साउन, २०७९
डिजिटल संस्करण
यार्सा संकलनबाट मनाङमा ३६ लाख राजस्व संकलन

फाइल फाेटाे

हिमाली जिल्ला मनाङमा यार्सागुम्बा संकलनकर्ताबाट ३६ लाख २९ हजार पाँच सय एक रुपैयाँ राजस्व संकलन भएको छ । मनाङमा आर्थिक वर्ष ०७८–७९ मा यार्सासहित अन्य जंगली जडीबुटीबापत भने ४० लाख १६ हजार ६४ रुपैयाँ राजस्व संकलन भएको एक्याप मनाङले जनाएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने जिम्बु, वनलसुन, गुची च्याउ, निगालो, यार्सागुम्बाजस्ता जंगली जडीबुटी संकलन र काठ बिक्रीबाट उक्त राजस्व संकलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । 

मनाङको चार स्थानीय तहमध्ये सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकाबाट जंगली जडीबुटी संकलन भएको उनले बताए । एक्याप मनाङका प्रमुख गौतमका अनुसार मनाङमा जिम्बु संकलनबाट ३९ हजार ९८, वनलसुनबाट ३४ हजार पाँच सय १२, गुची च्याउबाट १७ हजार दुई सय ३३, निगालोबाट दुई सय २१ र टिम्बरबाट दुई लाख ९५ हजार चार सय ९९ राजस्व संकलन भएको छ । गौतमले भने, ‘आर्थिक वर्ष ०७८–७९ मा यार्सागुम्बा १०७.०५२ किलोग्राम, जिम्बु २३०६.५ किलोग्राम, वनलसुन १०१७.६५ किलोग्राम, गुची च्याउ ३०.५ किलोग्राम, निगालो १३०० पिस, टिम्बर १८६७.५८ क्युफिट बिक्री भएको छ । आर्थिक वर्ष ०७७–७८ मा मनाङमा ४०.५ किलोग्राम जडीबुटी संकलनबाट १३ लाख ९७ हजार दुई सय ५० राजस्व संकलन भएको थियो । 

सुझावित समाचार