पुराना कलाकार बलबहादुर भन्छन्- अहिलेका गीत–संगीतमा आत्मा भेटिँदैन

सरकारबाट स्रस्टा र सृजनाको सम्मान भएन

बिहिबार, ५ साउन, २०७९
डिजिटल संस्करण

‘खोली तीरैमा कहाँ बस्यो न्याउली रेमी भिरैमा’ 

गुल्मीको चन्द्रकोट गाउँपालिका- ४ रेमीका ६९ वर्षीय बलबहादुर नेपाली जिल्लाका पुराना कलाकार हुन् । उनले ०४५ सालमा स्वर परीक्षा पास गरेका थिए । तत्कालीन समयमा उनले करिब एक दर्जन गीत गाए । गीत गाउन परीक्षा दिनुपर्ने भएकाले त्यो जमना अहिलेजस्तो सजिलो थिएन । स्वर परीक्षाका लागि निवेदन दिएपछि समूहले भनेको भाकामा गीत गाउनुपर्थ्यो । रेडियो नेपालको प्रतिभा साँझमा गीत गाइरहेकाले बलबहादुर स्वर परीक्षामा उत्तीर्ण भए ।

नेपालीले गाएको पहिलो गीत ‘खोली तीरैमा कहाँ बस्यो न्याउली रेमी भिरैमा’ हो । ‘फेदैमा झर्यो हुँग्दी खोला बाँचे भेट होला’, ‘उराठिलो चैतको महिना झरे पात रूखमा केही छैन’लगायतका एक दर्जन गीत बलबहादुरले गाएका छन् । 

नयाँ गीत–संगीतसँग रमाउनै गाह्रो
बलबहादुर रेमीले गाउँमा साधारण जीवन बिताएका छन् । उनी पछिल्लो गीत–संगीतप्रति सन्तुष्ट छैनन् । अहिले प्रतिभा प्रस्फुटनका माध्यम थुप्रै भए पनि गीत–संगीतमा मौलिक आत्मा नभएको बुझाइ उनकाे छ । त्यो जमानमा आफ्ना प्रतिभा प्रस्फुटन गर्ने केही माध्ययम थिएनन् ।  म्युजिक नेपालमा ठूलो संघर्षले गीत रेकर्ड हुन्थ्यो ।

क्यासेटको रंगीन खोल छाप्न हङकङ पठाउनुपर्ने बाध्यता थियाे । तत्कालीन समयमा परदेशको पीडा, चिठ्ठी–पत्र, कस्मिर लडाइँ, गाउँका दु:ख, सासू–बुहारीका वेदना र ठूला दुर्घटनालाई केन्द्रमा राखेर घटनाप्रधान सिर्जनाहरू निर्माण गरिने नेपालीले बताए । ‘त्यो जमनामा मायाप्रेमसँगै घटनाप्रधान सिर्जनामा आत्मा हुन्थ्यो । अहिले पश्चिमा संस्कृतिको नक्कल गरेर नेपाली गीत–संगीतमा छाडापन सुरु भयो,’ उनले भने, ‘कलाकारले कला र संस्कृतिको दुरुपयोग गरे ।’  

राज्यबाट स्रष्टा र सिर्जनाको सम्मान भएन
बलबहादुरले तीनै तहका सरकारबाट स्रस्टा र सिर्जनाको सम्मान हुन नसकेको गुनासो गरे । बाहिरी मुलुकहरूमा कलाकारको सम्मान, संरक्षण र ऊर्जाका निम्ति थुप्रै काम भए पनि नेपालमा कलाकारले दुःख पाएको उनकाे तर्क छ । उनले कलाकार र कला–संस्कृतिको पहिचान, संरक्षण र प्रवर्द्धनमा सरकारले केही नगरेका कारण अन्तिममा स्रस्टा विदेश हिँड्न वा अरू पेसा–व्यवसायमा जोडिन बाध्य भएको बताए । ‘त्यसवेला रेडियोमा बोल्ने मान्छे देख्दा गौरव लाग्थ्यो । गाउने मान्छेको कति ठूलो सम्मान र आदर्शता थियो,’ उनले भने, ‘त्यसवेलाका सिर्जनामा सत्यता र जीवन्तता पनि थियो ।’ 

स्थायी शिक्षकसहित गायन क्षेत्रमा
बलबहादुर नेपाली ०२७ सालमा शिक्षक पेसामा लागे । उनले सुरुमा उदय माविमा अध्यापन गराए । त्यसपछि रिडीको भारती निमावि, मजुवाको ज्ञानोदय मावि हुँदै पुन उदय माविमै फर्किएर अवकाश लिए । अहिले उनी गाउँमा घरायसी काम र सामाजिक सेवाका काममा व्यस्त छन् ।

शिक्षण पेसामा हुँदाहुँदै रहरले स्वर परीक्षा दिन र गीत गाउन थालेको उनको भनाई छ । उनले पछि पेसाको कारण सधैँ काठमाडाैं जान समस्या भएको र अरू अवसरहरू नजिक नभएकाले गाउन छाडेकाे बताए । उनले जिल्लाका थुप्रै प्रतियोगितामा दोहाेरी गीत गाएर सिल्ड र पदक प्राप्त गरेका छन् । 

See More On

सुझावित समाचार